कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटबल सिक्दै साना

जितेन्द्र साह

विराटनगर — प्रचण्ड गर्मी र झरीमा समेत साइकल हुइँक्याउँदै १३ वर्षे सुलभ चौधरी बेलुकी ४ बजेसम्म विराटनगरको शहिद रंगशाला पुग्छन् । मनकामना टोलस्थित घर नजिकै विद्यालयका कक्षा–६ का विद्यार्थी उनी दुई घण्टाको फुटबल अभ्यासपछि साँझ ६ बजे फर्कन्छन् ।

फुटबल सिक्दै साना

चार महिनादेखि साताको अन्तिम दुई दिन शुक्रबार, शनिबार वा विदाको मौकामा सुलभ फुटबल खेल्ने कला सिक्दैछन् । ‘राष्ट्रिय खेलाडी बन्न चाहन्छु,’ उनले सुनाए । हाल प्रहरी सेवामा आबद्ध सुलभका पिता सुनील पनि पूर्व फुटबलर हुन् ।

उमेरले ४ नकटै घर नजिकैको खाली जग्गामा दाइ सुजल र साथीहरूसँग फुटबल खेल्दै आएको सुलभले बताए । उनको दाइ अहिले कक्षा–९ मा पढ्छन् । ‘तालिम लिनुअघि जसरी मन लाग्यो, त्यसरी बलमा प्रहार गथें,’ सुलभले भने, ‘अहिले कति तागतले कसरी र कता हान्नेबारे जानेको छु ।’

एक वर्षको चरणबद्ध प्रशिक्षणपछि फुटबलको ‘यू–१९’ मा छानिने उनको विश्वास छ । राष्ट्रिय खेलकुद परिषदो आधारभूत प्रशिक्षण कार्यक्रमअन्र्तगत यहाँका १ सय ५० बालक सहभागी भइरहेका छन् । परिषद्ले ६ देखि १८ वर्ष उमेर समूह निर्धारण गरेको यो तालिममा शुक्रबार सिकाइन्छ र प्रतिभा पहिचान गर्दै अघि बढ्न शनिबार प्रतिस्पर्धा गराइन्छ ।

फुटबलका कुशल खेलाडी उत्पादन गर्ने यो व्यावहारिक कार्यक्रम भएको मुख्य प्रशिक्षक पारस चौधरीले बताए । उनी स्वयं पूर्व राष्ट्रिय खेलाडी रहिसकेका छन् । बच्चाहरूको पढाइमा असर पर्न नदिनलाई साताको अन्तिम दुई दिन वा छुट्टीको अवसरमा प्रशिक्षण दिने गरेको उनले सुनाए ।

कक्षा–५ मा पढ्ने १० वर्षीय समृद्ध रिजाल पनि मैदानमा तनमनले खेलिरहेका भेटिए । उनको पिता देवेन्द्र भने विशुद्ध व्यवसायी हुन् । समृद्धको भने राम्रो खेलाडी बन्ने चाहना छ । बल देख्नेबितिकै प्रहार गर्न मन लाग्छ,’ उनले भने, ‘गुरुले भनेअनुरुप मिहिनेत गर्दै छु ।’

प्रशिक्षण लिइरहेकामध्ये स्थानीय नारायणमार्गका १५ वर्षे सर्वेश पोखरेल फुटबलका सामान्य ज्ञानमा सबैभन्दा अब्बल मानिन्छन् । अहिले निजी व्यवसायमा लागेका उनको पिता द्वारिका पोखरेल पनि झन्डै एक दशक २०५२/५३ सम्म ह्यान्डबलमा राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए ।

त्यतिबेला खेलमा भविष्य नदेखेर, पढाइ बिग्रेर र आर्थिक रूपले टिक्न नसकेपछि व्यवसायतिर लागेको उनले बताए । ‘छोरा भने सफलसँगै असल खेलाडी बनुन् भन्ने मेरो इच्छा हो,’ उनले भने । आफ्नो उमेरभन्दा निकै बढी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फुटबलको जानकारी राख्ने छोरा सर्वेशले भने, ‘स्वास्थ्यका लागि खेल्नु र भविष्यका लागि सिक्नु मेरो उद्देश्य हो ।’

कक्षा–८ मा अध्ययनरत उनी जेठदेखि तालिम लिन थालेका हुन् । वैशाख १ देखि यो प्रशिक्षण सुरु भएको हो । साथीभाइबाट थाहा पाएर आएको उनले बाए । ‘एक्लैले भन्दा मिलेर कसरी खेल्ने भन्ने बुझदै छु,’ सर्वेशले भने, ‘सबैभन्दा महत्त्वपूर्ण बल नियन्त्रण गर्ने कला नै रहेछ ।’

मुख्य प्रशिक्षक चौधरीले बच्चाहरूमा फुटबलप्रतिको क्रेज देखेर चकित परेको बताए । बेलुकी ४ बजे प्रशिक्षण सुरु हुने भए पनि ३ नबज्दै आफूलाई मनपर्ने जर्सीमा उनीहरू रंगशाला भेला भइसक्ने गरेको चौधरीले बताए ।

