कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मजदुरीमा पुरुष बढी

विनोद भण्डारी

जहदा, मोरङ — विराटनगर महानगरबाट करिब ५ किलोमिटर पूर्व दक्षिणको सीमावर्ती जहदा गाउँपालिकाका अधिकांश घरमा दिउँसो पुरुष भेटिँदैनन् । महिलाहरू सामान्य इलम गरिरहेका देखिन्छन् ।पुरुष जति बिहान उठ्नेबित्तिकै महानगर र आसपासका बजारतर्फ कामका लागि जान्छन् ।

मजदुरीमा पुरुष बढी

साँझमात्र घर फर्कन्छन् । वडा ५ का रामकुमार कामतको दैनिकी दुई दशकदेखि यस्तै छ । ‘बिहानै गएर पाखुरा नबझाए साँझ घरको चुलो बल्दैन,’ कामतले भने, ‘दिनभरिको मजदुरीबाट ज्याला ६–७ सय रुपैयाँ थापेर खाद्यान्न किन्छु अनि साँझ घर फर्कन्छु ।’

मझारे टोलका विजय किस्कु पनि परिवारको गुजाराका लागि दशकयता यसैगरी मजदुरी गर्दै आएका छन् । एक दिन मजदुरी नगर्दा ६ जनाको परिवार भोकै पर्ने उनी बताउँछन् ।जहदा गाउँपालिकामा करिब ८ हजार दुई सय घर परिवार छन् । रामकुमार र विजयको मात्र दैनिकी यस्तो होइन ।

त्यहाँका प्राय: सबै पुरुष हरेक दिन बिहान उठेर मजदुरीका लागि आसपासका बजार पुग्छन् । उनीहरू दिनभरि मजदुरी गरेर साँझ घर फर्कने गरेको वडा ५ का अध्यक्ष जगदिश सिंहको भनाइ छ ।‘हरेक दिन बिहान जहदाको लक्ष्मनिया चोकदेखि विराटनगरको हाटखोला चोकसम्म साइकलमा हिँड्नेको लस्कर देखिन्छ,’ सिंहले भने, ‘त्यो लस्कर मजदुरीका लागि बजार हिँड्नेको हो ।’

वडा ५ बाटमात्र दैनिक करिब ७ सय पुरुष मजदुरीका लागि सहर निस्कने गरेको उनले बताए । यहाँका प्राय: हरेक घरबाट कम्तीमा एक जनादेखि ३ जनासम्म दैनिक मजदुरीका लागि घरबाट निस्कन्छन् । सिंहका अनुसार केही घरका महिला पनि पुरुषसँगै काममा हिँड्छन् । नाला खन्ने माटोको काम, घर निर्माण, काठको काम, रडको काम यी मजदुरहरूको मुख्य पेसा हो । दुई दशकदेखि रडको काम गर्दै आएका विजय कामतले भने मिस्त्रीले दैनिक ८ सय र मजदुरले ६ सय ज्याला पाउँछन् ।

उनीहरू दिनहुँ विराटनगरको हाटखोला चोकमा बिहान भेला हुन्छन् । त्यहाँ कामको ठेक्का लिने ठेकेदारलाई भेटेर काममा बाँडिन्छन् । उनले भने मजदुरीका लागि सहर छिरेका मजदुरले दिउँसोको खाना घरबाटै बोकेर आउँछन् ।

गाउँका १५ देखि ६० वर्षसम्मका पुरुष र केही महिला मजदुरीका लागि सहर छिरेपछि जहदा गापामा कृषि मजदुरको अभाव भएको स्थानीय सार्वजनिक माविका प्राचार्य अजयकुमार सिंहको गुनासो छ ।मजदुर जति सबै सहर मजदुरीका लागि सहर पुग्ने गर्दा गाउँमा खेतको काम गर्ने मजदुर पाउनै समस्या छ । गाउँमा काम गर्न उनीहरूलाई एकदुई पहिला नै निम्तो गर्नुपर्छ । सिंहले भने त्यति गर्दा पनि हत्तपत्त उनीहरू गाउँमा मजदुरी गर्न मान्दैनन् ।

गाउँमै मजदुरी गर्दा सहरको तुलनामा ज्याला कम पाइन्छ । डेढ दशकदेखि सहरमा माटोको काम गर्दै आएका राजकुमार कामतले भने गाउँमा काम गर्दा मुस्किलले रोजको ४ सय रुपैयाँ पाइन्छ । तर बजारमा खट्दा ६ सय पाइन्छ ।‘ज्यालामा फरक पर्ने हुँदा हामी गाउँमा काम गर्दैनौं,’ उनले भने, ‘गाउँमा वल्लोपल्लो घरमा मजदुरी गर्दा अप्ठ्यारो पनि लाग्छ र बजारको ठेक्दारलाई एक दिन छाड्दा अर्को दिन काम पाउन मुस्किल हुने हुँदा गाउँमा मजदुरी गर्न कोही इच्छुक हुँदैनन् ।’भारतसँग सीमाना जोडिएको यो गाउँपालिकामा अधिकांश विपन्न परिवारको बसोबास छ । उनीहरूको गुजराको मुख्य आधार नै सहर पुगेर मजदुरी गर्नु हो ।

गाउँपालिका अध्यक्ष कैलाश मण्डलले भने यो गाउँपालिकाका करिब ७० प्रतिशत परिवार दैनिक मजदुरी गरेरै परिवारको गुजरा चलाउँदै आएका छन् । उनले भने उनीहरू एक दिन मजदुरी गर्न हिँडेनन् भने घरमा आगो नै झोसिँदैन ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?