सडकमा सास्ती

सडकमा प्रत्येक दिन क्षति बढिरहेको भए पनि यसको रोकथाम र मर्मत सम्भारको पहल कतैबाट भएको छैन ।
चन्द्र कार्की

तेह्रथुम — गत असारमा फेदाप गाउँपालिकाको सम्दु गाउँका ५२ वर्षीय नगेन्द्र चोङबाङलाई हृदयाघात भयो । उपचारका लागि धरान लैजाँदै गर्दा उनी सवार गाडी हिलामा भासियो । निस्कन नसकेपछि उनको गाडीमै मृत्यु भयो ।

गत असारमै शल्यक्रियापछि प्रसूति भएकी म्याङलुङ ५ अम्फुवाकी २७ वर्षीया दिलु लिम्बूलाई ३ लाख ६० हजार रुपैयाँ ऋण खोजेर उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लगियो । वसन्तपुर–म्याङलुङ २६ किलोमिटर सडक हिलाम्मे हुँदा आफन्त यस्तो विकल्प रोज्न बाध्य भएका थिए ।

गत वर्ष वसन्तपुर–म्याङलुङ–च्याक्चे खण्डको हिलोमा चिप्लेर मोटरसाइकल खोलामा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकलमा सवार अर्का गम्भीर घाइते भए । गत वर्ष नै जिरीखिम्ती–म्याङलुङबीचको गढी भीरको साँघुरो सडकमा औंसी डाँडातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।

Yamaha

यही सडक भएर धरान जाँदै गरेको बस दुई वर्षअघि सिंधुवा नजिक दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित २० जनाको मृत्यु भएको थियो । ३० जना घाइते भए ।

यो सडक खण्डमा यीबाहेक दुर्घटनामा परेका साना सवारी र ट्याक्टरको सूची लामो छ । यो संख्या प्रत्येक महिना बढिरहेको छ । सबै दुर्घटनाको मुख्य कारण सडकको दूरवस्था हो । जिल्ला सदरमुकाम जोड्ने एकमात्र वसन्तपुर–म्याङलुुङ २६ किलोमिटर सडकमा ज्यान गुमाउने र सास्ती भोग्नेहरूको सूची निकै लामो छ ।

करोडौं रकम खर्चेर पटक–पटक कालोपत्रे र मर्मत गरिए पनि यो सडकमा अहिले सवारी गुडदैनन् । समयमै अस्पताल पुग्न नसक्दा धेरै जिल्लावासीले अकालमा ज्यान गुमाइरहेको पूर्वजिविस सभापति किशोरचन्द्र दुलालले बताए । हिलो र कच्ची सडकमा सवारी दुर्घटनाको संख्या पनि बर्सेनि बढिरहेको जिल्ला ट्राफिक प्रमुख योगेन्द्र दाहालले बताए ।

मर्मत सम्भारको काम गुणस्तरीय नहुँदा चित्रे–म्याङलुङ खण्डमा वर्षात्मा पैदल यात्रा गर्नै सकस छ । क्षमताभन्दा बढी भार भएका सवारीले पनि सडक भत्काउने गरेका छन् । पूर्वी तराईबाट आयात हुने निर्माण सामग्री सिमेन्ट, रड, बालुवा, इँटा, गिट्टी, पुल तथा सडकका भारी सामानले सडक भत्काउने गरेको छ । यस्तै पहाडबाट तराई निर्यात हुने काठका गोलियालगायत बढी भार बोकेर गुड्ने सवारीले पनि सडक बिग्रिरहेको छ ।

राजमार्गको चित्रेदेखि म्याङलुङसम्मको ३० किलोमिटर खण्डमा ६ हजार बढी खाल्डा छन् । सडकमा परेका खाल्डा र हिलोका कारण पूर्वी तराईबाट आएका सवारी बीच बाटोमै सातासम्म थन्किने गरेको यातायात कर्मचारी दयाराम ढकालले बताए । साना सवारी गुड्न सक्ने अवस्था छैन । सडकमा प्रत्येक दिन क्षति बढिरहेको भए पनि यसको रोकथाम र मर्मत सम्भारको पहल कतैबाट भएको छैन । अत्यधिक भार लिएर गुड्ने सवारीलाई ट्राफिक प्रहरीले जरिवाना काट्नेबाहेक अन्य कारबाही गरेको देखिँदैन ।

