कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राधाकृष्ण रथयात्रामा ड्रोन सुरक्षा

प्रदेश सरकारद्वारा सार्वजनिक बिदा

विराटनगर — भक्तजनको उल्लेख्य सहभागिता हुने विशेष पर्व राधाकृष्ण रथयात्रा सोमबार आयोजना हुँदैछ । त्यस अवसरमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी हुने भएको छ ।

राधाकृष्ण रथयात्रामा ड्रोन सुरक्षा

राधाकृष्ण मन्दिरबाट सुरु गरिने रथयात्रा महानगरका विभिन्न क्षेत्र हुँदै मन्दिरमै पुर्‍याएर समापन गरिने छ । आधा शताब्दिदेखि सञ्चालन भइरहेको रथयात्राको तयारी सकिएको आयोजक समितिले जनाएको छ । हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने यात्रामा हजारौंको उत्साहजनक सहभागिता हुने गरेको छ ।

पर्वका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरिसकेको छ । शिक्षण संस्था, कलकारखानालगायत सबैजसो क्षेत्रमा बिदा दिने गरिएको छ । यात्रामा सहभागी हुन र पूजा गर्न महानगरका मात्र होइन मोरङका विभिन्न गाउँ, आसपासका जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट पनि श्रद्धालु आउने गरेका छन् ।

१९८८ सालमा राधाकृष्ण मन्दिरको स्थापना भएदेखि खाटमा राखेर यात्रा सुरु भएको इतिहास छ । ०२५ सालदेखि भने रथ बनाएर विशेष रूपमा यो पर्व मनाउन थालिएको हो । रथमा राधाकृष्णलगायत भगवानको भेषमा बालबालिकालाई आकर्षक रूपमा सजाएर राखिन्छ । विभिन्न देवीदेवताका मूर्तिहरू समेत राखिन्छ । रथयात्रा मूल समारोह समितिका संयोजक तथा राधाकृष्ण मन्दिरका अध्यक्ष बाबुराजा ओझाले सबै तयारी पूरा भएको बताए ।

अपराह्न ४ बजे सुरु हुने यात्रा मुख्य सडक हुँदै जनआन्दोलन चोक, धरान रोड र बरगाछी हुँदै मन्दिरसम्म पुर्‍याइने छ । करिब ७ किलोमिटर दूरी घुमाइने रथ साढे ४ घण्टामा सकिने आयोजकले जनाएका छन् । यस क्रममा पूजा गर्न विभिन्न ४३ ठाउँमा रोकिनेछ । सुनौलो रंगमा प्यागोडा शैलीको १४ फिट चौडा र १८ फिट अग्लो रथ बनाइएको छ । रथको अगाडि दायाँ र बायाँ राखिने ७५ फिट लामो लठ्ठा श्रद्धालु भक्तजनले तानेर यात्रा गराउने छन् ।

रथअघि विभिन्न जातजाति, धर्म संस्कृति झल्कने झाँकी प्रदर्शन गरिने छ । यस्तै भजन मण्डली र प्रदेश १ प्रहरीको ब्यान्ड पनि आकर्षण रहने छन् । यस अवसरमा लोकनृत्य समेत प्रदर्शन गरिनेछ । यात्रा हुने सडक क्षेत्रको अस्थायी मर्मत गरिएको छ । सडक बत्ती व्यवस्थित पारिएको समितिले जनाएको छ ।

ठूलो संख्यामा भक्तजनको सहभागिता हुने भएकाले सुरक्षा व्यवस्था पनि विशेष बनाइने भएको छ । रथयात्राका बेला सुरक्षाका लागिे प्रहरी प्रधान कार्यालयबाट ड्रोन क्यामरासहितको प्राविधिक टोलीको सहभागिता रहनेछ । राधाकृष्ण मन्दिर परिसरमा आइतबार प्रहरी प्राविधिक टोलीले ड्रोन क्यामेरा उडाएर परीक्षण गरेको थियो ।

रथयात्राका अवसरमा कुनै किसिमको अवाञ्छित गतिविधि हुन नदिन व्यापक रूपमा शुरक्षाकर्मी परिचालन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । उनले रथको अघि र पछि सादा पोसाकमा सेनासमेत खटिने बताए । सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनका लागि सशस्त्र प्रहरीसमेत यथेस्ठ मात्रामा परिचालन गरिएको उनले सुनाए ।

मोरङ प्रहरी प्रमुख उपरीक्षक मनोजकुमार केसीले रथयात्रा सुरक्षित रूपमा सम्पन्न गराउनका लागि प्रदेश १ प्रहरी लगायतको १ हजार बढी प्रहरी विराटनगरमा परिचालन गरिएको बताए । ‘रथयात्राको सुरक्षा निगरानी प्रहरी प्रधान कार्यालयबाट आएको प्राविधिक टोलीले गर्नेछ,’ उनले भने, ‘उक्त प्राविधिक टोलीले कुनै ठाउँमा केही शंकास्पद व्यक्ति, बस्तु वा घटना देखिए तत्काल रथयात्रा सुरक्षामा खटिएका प्रहरीलाई सूचना दिनेछ ।’

प्रकाशित : भाद्र १८, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?