कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्लास्टिक झोला निषेध

प्रयोग गर्नेलाई कारबाही
विप्लव भट्टराई

इलाम — सागसब्जी किन्दा होस् या फलफूल । कपडा वा कुनै पनि उपभोग्य धेरथोर सामान पसलेले प्लास्टिकको झोलामा राखेर दिने नेपाली बजारको चलन छ । तर इलामका बासिन्दाको कुरा अर्कै छ । उनीहरू अन्यत्र गएर सामग्री किन्दा झोला प्लास्टिकको परे अनौठो मात्र मान्दैनन्, प्रयोग नगर्न सुझाउँछन् पनि ।

प्लास्टिक झोला निषेध

दशकअघि नै इलाममा प्लास्टिकको झोलामा सामग्री बोकेर लैजाने चलन हटिसकेको छ । त्यसको साटो अरूबाटै बनेका झोला प्रयोगमा छ । पोलिथिन झोलाको तुलनामा केही महँगो भए पनि पुन: प्रयोग गर्न सकिने भएकाले कपडा, नाइलनलगायतको प्रयोग हुँदै आएको हो ।

इलाम नगरपालिकाले नियमित अनुगमन र चेतना विस्तार गर्दै प्लास्टिकमुक्त अभियानलाई निरन्तरता दिइरहेको छ । अर्को सुन्दर नगरपालिका सूर्येदयले पनि यो वर्षदेखि कडाइका साथ प्लास्टिकको निषेधित अभियान थालेको छ । मानव स्वास्थ्यसँगै वातावरण संरक्षणमा गम्भीर प्रभाव पार्ने प्लास्टिक झोला नियन्त्रणपछि प्रत्यक्ष सुधार देखिएका थुप्रै उदाहरण पनि छन् । यसको गतिलो प्रभाव देखिएको छ स्थानीय खोलाखोल्सीमा । सदरमुकाम क्षेत्रका खोलाखोल्सी सहज बग्न सक्छन् । वर्षामा नाली अवरूद्ध भएर सडकमा बग्रेल्ती फोहोर छरिएको कमै देखिन्छ ।

प्लास्टिक हट्नासाथ खोलाखाल्सीमा अल्झिएर पानीलाई अवरोध हुन छाडेको हो । जथाभावी खेतबारीमा प्लास्टिक फालेर कृषकले दिनहुँ व्यहोर्नुपर्ने झन्झटबाट त मुक्ति मिलेको नै छ । २०६७ असोज १५ गते देखि प्लास्टिकमुक्त नगरका रूपमा इलामलाई परिचित गराइएको हो । नगरपालिका कार्यालयको अग्रसरता र राजनीतिक दल, गैरसरकारी संघसंस्था, इलाम उद्योग वाणिज्य, सरोकारवाला सरकारी कार्यालय र स्थानीयको संयुक्त प्रयासबाट यो सम्भव भएको थियो ।

लामो तयारीका साथ जनचेतना जागृत गराउँदै कुनै पनि पोलिथिन झोला प्रयोग नगर्ने सन्देश व्यापारी र उपभोक्तासम्म पुर्‍याइयो । सरोकारवालाले यस्तो झोलाको प्रयोगबाट हुने बेफाइदाबारे बाक्लै अभिमुखीकरण चलाए । सानोतिना सामग्री खरिद गरेर सित्तैमा पोलिथिन झुन्ड्याएर घर लैजाने सहजताको विकल्प सुरुवाती दिनमा नदेखेका स्थानीयले आफैं पनि उपाय खोज्न थाले । प्लास्टिकमुक्त भएको घोषणा गरिएपछि सानातिना नाइलनका झोला उत्तम विकल्प बन्यो । २०१५ सालमा नगरपालिका घोषणा भएको यो नगरपालिकामा स्थायी र अस्थायी गरी ४० हजारको बसोबास छ । कम्तीमा पाँच रुपैयाँ पर्ने यो झोलाको पुन: प्रयोग गर्न मिल्ने र वातावरणमा ठूलो असर नपर्ने भन्दै अभियन्ताले उपभोक्तालाई प्रोत्साहन गरेका थिए ।

प्लास्टिकमुक्त हुनुअघि फोहोरमैला सर्भेक्षण सन् २००७ को तथ्याङकअनुसार यहाँको फोहोरमा प्लास्टिकको मात्रा १४ प्रतिशत रहेको थियो । अहिले यो मात्रा आधा घटेको छ । यसमा फास्टफुड, खैनीलगायत प्याकिङ गरिएका सामग्रीमा आउने प्लास्टिकको मात्रा धेरै छ । अहिले यो नगरको अभियान सफल भएपछि यहाँको नमुना सिक्न बाहिरी जिल्लाबाट थुप्रै आउने गरेका छन् । तर नयाँ संरचना अनुसार नगरपालिकाको भूगोल वृद्धि भएकाले सवै क्षेत्रमा यो अभियान कार्यान्वयन गर्न चुनौती छ ।

‘गएको पुसदेखि नै नगरपालिकाभर प्लास्टिक हटाउने अभियान पुर्‍याइएको छ,’ नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले भने, ‘अब झोला मात्र नभएर एकपटक मात्र प्रयोगमा आउने प्लास्टिकको ग्लास र प्लेटसमेत प्रतिबन्ध गर्ने तयारीमा छौं ।’ मुलुकभर नै सफा सहरको सूचीमा परेर पटकपटक पुरस्कृत हुँदै आएको नगरपालिकाले आफ्नो साख जोगाउन सफा वडा घोषणा, उत्कृष्ट वडालाई १ लाख पुरस्कार दिने व्यवस्था, विशेष छुटमा डस्टविन वितरण गर्ने जस्ता कार्यक्रम ल्याएको छ ।

सुरुका दिनमा नगरपालिकाले पोलिथिन झोला प्रयोगबारे कडा निगरानी राख्दै कारबाही अघि बढायो । यस्तो झोलाको प्रयोग गरे दुई सय र बिक्री वितरण गरे पाँच सय जरिवाना तोकिएको छ । तर अभियान थालेयता कारबाहीमा पर्नेको संख्या ठूलो छैन । अहिले त पोलिथिन झोला लगभग प्रयोगमै छैन । जसका कारण नगरपालिकालाई बाक्लै अनुगमन गर्ने झमेला र उपभोक्ता, व्यपारीलाई जरिवानाको त्रास हट्दै गएको छ ।

प्लास्टिक गल्न धेरै वर्ष लाग्ने, जलाउँदा हाइड्रोकार्बन र क्लोरो फोरो कार्बन नामक विषालु ग्यास निस्कने र उक्त ग्यासले प्राणीको फोक्सोलाई असर गर्ने विज्ञहरूको भनाइ छ । कालो पोलेथिन झोलामा प्रोपेलिन, बेनजिन, फेनोल र इथिलिनजस्ता रसायन प्रयोग हुन्छ । जसले क्यान्सर, एलर्जी, पेटको समस्या, दम र ब्रोङकाइटिस लगायतका रोगहरू निम्त्याउने भन्दै अभियन्ताहरूले जनचेतना जगाउँदै आएका छन् ।

पोलिथिन झोला निषेध गरिएपछि वैकल्पिक नाइलनको झोला देखाउँदै व्यापारी ।तस्बिर : विप्लव

प्रकाशित : श्रावण ५, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?