सडक मर्मत सम्भारको नाममा करोडौं रुपैयाँ खर्च भइरहे पनि ठेकेदारले राम्रो काम नगर्दा सडकको अवस्थामा सुधार हुन नसकेको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख विष्णुप्रसाद काफ्लेले बताए । सडकमा ठूला खाडल परेको र हिलोले पूर्वी तराईदेखि वसन्तपुर हुँदै तेह्रथुमको म्याङलुङ, औंसीडाँडा, हलिमेला, संखुवासभाको गुफा, चैनपुर, खाँदबारी, मानेभन्ज्याङ, ताप्लेजुङको साँघुलगायतका स्थानतर्फ जाने सवारी ठाउँ ठाउँमा रोकिएका छन् । पूर्वी तराईबाट धनुकटाको सिंधुवा हुँदै तेह्रथुमको शुक्रबारेतर्फ गुडेका सवारी पनि बीचबीचमा रोकिएका छन् ।

सडक हिलो भएर सवारी फस्ने गरेपछि पहाडका किसानले उत्पादन गरेको ताजा तरकारी र दूध ढुवानीमा समस्या हुँदै आएको छ । किसानले उत्पादन गरेको आलु, बन्दा, मूला, काउली, दूधलगायतका कृषि उत्पादन समयमा बिक्री गर्न नपाउँदा दैनिक करोडौं रुपैयाँको नोक्सान भइरहेको किसानको गुनासो छ । सडक निर्माण र मर्मत सम्भारमा लापरबाही र ढिलासुस्ती गर्दासमेत स्थानीय प्रशासन, राजनीतिक दलका अगुवा र जनप्रतिनिधिले पनि प्रभावकारी काम गर्न सकेका छैनन् । कांग्रेस सभापति गोविन्द ढुंगानाले आफूहरूको गुनासो सडक डिभिजन र ठेकेदारले नसुनेको भन्दै उल्टै गुनासो गरे ।

ठेकेदार कुनै न कुनै दलमा आबद्ध हुने भएकाले पनि समस्या भएको उनले बताए । समयमा काम सम्पन्न नगर्ने र गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाएको सडक डिभिजन कार्यालयले जनाएको छ । तर, कारबाही भएको देखिँदैन ।

तीन दशकभन्दा बढी समयदेखि निरन्तर निर्माण भइरहेको यो सडकमा अहिलेसम्ममा कति रकम खर्च भयो भन्ने यकिन तथ्यांक सम्बन्धित निकायसँग छैन । यो सडक निर्माण र स्तरोन्नतिमा सडक विभाग, अर्थ मन्त्रालय, बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डिफिड) तथा अन्य दातृ निकायले समेत बर्सेनि रकम खर्च गर्दै आएका छन् ।

सडक डिभिजनका इन्जिनियर र ठेकेदारको मिलेमतोमा सामान्य प्रकृतिको झारा टार्नमात्र काम हुने गरेको उद्योग वाणिज्य संघ वसन्तपुरका अध्यक्ष रोशन सुवेदीले बताए । सडक निर्माणको गुणस्तर मापन गर्ने छुट्टै आधिकारिक निकाय नभएसम्म सडक सुधारको काम राम्रो नहुने थापाको भनाइ छ ।

प्रकाशित : भाद्र ४, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

माछा मार्ने मेला

गणेश चौधरी

टीकापुर — टीकापुर नगरपालिका–७ की लौटी थारू एकाबिहानै हेल्का र डिलिया लिएर माछा मार्न निस्किइन् । उनीसँगै छिमेकका अरू पनि मिस्सिए । खोलाको पानी बढेर झरन र खेतमा आएपछि लौटीलगायतका थारू महिला घर नजिकै सडक किनारको झरनमा पुगे ।

‘माछा मार्न मजा लाग्छ । गाउँका साथीसंगी सबै हुँदा त झन् रमाइलो, मेला नै लाग्छ,’ माछा मार्दै लौटीले भनिन् ।

वर्षे सिजन । खाल्डाखुल्डी, खोलानाला जताततै पानी छ । पानी भएपछि माछा हुने नै भए । थारू महिला आजकाल सडक किनारका खाल्डाखुल्डी होस् या झरन अथवा खोलानाला सबैतिर माछा मारिरहेका देखिन्छन् । टीकापुर नगरपालिका–१ वनगाउँका बडघर जितबहादुर चौधरी भन्छन्, ‘थारूसित सीप पनि छ, जाँगर पनि । त्यसै बस्नुभन्दा माछा मार्‍यो, मिठो तरकारी खायो ।’ रोपाइँ सकेर फुर्सदिला भएका थारू महिलाहरू पानी परेको दिन त्यसरी जम्मा हुँदा गाउँमा माछा मार्ने ‘मेला’ लाग्छ ।