‘थाहा नपाएर ढिलो आए पनि खेलप्रतिको ज्ञान र लगाव हेरेर छुटेकालाई भर्ना गरेका छौं,’ उनले भने । ‘लाममा बसाइ पालना गर्नुपर्ने नियम बारे भन्छौं, व्यायाम गराउँछौं, दौडाउँछौ अनि फुटबल अभ्यास गराउँछौं,’ उनले भने, ‘गर्मी छ, तिर्खा लागिराख्ने हुनाले बीच–बीचमा पानी पिउन पठाउँछौं ।’ अधिकांश बावु घरबाटै पानी बोकेर आउँछन् । कतिपयलाई बाआमाले किनिदिन्छन् । नल्याएकाले साथीभाइसँग मागेर खान्छन् ।

कतिपय साना बाबुलाई बाआमाले पुर्‍याउन आउँछन्, अभ्यास सकिएपछि लिन आउँछन् । कतिपय अभिभावक सपरिवार खेल नसकुन्जेल बस्छन्, उनीहरूलाई सँगै लिएर जान्छन् । बाआमासँग समय अभाव भएका र अलिक ठूला बच्चा रंगशालासम्म साइकल, सार्वजनिक सवारीमा वा पैदलै ओहोरदोहोर गर्छन् ।

साताको अन्तिम दुई दिन र विदामा यहाँ सानाले फुटबल सिकिरहेको सुन्दर एवं मन छुने दृश्य देख्छौं । दर्शकदीर्घामा बसेका सबै पृष्ठभूमिका अभिभावक र आफन्तजनको मायालु एवं गर्विलो आँखाले बच्चाहरूलाई नियालिरहेको हुन्छ । साँझ ६ बजेपछि कोही अभिभावक र कोही आफैंं फर्कन्छन् । यस प्रशिक्षण कार्यक्रमअन्र्तगत चार महिनादेखि उनीहरूले रनिङ, बल कन्ट्रोल, पास, टयाकल, चेस्टिङ, हेडिङ, साइड टयाकल, टिमवर्क र भिड्ने कलामा सिपालु बन्दै छन् ।

राखेपले मुख्य फुटबल प्रशिक्षक र रेफ्रीको निगरानीमा काठमाडौंबाहेक विराटनगरमा पनि इच्छुक बालकलाई उमेर तथा उचाइअनुरुप समूहमा विभाजन गरी तालिम दिइरहेको छ । ६ देखि १० वर्ष, ११ देखि १४ वर्ष र १५ देखि १८ वर्षको तीन उमेर समूहमा भइरहेको यो आधारभूत प्रशिक्षणमा यहाँ १ सय ५० बालक सहभागी छन् ।

बढी उमेरका लागि सिनियर ए र बी तथा कम उमेरका लागि जुनियर ए र बी टिममा विभाजन गरी खेलाइन्छ । रेफ्री मधुसुदन खनालको निगरानीमा मुख्य प्रशिक्षक चौधरी र प्रशिक्षक अरुण लामा, दिनेश बस्नेत एवं मदन काफ्लेले उनीहरूलाई फुटबल खेल्ने कलामा दक्ष बनाइरहेका छन् ।

चारमहिने तालिमपछि भदौमा एक महिना छुट्टी हुनेछ । त्यसपछि असोजदेखि प्रत्येक समूहबाट २५ का दरले ७५ खेलाडी छनोट गरिनेछ । यसबाट छानिएका ५० जनालाई छात्रवृत्तिसहित प्रशिक्षण दिइनेछ । उनीहरू राष्ट्रिय स्तरका खेलाडी नबनुन्जेल यो क्रम चलिरहन्छ । तर सुरुआती चारमहिने तालिममा सहभागी गराउन अभिभावकले मासिक ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने चौधरीले जनाए ।

मैदानको अभावमा नियमित प्रशिक्षण हुन नसक्दा विराटनगरमा फुटबल खेलाडीको खडेरी परिरहेको खनालले बताए । उनका अनुसार अचेल मुख्य राजमार्ग क्षेत्रमा मात्र फुटबल खेल सीमित भइरहेको छ । यो तालिमले भविष्यमा खेलाडीको अभाव हुन नदिने रेफ्री खनालको विश्लेषण छ ।

तर केही अभिभावकले छोराछोरीलाई खेलाडी नै बनाउनेभन्दा पनि समूहमा काम गर्न सिकाउन, मोबाइलको लत छुटाउन, स्वस्थ जीवनशैली जीउन जानुन् भनेर पनि मैदानमा ल्याइरहेको स्थानीय खेलप्रेमी अभिभावक बसन्तराज अर्यालले बताए । ‘खेलको ज्ञानसँगै बानीमा पनि सुधार हुन्छ,’ उनले भने ।

प्रकाशित : श्रावण ३१, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?