कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लखेटिएपछि तरकारी व्यवसायीको बिचल्ली

कान्तिपुर संवाददाता

इलाम — तरकारी बिक्री गरे आर्थिक गर्जो टार्दै आएकी लक्ष्मी घिमिरे परिवार पाल्ने सहारा नभेटेपछि निराश छिन् । चोक बजार नजिकै तरकारी पसल चलाएर दुई अपांगता भएका छोरालाई पालनपोषण गर्दै आएका भुवन खतिवडा पनि अब के गर्ने भन्नेमा पिरोलिएका छन् ।

लखेटिएपछि तरकारी व्यवसायीको बिचल्ली

गाउँका कृषकवाट उज्यालो नखस्दै तरकारी लिंदै दिनभरको झरीमा भिजेर बजार क्षेत्रका बासिन्दको कराईमा तरकारी पुर्‍याउने उनीहरू जस्तै तीन दर्जन ससाना व्यवसायी विस्थापित छन् । सदरमुकामको हाटबजारलाई व्यवस्थित वनाउन पुराना संरचना भत्काउन थालिएपछि तरकारीपसले खेलकुद समितिको कार्यालय परिषरमा सरेका थिए ।

नियमित अभ्यासमा आउने खेलाडीले बलपूर्वक उनीहरूलाई हटाएपछि बिक्रीका लागि राखिएको हरियो तरकारी त्रिपालले छोपेर उनीहरू बाहिरिएका छन् । आइतबार इलाममा लाग्ने हटियाको दिन नै पारेर पुरानो स्थानबाट उनीहरूलाई हटाइएको थियो ।

दुई दिन खेलकुद समिति अगाडिको सानो टुडिखेलमा विवादबीच व्यवसाय चलाएका उनीहरू मंगलबार बिहान खेलाडीमार्फत लखेटिए । चोकबजार नजिकको हाटलाई भत्काउन थालिएपछि त्यहाँका तरकारी पसले खेलकुद विकास समिति प्राङ्गणमा आएका छन् । साडे ३ तले भवन बनाउन त्यहाँका सबै व्यवसायीलाई विस्थापित गरेर पुराना संरचना भत्काउने काम भइरहेको छ ।

सदरमुकामको अधिक चहलपहल हुने क्षेत्रमा नयाँ व्यावसायिक भवनको काम सुरु भएपछि विस्थापित व्यवासायी अन्योलमा छन् । बजार क्षेत्रका संरचना भत्काएर ९५ वटा कोठा रहने गरी ३ तले भवन बनाउन नगरपालिकाले ठेकेदारलाई जिम्मा दिइसकेको छ । २१ महिनामा काम सक्ने गरी ९ करोड ३८ लाखमा बिकोइ भगवती जेभिलाई ठेक्का दिइएको हो । नगरको दीर्घकालीन महत्त्व राख्ने क्षेत्रमा नयाँ संरचना निर्माण गरिँदा आश्रित साना तरकारी पसले बेवास्तामा परेका हुन् ।

नगरपालिकाको पुरानो बजारमा रहेका फेन्सीलगायतका पसललाई नजिकै निर्माण भएको कार्की मार्केटमा सारेको छ । मुख्य समस्या भने सब्जी बिक्री गर्नेहरूलाई देखिएको छ । तत्कालका लागि भन्दै नगरपालिकाले उपभोक्ताको ठूलो भिड लाग्ने तरकारी बजारलाई जिल्ला खेलकुद समितिको प्राङ्गणमा सारेको छ ।

ती पसले हटाउन खेलकुद समितिले तीव्र विरोध मात्र गरेन बल प्रयोगमै उत्रिएर व्यवसायी हटाइए । मंगलबार बिहान खेलाडीले व्यवसायी हटाएपछि तरकारी पसले अन्योलमा छन् । खेलकुद समितिले दैनिक प्रशिक्षणमा आउने १ सय बढी खेलाडीलाई अवरोध पुगेकाले बिनाजानकारी यहाँ तरकारी पसल सार्नु गलत रहेको जनाएको छ । व्यवसायी नगरपालिकाले नै यस क्षेत्रमा पठाएकाले आएको अडान राख्छन् ।

व्यावसायिक महत्त्वको भवन निर्माण गर्दा प्रभावितको पक्षमा योजना नबन्दा यो समस्या आएको सरोकारवालाको भनाइ छ । सानो टुडिखेल नामले चिनिने यो क्षेत्रमा विना तयारी तरकारी वजार सार्दा आसपासका बासिन्दा समेत प्रभावित भएका छन् । बिनाजानकारी तरकारी बजार सारिएकामा खेलकुद समितिले कडा आपत्ति जनाउँदै हटाउने सम्मको हर्कत गरेको हो ।

‘गैरजिम्मेवारीपूर्वक ढंगले तरकारी व्यवसायीलाई पठाइएकाले खेलाडीले प्रतिवाद गरेका हुन्,’ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वृहस्पति उपरकोटीले भने, ‘सम्बन्धित निकाय र व्यवसायीलाई यस क्षेत्रमा व्यवसाय नगर्न अनुरोध गरेका थियौं ।’ यता नगरपालिका भने बेखबरजस्तो देखिएको छ । ‘तरकारी बजारको वैलल्पिक स्थान खोजिरहेको अवस्थामा व्यवसायीहरू कसरी त्यहाँ पुगे थाहा छैन,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याङले भने ।

उनीहरू कृषि बजार सानो टुडिखेलमा सारिएपछि विभिन्न खेलको प्रशिक्षण लिंदै आएका खेलाडी विस्थापित भएका छन् । नगरपालिकाले जिल्ला खेलकुद विकास समिति र नगर खेलकुद विकास समितिलाई जानकारी नै नगराई कृषि बजार सानो टुडिखेलमा सारेको समितिकी सचिव अमृता घिमिरेले जनाइन् ।

खेलाडीका लागि प्रशिक्षण केन्द्रको अभाव भइररहेको अवस्थामा सानो टुडिखेलमा मार्सल आर्ट सम्बन्धीका कराँते, तेक्वान्दो, उसुसहित ब्याडमिटन खेलको प्रशिक्षण लिने खेलाडी विस्थापित भएका छन् ।

कृषि बजार राखिएको सानो टुडिखेलमा खानेपानी र शौचालयको समेत अभाव छ । दैनिक सयौंको भिड लाग्ने भएपछि पानी र शौचालयकै कारण समस्या हुने टोलवासीको भनाइ छ । नगर खेलकुद विकास समितिका सचिव विनोद श्रेष्ठले सयौं युवाको खेल मोहलाई भंग गर्ने गरी तरकारी बजार सारेको भन्दै रोश प्रकट गरे ।

प्रकाशित : श्रावण ३१, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?