कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली सामानले ठगिँदै उपभोक्ता

अनुगमन नहुँदा नक्कली सामान नियन्त्रण हुन सकेन
शृंगारका नक्कली सामग्रीले अनुहार बिग्रिँदा किशोरीमा मानसिक तनाव
डिल्लीराम खतिवडा

उदयपुर — मानव स्वास्थ्यका लागि हानिकारक हुने ‘नक्कली’ चिजवस्तु बजारमा छ्यापछ्याप्ती पाइने गरे पनि नियन्त्रण हुन सकेको छैन ।

नक्कली सामानले ठगिँदै उपभोक्ता

सदरमुकाम गाईघाटलगायत ग्रामीण बजारमा बिक्री गरिने खाद्य, कपडा, तेलमसाल, शृंगार सामग्रीलगायत नक्कलीले कव्जा जमाएको छ । नक्कली वस्तुका कारण सर्वसाधारण ठगीमा पर्नुका साथै उपभोक्ताको स्वास्थ्यमा समेत समस्या पारेको छ ।

बजार बिक्री गरिने दैनिक उपभोग्य वस्तुसँगै साबुन, स्याम्पु, क्रिम, नङपोलिस, पाउडरलगायत बस्तु नक्कली पाइन्छ । बुहराष्ट्रिय कम्पनीले उत्पादन गर्ने सामग्री जस्तै देखिने नक्कली शृंगारका सामग्रीले सर्वसाधारण ठगिँदै आएका हुन् ।

बजार अनुगमन गर्ने निकायले खाद्यान्न लगायत अन्य दैनिक उपभोग्य वस्तुको अनुगमन गरिरहेको हुन्छ । तर सर्वसाधारणले दैनिक प्रयोग गर्ने शृंगार सामग्रीका विषयमा नियमन गर्ने निकायले वास्तै गरेको छैन । बजार अनुगमन प्रभावकारी नहुँदा नक्कली वस्तुको बिक्री गर्ने क्रम दैनिक बढ्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् ।

नक्कली वस्तुको प्रयोगले कपाल झर्ने, अनुहारमा विभिन्न किसिमका घाउखटिरा आउने र शरीर चिलाउने समस्या देखिने गरेको छ । नक्कली सामग्रीले कुरुप हुने गरी अनुहार बिग्रिँदा किशोरीमा मानसिक समस्या समेत उत्पन्न हुने गरेको छ । नक्कली क्रिमको प्रयोगले किशोरीहरूको अनुहारको रूपै बिग्रिँदा समस्यामा परेका हुन् ।

अनुहारमा जथाभावी देखिने दाग, चाया र पोतो हटान प्रयोग गरिने शृंगारका सामग्री नै नक्कली हुदाँ उल्टै अनुहारमा विभिन्न किसिमका समस्या देखा परेको व्युटिसियन कल्पना दाहालले बताइन् ।

‘नक्कली शृंगारका सामग्रीले महिलालाई मात्रै होइन, पुरुषलाई पनि सताइरहेको छ,’ व्युटिसियन दाहालले भनिन्, ‘पछिल्लो समय अनुहारमा चाया पोतो र विभिन्न किसिमका दाग भएका ग्राहक पार्लमा आउने गरेका छन् ।’ यसरी आउने ग्राहकमध्ये झन्डै ७५ प्रतिशतले विभिन्न किसिमको क्रिम प्रयोग गरेर अनुहार बिग्रिएको बताउने गरेको उनले बताइन् ।

ग्राहकले प्रयोग गर्ने वस्तुको अध्ययन गर्दा ती नक्कली भएको व्युटिनिसयन दाहालले बताइन् । बजारमा महिलाले प्रयोग गर्ने लेक्मे, गार्नियर, फेयरएन्ड लब्ली, भ्यासलिन नक्कली भएको उपभोक्ताले गुनासो गर्ने गरेको दाहाल बताउँछिन् ।

‘हेर्दा उस्तै देखिन्छ, त्यसैले सक्कली र नक्कली छुट्याउने समस्या हुन्छ,’ त्रियुगा नगरपालिका ११ गाईघाट बजारकी सीता सुनुवारले भनिन्, ‘दैनिक प्रयोग गर्ने सामग्री नक्कली भएपछि महिलाको अनुहार कुरुप हुने गरेको छ ।’ जिल्लाका मुख्य बजार गाईघाट, बेल्टार, कटारी लगायत ग्रामीण क्षेत्रमा समेत नाम चलेका पसलदेखि ठूला डिपार्टमेन्टर स्टोरमा समेत नक्कली बस्ुतको बिक्री हुने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।

‘बजारमा शृंगारका सामग्री मात्रै होइन, खाद्यान्न, पेय पदार्थ, औषधि लागयत नक्कली पाइन्छ,’ उपभोक्ता सानुकाजी विष्टले भने, ‘सक्कली र गुणस्तरीय वस्ुतको बिक्री गर्दा सोचेजस्तो मुनाफा हुँदैन ।’

त्यसैले व्यपारीले नक्कली बस्तुको बिक्री गर्ने गरेको उनले बताए । ‘नक्कली वस्तुको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ,’ चिकित्सक महेशकुमार सिंहलले भने, ‘महिलाले प्रयोग गर्ने शृंगारका सामग्री नक्कली हुँदा छालासँग सम्बन्धित रोग बढिरहेको छ ।’ हेर्दा सक्कली जस्तै देखिने भएकाले प्रयोग हुने गरेको तर त्यस्ता सामानले एक दुई दिनमै नकारात्मक असर गर्न थाल्ने उनले बताए ।

प्रकाशित : भाद्र १७, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?