कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेक्युरिटी गार्डको हत्या

मोरङ — विराटनगर २ स्थित बिक्की हार्डवेयर पसलमा भदौ २ को राति सेक्युरिटी गार्ड ५१ वर्षीय टंकप्रसाद भट्टराईको हत्या पैसा लेनदेनको विवादमा भएको खुलेको छ । उनको हत्या आरोपमा विराटनगर ४ जामुनगाछीका २६ वर्षीय संजय सहनीलाई प्रहरीले आइतबार पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

सेक्युरिटी गार्डको हत्या

विराटनगर ४ घर भएका भट्टराई र बिक्की हार्डवेयर लगायतका पसलमा ठेलामा सामान ल्याउनेलग्ने सहनीको बीचमा पैसा लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको जिल्ला प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले पसलमा भएको सिसिटिभी फुटेजमा घटना भएको दिन सहनी ३/४ पटक ओहोरदोहोर गरेको देखिएको बताए ।


‘घटना भएपछि शंकास्पद व्यक्तिहरू ११ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै सिसिटिभी फुटेज पनि अध्ययन गर्ने काम सँगसँगै अघि बढायौं,’ उनले भने, ‘सिसिटिभी फुटेजमा सहनी ३/४ पटक अस्वभाविक मुद्रामा ओहोरदोहोर गरेको देखिएपछि शंका लागेर निगरानी गर्न थाल्यौं ।’ घटना उसैले गरेको अनुसन्धानले देखाएपछि आइतबार बिहान सहनीलाई विराटनगर १५ रानीबाट नियन्त्रणमा लिएको केसीले बताए ।


‘घटनाको प्रकृति र सहनीले दिएको बयान हुबहु मिल्यो,’ उनले भने, ‘सहनीले भनेकै ठाउँबाट हत्यामा प्रयोग भएको छड र फलामसमेत बरामद भएको छ ।’ उक्त छड र फलाममा लागेको रगत जाँचका लागि फरेन्सिक ल्याबमा पठाएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको केसीले बताए ।


पैसाको विषयमा विवाद भएपछि आवेशमा आएर सहनीले भट्टराईलाई हातले पछाडितिर धक्का दिँदा टाउको पर्खालमा ठोकिएको थियो । टाउको पर्खालमा ठोकिँदा भट्टराईले हल्ला गर्न थालेपछि सहनीले छड र फलामले कुटेर हत्या गरेको प्रहरी उपरीक्षक केसीले बताए । सहनी र भट्टराईबीच लामो समयदेखिको चिनजान रहेको थियो । सहनीले भट्टराईसँग भएको पैसा र मोवाइल लिएर गएको अनुसन्धानबाट खुलेको छ ।


निरवकुमार अग्रवालले सञ्चालन गरेको हार्डवेयर पसलमा कार्यरत भट्टराईको शव भदौ ३ को बिहान वीभत्स अवस्थामा फेला परेको थियो । हार्डवेयरमा ५ कर्मचारी र ४ मजदुर कार्यरत थिए । उनीहरू सबै शनिबार छुट्टीमा बसेका र भट्टराई मात्र रात्रि सुरक्षाका लागि खटिएका थिए ।

प्रकाशित : भाद्र १०, २०७५ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?