रोगले तरकारी बालीमा क्षति

चन्द्र कार्की

तेह्रथुम — धनकुटा, तेह्रथथुम र संखुवासभाका किसानले लगाएको तरकारी बालीमा क्लवरूट (गाँठे रोग) फैलिएको छ । यसले गर्दा ठूलो परिमाण तरकारी बारीमै कुहिन थालेको छ ।

बिक्रीका लागि बजारमा निकाल्ने बेला भएको बन्दा जराबाटै कुहिन थालेपछि देखाउँदै धनकुटाको महालक्ष्मी नगरपालिकाका किसान गोविन्द पौडेल । तस्बिर : कान्तिपुर

बमौसमी तरकारी बन्दाकोबी, काउली, रायोको साग, ब्रोकाउलीलगायत तरकारी बालीमा रोग फैलिएको हो । यसले उत्पादन समेत घटाएको छ । रोगका कारण किसानले प्रत्येक वर्ष १५ करोड बढीको नोक्सान व्यहोरिरहेको सिंधुवा कृषि भण्डारका बजार प्रमुख मेघेन्द्र गुरुङले बताए ।

तीन वर्षअघि पनि यो रोगको प्रकोप यस क्षेत्रका किसानले लगाएको बन्दा बालीमा देखिएको थियो । त्यसबेला बन्दाकोबीमा देखिएको रोगको नेपाल कृषि अनुसन्धान परिषद नार्कको बाली रोग विज्ञान महाशाखा खुमलटारले किसानका बारीमै आएर अनुसन्धान गरेको थियो ।

Yamaha

त्यसयता दुई वर्षसम्म नदेखिएको रोग यो वर्ष पुन: देखा परेको महालक्ष्मी नगरपालिका घुमाउने धनकुटाका किसान गोबिन्द पौडेलले बताए । तेह्रथुमको लालीगुराँस नगरपालिका र छथर गाउँपालिका, धनकुटाको महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाका १५ हजारभन्दा बढी किसानले बारीमा रोपेको बन्दा रोगका कारण कुहिएको सिंधुवास कृषि भण्डारका बजार प्रमुख गुरुङले बताए ।

यी तीन जिल्लामा उत्पादित ताजा हरियो तरकारी भण्डारमार्फत पूर्वी तराई हँुदै भारतीय बजारमा बिक्रीका लागि जाने गर्छ । सुरुमा बन्दामा देखिएको यो रोगको प्रकोप फैलिएर अहिले काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगम लगायतका तरकारी बालीमा समेत फैलिएको छ ।

बन्दा, काउली फक्रिएर बजारमा पठाउने बेलामा रोगले आक्रमण गरेको लालीगुराँस नगरपालिका चित्रेका किसान बलबहादुर अधिकारीले बताए । बजारमा निकाल्ने तयारी भएको २५ लाख बरावरको बन्दामा रोगको प्रकोप फैलिएको महालक्ष्मी नगरपालिका घुमाउनेका किसान पौडेलले बताए ।

रोगले बन्दा बालीमा ८५ प्रतिशत बढी क्षति पुर्‍याएको महालक्ष्मी नगरपालिका खाप्राङका किसान होमराज रायमाझीले बताए । आफ्नो क्षेत्रमा मात्र ५० जना बढी किसानले लगाएको करोडौंको बन्दा बारीमै कुहिन थालेको उनले बताए ।

बन्दा, काउली लगायतका तरकारी बालीको बोटको मूल र सहायक जरामा गाँठा वा डल्ला देखिने र विस्तारै एक प्रकारको ढुसी देखा पर्ने र अन्त्यमा गएर जरा, डाँठ हँुदै फल र पात नै कुहिने यो रोगको प्रमुख लक्षण हो ।

रोगका जीवाणुले बालीमा प्रवेश पाएको तीन हप्तापछि मात्र जरामा गाँठाहरू देखा पर्ने कृषि विशेषज्ञहरूको भनाइ छ । डेढ दशकको अवधिमा नेपालभर महामारीका रूपमा फैलिएको यो रोगको व्यवस्थापन, निधान, रोग लाग्नुको कारण, उपचार विधि, बाली चक्रप्रणाली लगायतका विषयमा किसानको बारीमै पुगेर नार्कको बाली रोग विज्ञान महाशाखाले अध्ययन गरिरहेको छ । तर पनि रोगको निदान हुन सकेको छैन ।

यहाँको बन्दामा क्लवरूट (गाँठे रोग), खटिरे, स्कोलो टेनिया, अल्टनेरीयाव्रासोकी कोला लगायतका अन्य रोगको लक्षण नार्कले तीन वर्षअघि गरेको अध्ययनले देखाएको थियो । यो रोगले यस क्षेत्रका मारेककटहरे, मूर्तिढुंगा, तामाफोक, फुलेक, वसन्तपुर, आङदीम, सुङनाम, हमरजुङ, परेवादिन, तामाफोक, तेल्लोक, मामलिङ ओख्रे लगायतका गाउँका किसानले लगाएको बन्दा र काउली बालीमा क्षति पुर्‍याएको छ ।

जिल्ला कृषि विकास कार्यालयले बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र घोषणा गरेको यो क्षेत्रमा महामारीका रूपमा रोगको प्रकोप फैलिएपछि बालीचक्र परिर्वतन गरी खेती गर्न किसानलाई सुझाएको छ । ‘रोग प्रभावित क्षेत्रका किसानलाई फरक प्रकृतिको खेती गर्न भनेका छौं,’ वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले भने ।

प्रकाशित : भाद्र २, २०७५ ०८:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संहिताबारे छलफल

कान्तिपुर संवाददाता

हेटौंडा — मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार मुलुकी देवानी तथा अपराध (संहिता) ऐन २०७४ सम्बन्धी छलपल आयोजना गरेको छ ।

हेटौंडामा शुक्रबार मुलुकी देवानी तथा अपराध (संहिता) ऐन २०७४ सम्बन्धी कार्यक्रमका सहभागी । तस्बिर : नगेन्द्र अधिकारी । कान्तिपुर

उक्त कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कानुनको घेरामा पर्ने आशंकाले अपराध तथा फौजदारी संहिताको विरोध सुरु भएको दाबी गरे । उनले विगतमा उपभोग गरिरहेको अधिकार खोसिने आशंकामा विरोध सुरु भएको बताए ।

‘पत्रकार र डाक्टरबाट यसको विरोध सुरु भइसकेको छ,’ उनले भने, ‘मुलुकलाई समुन्नत र सफल बनाउनका लागि पनि कानुन कार्यान्वयन गर्न सबैले सघाउनुपर्छ । उनले पत्रकारहरूले नकारात्मक कुरालाई मात्रै प्राथमकिता दिएको भन्दै त्यस्तो प्रवृतिले मुलुक निर्माणमा सहयोग नगर्ने बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले नयाँ संहिता ऐनले राजनीतिक परिवर्तनअनुसारको स्पिरिट समातेको तर्क गरे । उनले प्रहरी, मिडिया र स्वास्थ्य क्षेत्रबाट देवानी, फौजदारी संहिताको विरोधका स्वर सुनिन थालेको भन्दै छाडातन्त्र रहेकोले व्यवस्थित गर्न खोज्दा विरोध भएको दाबी गरे । उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश पुष्पराज कोइरालाले विगतको भन्दा सरल भए पनि नयाँ भएकोले कार्यान्वयनको क्रममा चुनौती आउन सक्ने दाबी गरे ।

प्रकाशित : भाद्र २, २०७५ ०८:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT