करोडौं खर्च, अवस्था उस्तै

रौतापोखरी
डिल्लीराम खतिवडा

रौतापोखरी (उदयपुर) — दुई दशकभन्दा बढीदेखि पटकपटक गरी करोडौं रुपैयाँ लगानी गरिए पनि पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीको विकास हुन सकेको छैन । सरकारी तथा गैरसकारी क्षेत्रबाट बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ ।

रौतापोखरीको विकास गर्ने भन्दै सरकारी तथा गैरसरकारी संस्थाले २५ वर्षयता ३ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको देखिन्छ । तर अवस्थामा भने उस्तै छ । बरु विकासका नाममा प्राकृतिक पोखरीको सौन्दर्यमा ह्रास आएको स्थानीयको भनाइ छ । पोखरीको वरीपरि दर्जन बढी सूचना बोर्ड राखिएका छन् । सरकारी तथा गैरसरकारी संघसंस्थाले राखेका ती बोर्डमा आफूले पोखरीका लागि सहयोग गरिएको रकम उल्लेख छ ।

‘पोखरीको वरिपरि शृंगारपटार गरेर मात्रै विकास हुँदैन,’ स्थानीय गंगा रानामगरले भने, ‘यसको पूर्वाधार र संरक्षणको काम हुनुपर्‍यो ।’ यो स्थान आउजाउ गर्ने सडक व्यवस्थित पार्न ध्यान नगएको उनको भनाइ छ । समुद्र सतहदेखि ५१ सय फिटको उचाइमा रहेको रौतापोखरी क्षेत्र प्राकृतिक सुन्दर छ । यो धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण स्थान मानिँदै आएको छ । उदयपुर सदरमुकाम गाईघाट बजारबाट ४४ किमि उत्तर पहाडी क्षेत्रमा पर्ने रौतापोखरी धार्मिक आस्थाको केन्द्र र प्राकृतिक रमणीय दृश्यले भरिपूर्ण भएकै कारण पर्यटकीय क्षेत्र बन्ने प्रशस्त सम्भावना छ ।

‘रौतापोखरीको पर्यटन विकास गर्ने हो भने बाह्रैमहिना यातायातका साधन चल्न सक्ने बनाउन आवश्यक छ,’ स्थानीय सुभद्रा कार्कीले भनिन्, ‘गुरुयोजना निर्माण गरी थप व्यवस्थित गर्न जरुरी देखिन्छ ।’ भौतिक पूर्वाधार र सडकको स्तर वृद्धि हुन नसक्दा पर्यटकीय स्थल ओझेलमा परेकोमा स्थानीय चिन्तित छन् । रौतापोखरीसम्म कच्ची सडक पुगेको छ । तर व्यवस्थित नहुँदा सवारी साधन सञ्चालनमा समस्या छ । ‘पर्यटनका लागि प्रचुर सम्भावना बोकेको रौतापोखरीको संरक्षणमा खासै चासो राखेको देखिएन,’ रौता पोखरीमै भेटिएका हेटौंडाका रामशरण पुडासैनीले भने, ‘बर्सेनि हजारौं पर्यटक आउने यी स्थल जोड्ने कच्ची सडकको स्तरोन्नति गरिएको रहेनछ ।’

सडकको स्तरोन्नति र भौतिक पूर्वाधार तयार भए पर्यटक आगमन बढ्ने उनले बताए । ‘अब रौतापोखरीको प्रवद्र्धन र विकास गरिने खर्च गर्न गाउँपालिकाको स्वीकृत लिनुपर्ने छ,’ रौतामाई गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले भने, ‘अब गाउँपालिकाको स्वीकृति लिएर मात्रै काम गर्न पाइनेछ र खर्च पारदर्शी गरिनेछ ।’

Yamaha

प्रकाशित : श्रावण २८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आधुनिक प्रणालीले कृषकलाई राहत

डिल्लीराम खतिवडा

नामनता (उदयपुर) — चार वर्षअघिसम्म तीलकबहादुर रानामगर ढाक्रे (ढाकरमा भारी बोक्ने भरिया) थिए । गाईघाट र मुर्कुची बजारबाट उदयपुर र खोटाङका विभिन्न पहाडी क्षेत्रमा भारी बोक्नु उनको दिनचर्या थियो ।

विकासको क्रमसँगै दुर्गम पहाडी क्षेत्र सडक सञ्जालले जोडिँदै जाँदा रौतामाई गाउँपालिका ६ नामनताका ४६ वर्षीय तिलकबहादुर भारी बोक्ने पेसा संकटमा पर्‍यो । पहाडी क्षेत्रमा सवारी साधनले ढुवानी गर्न सुरु गरेपछि तीलकबहादुर जस्ता सयौंको गुजारा गर्ने माध्यम खोसियो ।

