तेह्रथुम — तमोर तटीय क्षेत्रका खडेरीबाट प्रभावित किसानलाई छथर गाउँपालिकाले क्षतिका आधारमा राहत दिने भएको छ । मध्य बर्खामा समेत खडेरी लागेर अन्न बाली र फलफूल सुकेपछि किसानले गाउँपालिसँग सहयोग मागेका थिए ।
क्षतिको विवरण संकलन गरी राहत सिफारिस गर्न गाउँपालिकाले कार्यपालिका सदस्य, सम्बन्धित वडाका जनप्रतिनिधि र सोही वडाका कर्मचारीसमेत परिचालन गरेको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले बताए ।
टोलीको सिफारिसका आधारमा पीडित किसानलाई तत्काल राहात उपलब्ध गराइने लिम्बुले बताए । मध्य वर्षामा समेत पानी नपरेपछि ओख्रे, फाक्चामारा, हमरजुङलगायत गाउँका किसान समस्यामा परेका छन् । खेतबारीमा लगाएको धान, मकै, कोदोलगायत अन्नबाली सुकेर डढेलो लाग्ने अवस्थामा पुगेको किसानको भनाइ छ ।
वडा ३ का लागि वडा सदस्यहरू फौदराज लिम्बु, सरीता बिक, इन्द्रकुमारी लिम्बु र कर्मचारी कुलबहादुर श्रेष्ठलाई क्षतिको विवरण संकलनको जिम्मा दिइएको छ । वडा ४ का लागि कार्यपालिका सदस्य विष्णुमाया थापा, वडा सदस्य पुष्प कार्की, सिर्जना सार्की र भुवनसिंह लिम्बुलाई जिम्मा दिइएको गाउँपालिका अध्यक्ष लिम्बुले बताए ।
५ नम्बर वडामा वडा सदस्य बन्दना लिम्बु, कार्यपालिका सदस्य कमला नेपाली र वडा अध्यक्ष पुण्यप्रसाद ढकाललाई क्षतिको विवरण एकिन गरी राहत सिफारिस गर्न जिम्मेवारी दिइएको छ । क्षतिको यकिन विवरण संकलन भएर गाउँपालिकामा आएपछि राहत वितरण सुरु गरिने गाउँपालिका प्रवक्ता राजन नेपालीले बताए ।
अन्नबालीबाट मात्र जीवन गुजारा गर्दै आएका पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउने र ती क्षेत्रमा खडेरीको दीर्घकालीन समाधानका उपायसमेतको खोजी गरिने गाउँपालिकाले तयारी गरेको छ । त्यस्तै अन्य पेसा, व्यवसाय र रोजगारीमा समेत रहेका किसानका परिवारलाई भने अलग ढंगबाट राहत वितरण गरिने प्रवक्ता नेपालीले बताए ।
मकै, कोदो, फापर, गहत, जुनेलो, बदाम, धानलगायत खाद्यान्न बालीको खेती गर्दै आएका किसानको यो वर्ष पानी नपरेपछि बिजोग भएको छथर गाउँपालिका ४ फाक्चामाराका किसान दीपक लिम्बुले बताए । खडेरीले खेतबारी र जंगलमा रहेको घाँससमेत सुकेपछि चौपायालाई समस्या भएको ३ नम्बर वडा अध्यक्ष तुलसीजंग थापाले बताए ।
प्रकाशित : श्रावण २४, २०७५ ०८:३०