कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँदरबाट सास्ती: बाली जोगाउन गस्ती

चन्द्र कार्की

बाहुनबारी (तेह्रथुम) — छथर गाउँपालिकाका हमरजुङ, फाक्चामारा र पञ्चकन्याका किसानको अचेल जंगलमै बास छ । पाकेर थन्क्याउने बेलाको अन्नलाई बाँदरबाट जोगाउन उनीहरू जंगलमै बास बसेका हुन् ।

बाँदरबाट सास्ती: बाली जोगाउन गस्ती

समूह बनाएर गाउँले बाँदर रुँग्न जंगल गएका हुन् । खेतबारीमा लगाएको अन्न र फलफूल बाँदरले खाएर थन्क्याउन नदिएको, भगाउन जाँदा लडेर घाइते भएको र गाउँमा खाद्यान्न संकट हुने गरेको भन्दै उनीहरूले अन्यत्रै पुनर्बास गरिदिन माग गर्दै आएका छन् ।

हमरजुङ, पञ्चकन्याका र फाक्चामाराका बासिन्दा बाँदरबाट पीडित भएको छथर गाउँपालिका २, हमरजुङका भीमबहादुर थापाले बताए । सयौंको संख्यामा बाँदर आएर बारीमा पस्ने र खेदाउन जाँदा आक्रमण गर्न थालेपछि स्थानीय पनि एक्लै बस्न डराउने गरेको भक्तबहादुर कार्की बताउँछन् । बाँदरले दु:ख दिएको र गाउँले बसाइँ सरिरहेको बारे प्रमुख जिल्ला अधिकारी र जिल्ला तहका दलका अगुवा नेताहरूलाई भेटेर सुनाउँदा पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ । ‘सरकारले चाहे बाँदर संरक्षणका लागि निकुञ्ज क्षेत्र घोषणा गर्न सक्छ,’ पीडित मनबहादुर बस्नेतले भने ।

बाँदरको आतंककै कारण बाहुनबारीका धान्यप्रसाद भट्टराई, मधुसूदन भट्टराई, लक्ष्मीप्रसाद भट्टराई, पोष्टबहादुर थापा, होमा खनाल, झुप्पीमाया खनाललगायत परिवारसहित बसाइँ सरेका छन् । ‘बाँदर व्यवस्थापन’ का लागि आगामी वर्षबाट अलग्गै योजना बनाउने तयारीमा गाउँपालिका रहेको अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

बाँदर मार्न पनि नपाइने र खेदाएर पनि सम्भव नहुने भएकाले किसानका लागि बाँदर निकै चुनौती भएको उनको भनाइ छ । बाँदर व्यवस्थापन कसरी गर्ने भन्नेबारे विज्ञ र वन कर्मचारीसँग परामर्श लिने काम भइरहेको अध्यक्ष लिम्बूले बताए । बासस्थान वरपर खाना अभाव भएकाले बाँदर मानव बस्तीमा प्रवेश गरेको हुन सक्ने वन कार्यालयले जनाएको छ । ‘जंगलमा खाना अभाव भयो भने बाँदर मानव बस्तीमा प्रवेश गरी क्षति पुर्‍याउँछ,’ जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेलले बताए ।

गाउँलेको भनाइमा बाँदर गाउँ पसेर आतंक मच्चाउन थालेको १० वर्ष भयो । सुरुमा हतियार देखाएर खेदाउँदा बाँदर भाग्थ्यो । एक सातासम्म बाँदर गाउँ पस्दैनथ्यो । अहिले पहिलेको जस्तो गाउँमा बाक्लो बस्ती छैन् । धेरै गाउँले बसाइँ सरेका छन् । बस्ती पातलिएसँगै गाउँमा जंगल बढेको छ ।

गाउँको पूर्व–उत्तरतर्फ बाहुनडाँडा र पीपलडाँडा सामुदायिक वन र दक्षिणतर्फ अधेरी सामुदायिक वनको घना जंगल छ । यिनै जंगलमा बाँदर बास बसेर गाउँलेलाई दु:ख दिने गरेको स्थानीयले बताए ।

पछिल्लो समय स्थानीयले बाँदर भगाउन खुकुरी र भाला बनाएर घरमा राखेका छन् । गुलेली र अन्य हतियार पनि साथैमा छन् । तर यस्ता हतियार देखाउँदा पनि बाँदर नभाग्ने पीडितको भनाइ छ ।

प्रकाशित : श्रावण २१, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?