कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धमाधम कर घटाउँदै स्थानीय तह

अर्जुन राजवंशी

दमक — चौतर्फी आलोचना भएपछि स्थानीय तहहरूले अहिले कर संशोधन तथा छुट दिने निर्णय गर्न थालेका छन् । सामान्य सेवा लिन पनि स्थानीय तहहरूमा कर तिर्नुपर्ने व्यवस्था गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

धमाधम कर घटाउँदै स्थानीय तह

मोरङको सुन्दरहरैंचा नगरपालिकाले विभिन्न १८ वटा शीर्षकमा कर संशोधन गरेको छ । नगरपालिकाले १५ वटामा नि:शुल्क तथा ३ वटा शीर्षकमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । नगरपालिकाले पञ्चेबाजा दर्ता, अपांगता भएका व्यक्तिको सिफारिस, जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद, वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको सिफारिस नि:शुल्क गरेको मेयर शिवप्रसाद ढकालले बताए ।

यसै गरी आगलागी, अल्पसंख्यक, दलित, गरिब, पिछडावर्गका लागि नागरिकता सिफारिस, सबै प्रकारका अनुसूची फारम, कृषिमा आधारित सहकारी, शवयात्रा वाहन, वारुण यन्त्र र इन्टरनेट सेवाबापतको कर नि:शुल्क गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले महिलाका नाममा दर्ता भएको व्यवसायमा २० प्रतिशत, विद्यार्थीका लागि गरिने सबै सिफारिस र २५ लाखसम्मका उद्योग सिफारिसमा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेको छ । ‘जनताको भावनाको कदर गरेका छौं,’ मेयर ढकालले भने, ‘यो निर्णयले गरिबीको रेखामुनि रहेका नगरवासी बढी लाभान्वित हुन्छन् भन्ने हाम्रो बुझाइ छ ।’ यसैगरी मोरङको उर्लाबारी नगरपालिकाले पनि करमा भारी छुट दिने निर्णय गरेको छ । नगरपालिकाले सम्पत्ति करमा मूल्यांकनका आधारमा साबिकको भन्दा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म करको मूल्य घटाएको छ ।

जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदको दर्ता नि:शुल्क गर्ने निर्णय गरेको छ । फलफूल तथा खुद्रा व्यापारीबाट व्यवसायको प्रकृति हेरेर वर्गीकरणका आधारमा कर निर्धारण गरेको छ । उक्त व्यवसायमा पनि ५० प्रतिशतसम्म कर छुट दिने निर्णय सभाबाट पारित भएको छ ।

विशेष नगरसभाले करमा छुट दिने निर्णय गरेको मेयर खड्ग फागोले बताए । नगरपालिकाले नगरभित्र प्रयोग हुने निर्माण सामग्रीको मूल्य पनि घटाएको छ । नगरपालिकाले नगरभित्र प्रयोग हुने गिटी, बालुवा, मिक्स गिटी, ढुंगाको मूल्यमा ३० प्रतिशतसम्म मूल्य घटाएको छ ।

निर्माण सामग्रीको मूल्य समायोजनले नगरवासीले ठूलो राहत पाउने मेयर फागोले बताए । ‘हामी यो निर्णयलाई कडाइसाथ कार्यान्वयन गर्नेछौं । यसले नगरभित्र थोरै बजेटमा धेरै विकास निर्माणको काम गर्न सहयोग पुग्ने छ,’ फागोले भने । नगरपालिकाले नगरभित्र मजदुर, प्राविधिक तथा कामदारको सेवा शुल्कको दररेटमा भने वृद्धि गरेको छ । कामदारको दैनिक ज्याला जिल्ला दररेटभन्दा नगरभित्र वृद्धि गरेको मयेर फागोले बताए । फागोले दैनिक ज्याला गर्ने कामदारको उचित मूल्यांकन र उनीहरूको जीविकोपार्जनमा सहजता ल्याउन स्थानीय दररेटमा वृद्धि गरेको बताए ।

झापाको दमक नगरपालिकाले पनि केही शीर्षकमा कर छुटको निर्णय सार्वजनिक गरेको छ । नगरपालिकाले व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता परिचयपत्र तथा हकवालासम्बन्धी सिफारिस, अपांगतासम्बन्धी परिचयपत्र तथा सिफारिस, ज्येष्ठ नागरिक परिचयपत्र तथा सिफारिस नि:शुल्क गर्ने निर्णय गरेको छ ।

भाद्र ३ गते बसेको बोर्ड बैठकले छात्रवृत्ति, विपन्नता, असहाय तथा आर्थिक अवस्था कमजोर भएको सिफारिस, औषधि उपचारसम्बन्धी सिफारिसलगायत ८ वटा शीर्षकमा सेवा शुल्क नलिने निर्णय गरेको उपमेयर गीता अधिकारीले जानकारी दिइन् ।

नगरपालिकाले दलित परिवारलाई बच्चा जन्मँदा प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ । उपमेयर अधिकारीले बच्चा जन्मिएको ३५ दिनभित्र जन्म दर्ता गराएमा दलित परिवारलाई नगद एक हजार रुपैयाँ प्रोत्सहानबापत उपलब्ध गराउने बताइन् ।

प्रकाशित : भाद्र ७, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?