कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देवनागरी लिपिका नयाँ फन्ट

सुनसरी — कम्प्युटर, ल्यापटपमा टाइप गरिने सयौं नेपाली फन्टको विकल्पमा देवनागरी लिपिका १७ नयाँ डिजिटल फन्ट थपिएका छन् । धरान उपमहानगर १५ बाँझोगरा, हाल विराटनगर–४ खार्जीमा बस्दै आएका ६२ वर्षीय जीवनध्वज राईले नयाँ फन्ट सार्वजनिक गरेका हुन् ।

देवनागरी लिपिका नयाँ फन्ट

नेपाली फन्टसहित उनले अंग्रेजीका ८ फन्ट पनि डिजाइन गरेर सार्वजनिक गरेका छन् । उनी ३१ वर्षसम्म भारतीय गोर्खा सेनाको इलेभेन जीआरमा रहेर क्याप्टेन पदमा सन् ००७ सालमा अवकाश लिएका फन्ट डिजाइनर हुन् ।

‘हाल चलनमा रहेका र प्रयोग गरिएका फन्टको परिष्कृत रूप दिन आवश्यकता महसुस गरेर नयाँ फन्ट सिर्जना गरेँ,’ उनले भने । उनका अनुसार नेपालमा प्रयोग भएका फन्टका संयुक्त अक्षरहरू पूर्ण छैनन् । अक्षरका प्राचीन रूप र मात्राहरू सही रूपमा डिजाइन भएका छैनन् । उनले तयार गरेका फन्ट र हाल प्रयोगमा आएका नेपाली फन्टमा धेरै भिन्नता छ ।

उनले भने, ‘मैले डिजाइन गरेका जेडीआर फन्ट शुद्ध टाइपिङ, विशुद्ध उच्चारण, लुप्तप्राय भएका नेपाली अक्षरलाई जीवन्त राख्न र प्राचीन मौलिक अक्षरलाई जोगाउन नै यी फन्टहरू डिजाइन गरेको हो ।’ फन्टमा परनिर्भरता तोडदै टाइपिस्टलाई विविध छनोट गर्न दिनका लागि उनले सिर्जनात्मक फन्ट डिजाइन गरेको बताए ।

राईले ती नेपाली १७ फन्ट र अंग्रेजीका ८ फन्टलाई प्रयोग गर्न चाहनेले इन्टनरेटमा उपलब्ध रहेको जनाए । उनले एक दशक लगाएर तयार पारेका फन्टलाई जेडीआर अमृत, ब्रम्हा, वीरेन्द्र, हर्कवुङ्मा, महालक्ष्मी, महासरस्वती, मेची, कोसी, सगरमाथा, जनकपुर, वागमती, पूर्वाञ्चल, धरहरा, पुष्पाक्षर, विन्दुक्षर, विष्णु, नारायणीलगायत छन् ।

उनले नेपाली र अंग्रेजीबाहेक सिरिजंगा लिपिलाई पनि परिमार्जित रूप दिएका छन् । तर ती फन्ट सार्वजनिक गरेका छैनन् । उनले भने, ‘नयाँ फन्टहरूका अनेक विशेषता समेटिएका छन् । सर्वाधिक अक्षरको समूह भएको फन्ट टाइप हुनुका साथै बहुरूपीय अक्षरको सम्पूर्ण रूप भएको र अत्यधिक संयुक्त अक्षर एउटै ‘कि’ ले टाइप गर्न सकिने गरी बनाएको छु ।’

लेखनको नियमलाई पालना गर्दै कमा, इन्भर्टेड कमा, कोष्ठकचिह्न फन्टसँग मेल खाने गरी फन्टका इन्सर्ट मेनुमा समेत अतिरिक्त अक्षरहरू वर्णानुक्रमअनुसार राखिएकाले तेज गतिमा टाइप गर्न सकिने फन्ट डिजाइनर राईले दाबी गरे ।

क्याप्टेन पदमा अवकाश पाएपछि उनलाई अरू व्यापार व्यवसाय गर्ने वा त्यतिकै बसेर समय कटाउने मन भएन । वृद्ध अवस्थाको समय कटाउनका लागि भारतीय सेनामा रहँदा पहिले नै सिकेको कम्प्युटरको ज्ञानलाई सदुपयोग गर्ने सिलसिलामा फन्ट डिजाइनतिर आकर्षित भएको उनले बताए ।

प्रकाशित : भाद्र १४, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?