उनी र र उनीजस्ता सयौंको व्यवसाय नै लोप भयो । नयाँ के परिचय दिने तीलक सोच्दै थिए । गाउँमा कृषिमा आधुनिकीकरणको कुरा चलिरहेको थियो । तीलकले सोचे आधुनिक कृषितिर लागे केही हुन्छ कि, हराएको ढाक्रेको परिचय बदलिएर कृषिमा परिचय बनाउन सकिन्छ कि ? त्यसै सेरोफेरोमा उनले गाउँकै कृषि अभियान्ता गगा रानामगरलाई आफूले कृषिमा केही गर्ने सोच भएको सुनाए । गगाले तिलकलाई परम्पागत खेती छोडेर आधुनिक खेतीमा लागे आम्दानीसँगै परिचय पनि बदलिने सुझाए ।

गंगाले सुझाएअनुसार नै तीलक आधुनिक खेतीमा लागेको बताउँछन् । ‘त्यसैले अहिले मेरो परिचय फेरिएको छ, ढाक्रेबाट अहिले अगुवा किसान भएको छु,’ उनले भने, ‘अहिले मलाई उदयपुरको पहाडी क्षेत्रमा अलैंची किसान भनेर चिन्छन् ।’ परिचय फेरिएसँगै आम्दानी समेत बढेको उनले बताए । ‘वर्षौंसम्म ढाकर बोकेको ढाक्रेले आधुनिक खेती, सोच्ने सकिन,’ तिलकले भने, ‘तर ढाक्रेको परिचय हराएको थियो, नयाँ परिचयका लागि केही त गर्न नै थियो ।’ त्यसैले आधुनिक खेती सुरु गर्ने अठोट गरे, पराम्परागत धान, मकै, कोदो र फापर छोडेर आलु, अम्रिसो, अलैंची र जडिबुटी खेतीमा लागेको उनले बताए ।

तीलकले अहिले नामतामा २० रोपनी क्षेत्रफलमा अलैंची, तेजपता, किवि,पाखनवेद र ठूलोओखतीको खेती सुरु गरेका छन् । झन्डै ४ वर्षयता तीलकले आधुनिक खेती सुरु गरेका हुन् । १३ रोपनी क्षेत्रमा अलैंची र अन्य ७ रोपनी जडिबुटी र फलफूल खेती गरिरहेको उनले बताए ।‘खेतीको सुरु गरेको वर्षदिनपछि ३० हजार आम्दानी भयो,’ तीलकले भने, ‘गत वर्ष १ लाख ५० हजार रुपैयाँको अलैंची बिक्री गरे ।’ यो वर्ष न्यूनतम ५ लाखको अलैंची बिक्री गर्ने लक्ष्य राखेको उनले बताए ।

तीलकले गोलसाई र रामसाई जातको अलैंचीको खेती गरेका छन् । झन्डै १ सय ५० केजी पाखनवेद तयारी अवस्थामा भण्डार गरेका छन् । आलु, काक्रा बिक्रीबाट झन्डै ५० हजार आम्दानी गरिसकेको उनी बताउँछन् । ‘तर सकारी सहयोग खासै छैन,’ तीलकले भने, ‘चार वर्षअघिसम्म ढाक्रे भएर ढाकर बोक्दा पनि त सरकारी सहयोग थिएन ।’ त्यसैले सरकारी सहयोग नभए पनि आफूसँगै गाउँलेलाई पनि आधुनिक खेती गर्न प्रोत्साहन गरिरहेको उनले बताए ।

‘नामनता गाउँ नै अहिले आधुनिक कृषिमा लागेको छ,’ नामनताका तरकारी किसान प्रेम रानामगरले भने, ‘तीलक जस्तै अलैंची, जडिबुटीसँगै आलु, काउली, टमाटार लगायतका बार्‍हैमास तरकारी खेती पनि हुन थालेको छ ।’ रौतामाई– ६ को नामनता अहिले आधुनिक कृषिका नामले चिनिदै गएको उनले बताए ।

रौतामाई गाउँपालिकको लेकाली क्षेत्र पछिल्लो सयम नगदे बालीका रूपमा अलैंचीसँगै चिया, जडिबुटी, फलफूल र तरकारी खेती हुँदै आएको कृषि अभियान्त गंगा रानामगरले वताए । ‘आधुनिक कृषि प्रणाली अबलम्वन गरेर सँगै यहाँका किसानको गरिबी हटदै गएको छ,’ उनले भने, ‘थोरै भिरालो बारीमा मकै र कोदो खेती गरेर गुजारा गर्दै आएका किसान अहिले आधुनिक खेतीले वार्षिक लाखौंको आम्दानी गर्दै आएका छन् ।’ तीलकबहादुर जस्ता दर्जन किसानले आफनो पुरानो परिचय बदल्दै अहिले आधुनिक कृषि प्रणाली अपनाउँदै आधुनिक खेती गरेयता नयाँ परिचय बनाएको उनले बताए ।


गाउँको नामै ‘आधुनिक कृषि’

‘नामनता गाउँ नै अहिले आधुनिक कृषिमा लागेको छ, तरकारी किसान प्रेम रानामगरले भने, ‘अलैंची, जडिबुटीसँगै आलु, काउली, टमाटार लगायत बार्‍हैमास तरकारी खेती पनि हुन थालेको छ ।’ रौतामाई– ६ को नामनता अहिले आधुनिक कृषिका नामले चिनिँदै गएको उनले बताए ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT