कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहकारी संस्थामा ठगी गर्नेहरु विरुद्ध मुद्दा दायर

३ पक्राउ, ७ जना फरार

विराटनगर — बचत तथा ऋण सहकारी संस्थामा ठगी गर्नेहरु विरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । ५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले संस्थाका ९ जना सञ्चालकविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो ।

सहकारी संस्थामा ठगी गर्नेहरु विरुद्ध मुद्दा दायर

प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार पक्राउ परेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख इन्द्रलाल श्रेष्ठ, सचिव ईश्वर श्रेष्ठ र उपाध्यक्ष विष्णुप्रसाद सुवेदीविरुद्ध मुद्दा दायर गरिएको हो ।


यसैगरी फरार रहेका संस्थाका अध्यक्ष लक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष लीला खनम, सदस्यहरु सन्तोष भनिने तेजप्रसाद ढकाल, गोपाल साह, विमलादेवी भनिने शारदादेवी उदास, अनिल जोशीविरुद्ध प्रहरीले मुद्दा दायर गरेको जनाएको छ ।


संस्थामा बचत गर्नेमध्ये देवीमाया अधिकारीले दिएको उजुरीका आधारमा केहीलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको हो । उजुरीमा संस्थाका सञ्चालकहरुले लामो समयदेखि रकम जम्मा गर्न लगाएको तर रकम लिन जाँदा संस्थाको कार्यालय नै बन्द गरेर फरार रहेको उल्लेख थियो ।


उजुरीपछि प्रहरीले संस्थाका कार्यकारी प्रमुख ईश्वर श्रेष्ठ र उपाध्यक्ष सुवेदीलार्य पोखरामा पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले संस्थाको कार्यालयमा रहेको अभिलेख नियन्त्रणमा लिएको थियो ।


ती अभिलेखका आधारमा २ हजार ८ सय ४१ जनाबाट शेयरबापत ९२ लाख ९० हजार ३ सय रुपैयाँ र अन्य १ हजार २ सय ४० जनाबाट करिब ९ करोड ११ लाख २३ हजार रुपैयाँ जम्मा भएको पाइएको डीएसपी थापाले बताए ।


संस्थाले हालसम्म विभिन्न व्यक्ति र संस्थालाई गरी ३ करोड ३० लाख रुपैयाँ लगानी गरेको कागजातमा भेटिएको प्रहरीले जनाएको छ । बचत गर्ने र शेयर हाल्नेमधये २ सय ६८ जनाले ठगिएको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका छन् ।


अनुसन्धानबाट उक्त संस्थाले ५ करोड ८० लाख ७९ हजार रुपैयाँभन्दा बढी सर्वसाधारणबाट ठगी गरेको पाइएको प्रहरीले खुलाएको छ ।

प्रकाशित : भाद्र १६, २०७५ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?