कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहाडमा टेम्पो सरर...

भोजपुरको सदरमुकामदेखि गाउँसम्म चल्तीमा
स्थानीय नयाँ साधन देखेर चढ्न आकर्षित

भोजपुर — समथर भूमिमा चल्दै आएको टेम्पो अचेल पहाडमा पनि चल्न थालेको छ । टेम्पो सहज साधन भएकाले यात्रुको रोजाइमा परेको छ ।

पहाडमा टेम्पो सरर...

केही महिनायता जिल्ला सदरमुकाम मात्रै होइन ग्रामीण भेगमा पनि तीन पांग्रे यो साधन चल्तीमा छ । नौलो हुने भएकाले यो साधन चढ्न स्थानीय आकर्षित छन् ।

बजार वरपर, सदरमुकाम आसपासका ठाउँहरू, विमानस्थललगायत स्थान आउजाउ गर्न यो साधन बढी प्रयोग हुने गरेको छ । सजिलो र छिटो हुने भएकाले यात्रुको आकर्षण बढेसँगै टेम्पो व्यवसायीलाई ओसारपसार गर्न भ्याइनभ्याइ हुने गरेको छ ।

छोटो दूरीको यात्रा गर्न र साना पसलका सामानहरू ढुवानी गर्न सहज, सुरक्षित, सुलभमात्र होइन स्थानीयलाई रमाइलो साधन समेत बनेको छ । टेम्पोले निकै सुविधा दिएको भोजपुर नगरपालिका ५, बोखिमका व्यापारी हरि प्रधानले बताए ।

‘हाम्राजस्ता साना किराना पसलका सामान ठूला बसले बोक्नै मान्दैनन्, कर गरेर बोके पनि छतमा जथाभावी राखिदिने भएकाले सुरक्षित हुँदैन,’ प्रधानले भने, ‘तर टेम्पोले दुई सय ५० रुपैयाँ तिरेपछि सुरक्षित रूपमा सामान घरैमा पुर्‍याइदिन्छ ।’ उनीजस्ता बजार क्षेत्रमा बसोबास गर्ने बासिन्दाको अचेलको रोजाइ टेम्पो नै हुने गरेको छ ।

भोजपुर सदरमुकाममा टेम्पोले दैनिक रूपमा शनिबारे हटियालाइन, बजार क्षेत्र, पानीट्यांकी, देउराली, टक्सार, हस्पिटल, विमानस्थललगायत स्थानमा यात्रुलाई सुविधा दिएको छ । यस्तै सदरमुकाम आसपास सात किलोमिटर दूरीमा पर्ने बोखिम, भैंसीपंखासम्म यात्रु र सामान ओसारपसार गर्छन् ।

यात्रुको ओइरो लाग्ने सदरमुकाममा टेम्पोले देउरालीदेखि बजार, टक्सार विमानस्थलदेखि चारभञ्ज्याङ बजारसम्म, बजारभित्र वरपर र हटियालाइन, पानीट्यांकीसम्म रिजर्भ गरेर यात्रुले टेम्पो प्रयोग गर्ने गरेको व्यवसायी बताउँछन् । पाँच जनासम्म यात्रु अटाउने टेम्पोबाट दैनिक तीनदेखि चार हजार रुपैयाँसम्म आम्दानी हुने गरेको विदेशबाट फर्किएर सदरमुकाममै टेम्पो चलाइरहेका बोखिमका टेम्पो चालक राजेन्द्र राईले बताए । अरुण गाउँपालिका जरायोटारका देवी गौतम पनि विदेशबाट फर्केका हुन् । ढाइ महिनाअघि ५ लाख रुपैयाँमा किनेर उनी टेम्पो चलाउन थालेका छन् ।

कमाइ राम्रो भइरहेको उनको अनुभव छ । उनले अचेल प्याउलीबजारदेखि धनकुटा लेगुवाबजार, तिवारीभञ्जाङ, ओदाने, भोर्लाबोट, बजार आसपासमा यात्रु ओसारपासार गर्छन् । ‘पहिले काम पनि हुन्थेन, साथिभाइसँग लर्खरियो, बस्यो गर्दै दिन बित्थ्यो’, गोतमले भने, ‘तर अचेल टेम्पो चलाउन थालेदेखि दैनिकी नै फेरिएको छ ।’ जिल्लाको पूर्वी प्याउली क्षेत्रमा सडक पुगेको छ । आसपासका तिवारीभञ्जाङ, चम्पे, चरम्बी, याङपाङ, याकु, जरायोटारका बासिन्दा पनि त्यही क्षेत्र भएर टेम्पो चढ्न आउने गरेका छन् ।


टेम्पो चढ्नलाई विशेषगरी प्याउलीबजारमा शनिबार र बुधबारको दिन ग्रामीण भेगका बासिन्दाको घुइँचै लाग्छ । ग्रामीण भेगमा अझै कच्ची सडक छ । तिनलाई व्यवस्थित गर्न सके अझ बढी क्षेत्रका बासिन्दालाई सजिलो हुने चम्पेनिवासी बबिता राईले बताइन् । डेढ महिनायता सदरमुकाममा ५ वटा, प्याउली र जरायोटारमा एक/एकवटा टेम्पो सञ्चालनमा छन् । यात्रुको चापअनुसार यी साधन पर्याप्त भने छैनन् ।

प्रकाशित : भाद्र १७, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?