थारूहरूले माछा मार्न विभिन्न थरीका आफैंले बनाएका औजार प्रयोग गर्दै आएका छन् । पानीको बहावअनुसार यी औजारको प्रयोग हुने उनीहरू बताउँछन् । बडघर जितबहादुरका अनुसार थारूहरूले माछा मार्न हेल्का, पखै, खोङघ्या, तापी, ढरिया, जाल, चिउढी, भुर्कालगायत प्रयोग गर्छन् । महिलाले विशेषगरी हेल्का, पखै र तापी प्रयोग गर्छन् भने पुरुषले खोङघ्या, ढरिया, जाल र चिउढी प्रयोग गरी माछा मार्ने गरेका छन् । यी औजारको प्रयोगबाहेक थारूहरूले बाँध बाँधेर स–साना तालतलैया सुकाउने पनि गर्छन् । स–साना तालतलैयाको पानी भाँडाले दिनभरि फालेर पनि माछा मार्ने उनीहरूको परम्परा छ ।


थारू समुदायले सबैजसो चाडपर्वमा माछालाई मुख्य परिकार मात्र नभई सगुन मान्दछन् । चाडपर्व आउँदा यो समुदायका सदस्यहरू आवश्यकताअनुसारको औजार बोकेर खोलानालातिर लाग्छन् । जानकी गाउँपालिका–३ का छोटेलाल चौधरीले भने, ‘माछा हामी थारूहरूको सगुन हो । चाडपर्वमा यो चाहिन्छ । विशेषगरी माघी, दसैंजस्तो पर्वमा त यो अनिवार्य नै हुुनुपर्छ । विवाहमा त सगुनका रूपमा माछा बोकेरै बरात जानुपर्छ ।’

उनका अनुसार दसैंमा आफ्ना पितृलाई चढाउन सुकाएको माछा नभई हुँदैन । छोटेलालले भने, ‘अष्टिम्की, अतवारीजस्ता व्रत पर्वमा दरखान पनि माछा चाहिन्छ ।’

बडघर जितबहादुरले पाहुनाको स्वागत/सत्कारमा पनि थारू समुदायमा माछा अनिवार्यजस्तै मानिने बताए । ‘पाहुनाका लागि पनि पहिलेपहिले थारूका घरमा माछा सुकाएर राख्ने चलन थियो,’ उनी भन्छन् ।

माछा मार्ने काम मनोवैज्ञानिक हिसाबले पनि महिलाका लागि महत्त्वपूर्ण मानिन्छ । अधिवक्ता सर्जुप्रसाद चौधरीले भने, ‘अक्सर घरबाट बाहिर निस्कन नपाउने महिलाहरू माछा मार्ने बहानामा पनि घर बाहिर जान पाउँछन् । गाउँका साथीसंगीसँगै माछा मार्दा उनीहरूबीच दु:खसुखका गफ पनि हुन्छन् । आफ्ना पीडा अरूलाई सुनाउँछन् । यसले उनीहरूको मन हलुको बनाउँछ ।’


माछाले थारूमाथि शासन
थारू समुदायको माछासितको लगाव थाहा पाएर विगतमा थारूहरूमाथि शासन गरिएको इतिहास पनि रहेको थारूहरू बताउँछन् । टीकापुर नगरपालिकाका पूर्वउपमेयर लालबहादुर चौधरीले भने, ‘पञ्चायतकालमा कोही थारू उम्मेदवारलाई हराउनु छ भने खोलानालामा विष हालिदिन्थे । विषले खोलानालाका माछा मर्ने भएकाले थारूहरू भोट हाल्न जानुको साटो माछा टिप्न जान्थे । पहाडी समुदायका उम्मेदवारले चुनाव जित्थ्यो ।’ विगतमा रोपाइँका बेला धानका गह्रामा प्रशस्त साना माछा पाइने गरेकोमा आजकाल गंगटा, भ्यागुतासमेत पाउन गाह्रो भएको लालबहादुर बताउँछन् ।

प्रकाशित : भाद्र ४, २०७५ ०७:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT