भालु आतंकले रातभर जाग्राम

खेतबारीको मकै लगायत अन्य कृषि उपज भालुले सखाप पारेपछि गाउँले एकै ठाउँ जम्मा भएर रात बिताउँदै
दीपेन्द्र शाक्य

संखुवासभा — भालुको आतंक बढेपछि मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रका स्थानीय रातभर जाग्राम बस्न थालेका छन् । कृषकले खेतबारीमा लगाएको मकै र अन्य कृषि उपज भालुले सखाप पारेपछि गाउँले एकै ठाउँ जम्मा भएर रात बिताउने गरेका हुन् ।

भालु लखेट्न गाउँभरिका मान्छे कुकुरसहित होहल्ला गर्दै भेला हुने गरेका छन् । खेतबारीमा लगाएको मकै खान नपाएपछि भालुले मान्छेलाई आक्रमण गर्न थालेको स्थानीय बताउँछन् । गएको आइतबार सोलुसम्बुको महाकुलुङ गाउँपालिका ३ बोक्सुवारमा भालुको आक्रमणबाट पासाङदावा शेर्पा घाइते भए । खेतबारीमा लगाएको मकैको सुरक्षाका लागि बसेका उनी भालुको आक्रमणबाट घाइते भए ।

भालु मकै खानका लागि दिनको समयभन्दा रातको समयमा बढी आउने गरेको स्थानीयले बताएका छन् । केही समय अघिसम्म दिउँसो आउथ्यो, धेरै मान्छे देखेपछि राति आउन थालेको छ, उनले भने, ‘भालु लखेट्न होहल्ला गर्दै कराउँदा उल्टै घाइते बने, अरू गाउँलेहरू आएर बचाए । मकै खान ठूलो बथान आउन थालेको छ । मकैबारीमा दुई/चार जना मात्रै जान हुँदैन, धेरै ठूलो समूह भएमा मात्रै जानुपर्छ, उनले भने, ‘अब बाली हैन ज्यान जोगाउन गाह्रो भयो ।’

Yamaha

यसअघि पनि छेस्कामका धेरै जनालाई भालुले आक्रमण गरेर घाइते बनाइसकेको स्थानीयले बताए । भालुको आक्रमणबाट बर्सेनि धेरै घाइते हुने गरेको शेर्पाले टेलिफोनमा जानकारी दिए । भालुको आक्रमणबाट गम्भीर घाइते भएका शेर्पाको शरीरका विभिन्न भागहरूमा ठूल्ठूला चोट र घाउ भएको छ । उनको तत्कालै सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनुपर्ने भए पनि गाउँले जडिबुटीको भरमा घरमा नै उपचार गराइरहेका छन् ।

उपचार गर्न जान गाउँदेखि ५/६ घण्टा टाढा रहेको स्वास्थ्य चौकी पुग्नुपर्छ । हिँडेर जान सकिँदैन, गाउँका साथीभाइलाई बोकाएर लैजान गोरेटो बाटो समेत राम्रो छैन । बोक्ने सक्ने बलियो मान्छे पाउन पनि मुस्किल छ । गाउँमाथिबाट मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रले ढाकेको छ । निकुञ्ज क्षेत्रमा वन्यजन्तुहरू प्रशस्त छन् । वन्यजन्तु मार्‍यो भने उल्टै कानुन लाग्छ भनेर वन्यजन्तुको हानिनोक्सानी सहन बाध्य भएको उनले बताए ।

मानवीय सुरक्षा पहिलो आवश्यता हो, उनले भने, ‘आत्मरक्षा र पशु तथा अन्नबालीको सुरक्षाका लागि मध्यवर्ती क्षेत्रको संवेदनशील क्षेत्रमा बसोबास गर्ने सबैलाई समस्या छ ।’ सरकारले वन्यजन्तुको संरक्षण गर्न आवश्यक छ, उनले भने, ‘स्थानीयको पीडा र पीरमार्कासमेत कसैले बुझेको छैन ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा भालु मात्रै नभई बाँदर र चितुवा लगायत अन्य जंगली जनावरको समेत बिगबिगी बढेको छ । जसका कारण निकुञ्ज क्षेत्रभित्रका स्थानीयहरूले वार्षिक रूपमा ठूलो हानि नोक्सानी व्यर्होर्न बाध्य भइरहेका छन् । निकुञ्ज क्षेत्र संखुवासभा र सोलुखुम्बुमा फैलिएको छ ।

निर्देशिकामा पशुधन र अन्नबालीमा भालुले पुर्‍याएको नोक्सानीमा भने क्षतिपूर्तिको व्यवस्था छैन । भालुका कारण स्थानीयबासी सधैं आतंकित छन् । घाँसदाउरा र हिँडडुलका लागि वननजिक जानसमेत समस्या हुने स्थानीयको भनाइ छ ।

क्षतिपूर्ति दिनेमात्र नभएर भालुबाट मानिस र खेतीबालीलाई नै सुरक्षित गर्ने कार्यक्रम ल्याइनुपर्ने उनीहरूले माग गर्दै आएका छन् । मृग, दुम्सीलगायतका अन्नबाली खाइदिने अन्य वन्यजन्तुबाट पनि आफूहरू पीडित बन्दै आएको स्थानीयहरूको गुनासो छ । वन्यजन्तुका कारण आफूहरूको जीविका नै नराम्ररी प्रभावित बनिरहेको उनीहरूको भनाइ छ ।

