२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

गुणस्तर सुधार्न सूचना प्रविधिको सहारा

देवनारायण साह

मोरङ — सीमावर्ती गाउँपालिका जहदाले सूचना प्रविधि प्रयोग गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने प्रयास थालेको छ ।

गुणस्तर सुधार्न सूचना प्रविधिको सहारा

गाउँपालिकाले विद्यालयहरूमा ‘स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस एकेडेमिक’ सफटवेयर जडान गरेको छ । मोबाइल र कम्प्युटरमा लाग्ने उक्त सफटवेयरमा विद्यार्थी, शिक्षक र कर्मचारीको प्रोफाइल बनाएर उनीहरूले गरेको हरेक क्रियाकलापको निगरानी गरिने जनाइएको छ ।

जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले खस्कँदो शैक्षिक गुणस्तर सुधारका लागि सूचना प्रविधि प्रयोगमा ल्याएको बताए । ‘गाउँगाउँमा रहेको प्रत्येक विद्यालयमा पुगेर दैनिक अनुगमन गर्न सकिने अवस्था नभएकाले सूचना प्रविधि उपयोग गरेका हौं,’ उनले भने, ‘यसले घर बसेर अभिभावक, नागरिक, समाजलगायत जोसुकै सरोकारवालाले विद्यार्थी, शिक्षक र विद्यालयको हरेक क्रियाकलापको अनुगमन गर्न सक्ने सुविधा प्राप्त भएको छ ।’

गाउँपालिकाको बजेट सबैभन्दा बढी शिक्षामा नै खर्च भइरहेको तर प्रतिफल नदेखिएकाले विद्यालयको अध्ययनस्तरको मापन, नियमन, गुणस्तर कायम गर्न प्रविधिको प्रयोग गरिएको अध्यक्ष मण्डलको भनाइ थियो । उनले यस प्रविधिले यहाँका विद्यालयहरूको शिक्षामा गुणात्मक विकास हुने अपेक्षा रहेको सुनाए ।

‘इम्पेटस टेक्नोलोजी नेपाल प्रालिले निर्माण गरेको स्टुडेन्ट प्रोफाइल रिसर्च एनालाइसिस एकेडेमिक सिस्टम पहिलो चरणमा गाउँपालिकास्थित ८ माध्यमिक र ८ आधारभूत विद्यालयमा जडान गर्ने योजना छ,’ उनले भने, ‘यो सफटवेयरको सकारात्मक प्रभाव देखिए अर्को चरण गाउँपाकिलास्थित ३० वटै विद्यालयमा जडान गर्छौं ।’

उनले इम्पेटसले दुर्गा मावि जहदा ५, सार्वजनिक मावि जहदा ४, लक्ष्मी आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय जहदा ४ र बाल आधारभूत विद्यालय जहदा १ मा सफटवेयर जडानको काम सम्पन्न गरेको बताए । अध्यक्ष मण्डलले उक्त ५ वटै विद्यालयमा उक्त सफटवेयरलाई सोमबार स्विच अन गरेर सुचारु गरे ।

उनका अनुसार ती ५ वटा विद्यालयमा एक हजार नौ सय ८१ विद्यार्थी छन् । प्रति विद्यालय सफटवेयर जडान गरी सञ्चालन खर्च एक लाख २५ हजार इम्पेटसलाई प्रदान गरिएको उनले बताए ।

इम्पेटसका प्रदेश १ प्रमुख रेवती निरौलाका अनुसार यस सफटवेयरले विद्यालयका प्रत्येक शिक्षक, कर्मचारी र विद्यार्थीको प्रोफाइल, शिक्षक र विद्यार्थीको प्रत्येक घन्टीको हाजिरी, गृहकार्य, अतिरिक्त क्रियाकलाप, प्रोजेक्टवर्क, भाषिक शुद्धता, स्वास्थ्य अवस्था, अनुशासन हेर्न मिल्छ ।

विद्यार्थीको साप्ताहिक, पाक्षिक, मासिक, त्रेमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको परिणामसमेत सफटवेयरले बताउने उनले सुनाए । शिक्षकले हरेक क्रियाकलापको मोबाइल एपमा डाटा इन्ट्री गर्नुपर्ने र त्यो गर्न अत्यन्तै सहज रहेको उनले बताए । उनले संसारको कुनै पनि ठाउँबाट आफूले रोजेको विद्यालयको विद्यार्थीको कोड प्रयोग गरेर शैक्षिक अवस्था र विद्यार्थीको रुचिका बारेमा जानकारी लिन सकिने व्यवस्था रहेको बताए ।

‘अघिल्लो सरकारको पालामा विद्यालयको शिक्षा सुधारका लागि गठित कार्यदलले दिएको सुझावअनुसार नेपाल र भारतका आईटी इञ्जिनियरहरू मिलेर सफटवेयर तयार गरेका हुन्,’ उनले भने, ‘कार्यदलले शिक्षक, विद्यार्थी, विद्यालयको अनुगमन, नियमन, शैक्षिक गुणस्तर सुधारबारे गरेको सिफारिसअनुसार हरेक सुविधा सफटवेयरले प्रदान गरेकाले उपयोगी भइरहेको छ ।’

प्रदेश १ मा पहिलोपटक यो सफटवेयर सहदा गाउँपालिकास्थित विद्यालयहरूमा जडानको काम भइरहेको बताए । निरौलाले उक्त सफटवेयर गाउँपालिका, नगरपालिकाको कार्यालय, प्रदेश र संघीय सरकारको सम्बन्धित मन्त्रालयमा समेत जडान गरिने भएकाले त्यहाँबाट समेत अनुगमन र नियमनको काम गर्न सहज हुने बताए ।

अभिभावक तथा सरोकारवालाले गुनासो, सललाह, सुझावसमेत दिन सक्ने र त्यो सबै शिक्षक, विद्यालय, स्थानीय तह, प्रदेश र संघीय सरकारसम्म पुग्ने भएकाले त्यसको कार्यान्वयन प्रभावकारी हुने उनको दाबी छ ।

दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक जयप्रसाद साहले विद्यालयमा जडान गरिएको सफटवेयर प्रभावकारी भएको बताए । ‘यसले विद्यालय, शिक्षक र विद्यार्थीलाई जहाँबाट पनि अनुगमन गर्न सक्ने भएको छ,’ उनले भने, ‘शिक्षक र विद्यार्थीले दिनभरिमा के गरे त्यसको बारेमा कसैले कसैलाई बताइरहनु नपर्ने भएको छ त्यो सबै मोबाइलबाटै जानकारी प्राप्त हुने सुविधा प्राप्त भएको छ ।’

प्रकाशित : भाद्र ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?