कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोपाइँ जात्राको रमझम

जिल्लावासीको साझा पर्व
युवापुस्तामा संस्कृति हस्तान्तरण गर्दै परम्परा चलाउँदै
विप्लव भट्टराई

इलाम — मलेसिया ११ वर्ष बसेर भर्खरै फिरेका इलाम सदरमुकामका बुद्धिमान राई बिहीबार रोपाइँमा साँच्चै व्यस्त देखिए । झिमझिम पानीसँगै बाहुसे गर्न व्यस्त राई अघि गोरुहली र पछि रोपाहर लगाएर धपेडीमा देखिन्थे । लामो समयसम्म विदेशमा विताएका न्यास्रोपन मेटाउन पनि उनलाई यो रोपाइँ रमाइलो लागिरहेको थियो ।

रोपाइँ जात्राको रमझम

गीत लेखनदेखि फुटबल खेलमा व्यस्त हुने सन्तोष भक्तराज गाउँको मुखियाझैं छाता ढल्काएर रोपाइँ नियालिरहेका थिए । बेठी लगाएर रोपाइँ गर्दा मुखियाले सान देखाएर रोपाइँको अवलोकन गर्ने गर्छन् । हली, बाउसे, रोपहार एक सय बढी आ–आफ्नै धुनमा थिए ।


कुनै खेतमा रोपाइँ नभएर ठ्याक्कै रोपाइँको झल्को दिनेगरी हजारौं दर्शकको समेत उपस्थितिमा इलाम बजारमा निकालिएको परम्परागत रोपाइँ जात्राको दृश्य थियो । बर्खाभरिको थकाइ मेटदै एक आपसमा रामाइलो गर्ने उद्देश्यले परम्परादेखि अस्तित्वमा रहेको रोपाइँ जात्रा निकालिँदा ठूलो भीड जम्मा हुनु स्वाभाविक नै हो ।


स्थानीय विद्यालयहरूले बिदा समेत दिइएको यो जात्रा कुनै जाती विषेश नभएर समग्र जिल्लाबासीको पर्वका रूपमा स्थापित हुँदै गएको छ । युवापुस्तामाझ संस्कृति हस्तान्तरण गर्दै परम्परा थेग्ने उद्देश्यले निरन्तरता पाएको जात्रा इलामेकालाई सांस्कृतिक सम्मिलनको पर्व समेत बनेको छ ।


पछिल्लो समयमा पश्चिमा संस्कृतिको प्रवेशसँगै भेटघाट र मन बहलाउने अन्य माध्यम प्रशस्त हुँदा जात्राको रौनक भने घटदो छ । इलाममा नेवार जातिको बसोबास सुरु भएदेखि नै थालिएको यो जात्रालाई पछिल्लो समयमा जिल्लाका सवै समुदायले पर्वका रूपमा मनाउने गरेका छन् ।


‘सबै समुदायले स्वतस्फूर्त उपस्थिति देखाउँदै पर्वका रूपमा यसलाई मनाउने गरिएको छ,’ खोजकर्ता युद्ध वैद्यले भने, ‘जिल्लाकै पहिचानका रूपमा स्थापित भए पनि पुराना कतिपय चलन भने लोप भएका छन् ।’ उनकै भनाइमा पहिला जात्रापछि रातभर लिम्बू जातिको धान नाँच नाच्ने चलन थियो ।


संस्कृतिको जगेर्ना गर्दै पर्यटक आकर्षणका लागि नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा निकालिएको जात्रा हेर्न गाउँगाउँबाट वाक्लो उपस्थिति थियो । लोप भइसकेको बेठी लगाएर रोपाइँ गर्ने चलनको झल्को जात्रामा पाइन्छ ।


ठूलाठालूले बाजागाजासहित ठूलो उपस्थितिमा उत्सवमय रोपाइँ गर्ने चलन ‘बेठी’ बाट प्रभावित भएर यो जात्रा सुरु भएको पाकाहरू बताउँछन् । पुरुषले महिलाको महिलाले पुरुषको अभिनय गर्ने चलन जात्राको विषेशता हो ।


विभिन्न जातजातिका पहिचान झल्कने झाँकी, नाँचगानका साथ रोपाइँजात्रामा मनोरञ्जन दिलाइएको थियो । संस्कृतिको धरोहर मानिने यो जात्राको रौनक पनि पछिल्लो समय घट्दै गएकाले युवाहरू संरक्षणमा लाग्नुपर्ने स्थानीयको भनाइ छ ।


‘पहिलोपटक रोपाहारको भूमिकामा अभिनय गर्दा ठ्याक्कै खेतमा रोपाइँ गरेको अनुभूति भयो,’ मोडलिङमासमेत व्यस्त लक्ष्मी राईले भनिन् । विद्यालय नै बिदा गरेर विद्यार्थीलाई पनि पुरानो चलन जात्रामार्फत सिकाउने गरिएको छ । जात्रामा सहभागी हुन विद्यार्थीबीच पनि तछाडमछाड हुने गरेको छ ।


जिल्लाको पश्चिमी मंगलबारेमा बुधबार रोपाइँजात्रा निकालियो । नाम्सालालिङ, दानाबारी र फिक्कलमा पनि रोपाइँजात्रा निकालिन्छ । जिल्लामा लाखेजात्रा, गाईजात्रा र रोपाइँ जात्रालाई वर्षेनी उत्सवमय बनाइने गरिएको छ ।

प्रकाशित : भाद्र १५, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?