यसले गर्दा कालोभालुको संरक्षणमा पनि चुनौती थपिने देखिएको छ । क्षति पुर्‍याउने भएपछि स्थानीयहरूले विष प्रयोग गरेर वा पासो थापेर भालु मार्ने गरेको समाचार बेला–बेला बाहिर आउने गरेको छ । अन्नबाली, घरपालुवा जनावर र मानिसमाथि हुने आक्रमणबाट जीविकोपार्जनमा समेत परेको असरका कारण भालुप्रति स्थानीयहरूको सोचमा नकारात्मक असर परिरहेको निकुञ्जले औंल्याएको छ ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्

सुर्खेतमा प्रहरीका ७ प्रादेशिक कार्यालय

क्षेत्रीय अवधारणा अनुसार कार्यालयहरू सुर्खेतमा सार्न थालिएको छ
कान्तिपुर संवाददाता

सुर्खेत — नेपाल प्रहरीले आफ्ना युनिटहरूलाई प्रादेशिक संरचनामा रूपान्तरण गर्न प्रक्रिया थालेको छ । प्रदेश राजधानी सुर्खेत कायम भएसँगै प्रहरीले यहाँ आफ्ना आधा दर्जन संरचना निर्माण गर्न लागेको हो ।

क्षेत्रीय अवधारणाअनुसार नेपालगन्जमा रहेका कार्यालयहरू सुर्खेतमा सार्न थालिएको छ । प्रदेश प्रहरी कार्यालय र गण यसअघि नै वीरेन्द्रनगरमा स्थापना भइसकेका छन् । पूर्वी सुर्खेतको छिन्चुमा कर्णाली ट्राफिक प्रहरी कार्यालय, प्रहरी तालिम केन्द्र र नेपाल प्रहरी आवासीय माध्यमिक विद्यालय स्थापना गरिनेछ । ट्राफिक कार्यालय कोहलपुरबाट र तालिम केन्द्र नेपालगन्जबाट स्थानान्तरण हुनेछन् । विद्यालय नयाँ स्थापना हुन लागेको हो ।


प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मोहन आचार्यले आवश्यक संरचनाका लागि जग्गा खोजी गर्ने काम भइरहेको बताए । उनका अनुसार तत्काललाई जिल्ला ट्राफिक कार्यालयबाटै प्रदेश ट्राफिक कार्यालय सञ्चालन गरिनेछ । नेपालगन्जमा रहेका दंगा नियन्त्रण प्रहरी गण र भेरी अञ्चल प्रहरी कार्यालय संघीय प्रहरी इकाईमा रूपान्तरण भएर स्थापना हुने क्रममा छन् ।


इकाईले केन्द्रीय निर्देशनको परिपालना र प्रदेश मातहतका कार्यालयमा आवश्यक दक्ष प्राविधिक जनशक्ति खटाउने भूमिका निर्वाह गर्नेछ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतमा रहने प्रादेशिक प्रहरी कार्यालयले भविष्यमा कुनै ठूला घटना भएमा त्यसको अनुसन्धान गर्न आवश्यक जनशक्ति पठाएर समन्वय गर्नेछ ।

मन्त्रालयले पनि प्रदेश प्रहरीलाई व्यवस्थित र प्रभावकारी बनाउन बजेट विनियोजन गरिसकेको छ । वीरेन्द्रनगरमा प्रहरीको नयाँ कार्यालय कुकुर शाखा र नेपालगन्जबाट स्थानान्तरण हुने ब्यान्ड गुल्म पनि स्थापना हुनेछ । एसएसपी आचार्यले संघीय संरचनाबमोजिम प्रदेशस्तरमा प्रहरीलाई आवश्यक पर्ने संरचनाहरू क्रमिक रूपमा स्थापना हुन लागेको बताए । ‘सबै संरचना स्थापना हुन कम्तीमा दुई वर्ष लाग्न सक्छ,’ उनले भने, ‘सात वटै कार्यालयका लागि आवश्यक पर्ने जग्गाको टुंगो लाग्दै छ ।’ प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरीलाई थप कार्यालयहरू राख्न उपयुक्त स्थान छनोट गर्न पत्राचार गरेको थियो ।


यसअघि जुम्लामा रहेको कर्णाली अञ्चल प्रहरी कार्यालयलाई मर्ज गरेर सोही ठाउँमा विपद् व्यवस्थापन कार्यदल राखिएको छ । ५० जना प्रहरीसहितको कार्यदलको नेतृत्व प्रहरी निरीक्षकले गर्नेछन् । तीन जिल्लामा थप ‘क’ वर्गका नयाँ इलाका प्रहरी कार्यालयहरू स्थापना गरिएको छ । सुर्खेतको लेकबेंसी नगरपालिका, कालीकोटको पाँचलझरना गाउँपालिका र सल्यानको दार्मामा इलाका प्रहरी कार्यालय स्थापना गरिएको हो ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT