राँके बजारमा आगलागीमा करोड बढीको क्षति

विप्लव भट्टराई

इलाम — इलाम र पाँचथरको सीमानामा रहेको राँके बजारमा आइतवार राती भएको आगलागीका कारण करिव २ करोड बढीको क्षति भएको स्थानीय प्रशासनले बताएको छ ।  बजारको इलामतर्फको क्षेत्रमा आगलागी भएको थियो । 

देउमाई नगरपालिका–१ का थालुराम श्रेष्ठको घरमा विद्युत सर्ट भई आगो लागेको प्रहरीले जनाएको छ । यहि क्रममा छिमेकी नरबहादुर श्रेष्ठको घरमा रहेको सिलिन्डर पड्कँदा घरमा क्षति पुगेको छ ।

Yamaha

राति ९ बजे सुरु भएको आगलागी १२ बजे स्थानीयवासी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी र फिदिमवाट पुगेको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणकालागि इलामबाट गएको दमकल भने बाटोमा नै बिग्रिएको थियो । बाक्लो गरी घर भएको क्षेत्रमा आगलागी भए पनि सेना, प्रहरी र स्थानीयले आगो अन्यत्र फैलन दिएका थिएनन् ।

आगो लागेको १ घण्टासम्म नियन्त्रण बाहिरको अवस्था रहे पनि दमकल नपुगुन्जेल मानवीय प्रयासमा आगो फैलन नदिएको स्थानीयले बताए । बाक्लो हुस्सुका कारण फिदिमबाट गएको दमकल पनि केहि ढिला पुगेको थियो ।

बजार क्षेत्रलाई जोगाउन आगलागी सुरु हुनसाथ प्रयास थालिएको थियो । आगलागीबाट श्रेष्ठको ५ तले घरसहित सामाग्री जल्दा १ करोड रुपैयाँको क्षति भएको दाबी गरिएको छ । नरबहादुर श्रेष्ठको १० लाख, थालुरामको घरमा पसल गरी बस्ने तिलबहादुर बस्नेतको ५० लाख ५४ हजार र श्रीबहादुर विष्टको ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रशासनले जनाएको छ ।

‘रेडक्रश, प्रहरी, विपद व्यवस्थापन समिति, पीडित र स्थानीयबासीबीच भएको छलफल पछि आगजनीबाट भएको क्षति यकिन गरिएको हो,’ निमित्त प्रमुख जिल्ला अधिकारी देवीचरण फुयालले भने ।

आगलागी पीडितलाई सोमबार नै राहत वितरण गरिएको छ । रेडक्रशको तर्फबाट कम्बल, त्रिपाल, भाँडाकुँडासहितका सामाग्री प्रदान गरिको छ । यस्तै विपद व्यवस्थापन समितिको तर्फबाट घरधनी थालुराम श्रेष्ठलाई ५० हजारका दरले राहत प्रदान गरिएको छ । थप राहतकालागि गृह मन्त्रालयमा सिफारिश गरिएको फुयालले जानकारी दिए ।

२०७१ साल कात्तिक १९ गते पनि राँकेमा आगलागी हुँदा ८ घर जलेका थिए । त्यो क्षेत्रमा नयाँ घर निर्माण भइसकेका छन् ।

प्रकाशित : भाद्र १८, २०७५ १७:२८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पुनर्वासले गाउँमा न्यास्रो

विप्लव भट्टराई

इलाम — विस्थापित भएर नेपाल छिरेका नेपालीभाषी भुटानीको आश्रयस्थल इलाम थिएन । उनीहरू झापा र मोरङमा रहे पनि अहिले एकाएक पुनर्वासमा गएपछि त्यसको प्रत्यक्ष असर इलाममा पनि परेको छ । झापासँग जोडिएका दक्षिणी गाउँमा उनीहरू गएदेखि नै ‘न्यास्रोपन’ बढेको हो ।

भाषा, संस्कृति, रहनसहन मिलेसँगै उनीहरूको नेपाल बसाइ लम्बिँदै जाँदा साइनो सम्बन्ध जोडिनु, अर्मपर्म र पैंचोसम्म चलिरहेको अवस्थामा एकाएक उनीहरू अमेरिका, क्यानडा, अस्ट्रेलियासहित युरोपेली देशमा गएका हुन् ।

अस्थायी शिविरबाट तेस्रो मुलुक पुनर्वासमा गएसँगै शिविर रित्तो मात्र नभएर आसपासका बस्तीमा मेलापात र आउजाउसम्मको हिमचिमै टुटेको चुलाचुलीका हेमन्त राई बताउँछन् । ‘गाउँठाउँमा काम कुरामा त सहजै थियो,’ उनले भने, ‘हितैसीसमेत टुट्दा नरमाइलो लागेको छ,’ नजिकैको बेलडाँगी शिविरमा बस्नेसँग चुलाचुली, बाँझो, साकफारालगायत गाउँमा हिमचिम बाक्लो थियो ।


भुटानीको उपस्थितिपछि इलामका हरेक क्षेत्र प्रभावित थिए । कृषिदेखि उद्योग र शैक्षिक क्षेत्रमा पनि उनीहरूले लगाएको गुन धेरैको मानसपटलबाट हटेको छैन । क्षमताअनुसार उनीहरूले सबै काममा केही सस्तो पनि सघाएका थिए । यहाँको शैक्षिक योगदानमा उनीहरूको ठूलो योगदान छ । भित्री गाउँसम्म अंग्रेजी शिक्षा पुर्‍याउनमा उनीहरूको निकै मिहिनेत रहेको सन्दकपुर ४ माबुमा बोर्डिङ स्कुल चलाएका दीपेश गुरुङको भनाइ छ ।

‘उनीहरू हुँदा सामान्य ढंगले पनि बोर्डिङ चलाएर अंग्रेजी सिकाउन सकिने भएकाले सदरमुकामबाहिर पनि धेरै स्कुल खुले,’ उनले भने, ‘त्यतिबेला अंग्रेजी पढेका विद्यार्थी अहिले पनि राम्रै प्रगति गरिरहेका छन् ।’ कृषि क्षेत्रमा उनीहरूले पुर्‍याएको सहयोग चुलाचुलीकी तारादेवी राई कहिल्यै बिर्सन्नन् । वैदेशिक रोजगारीमा युवा विदेश जाने लर्को छुटदा पनि धेरै उब्जनी हुने क्षेत्रमा श्रमिकको अभाव टारेका थिए उनीहरूले । धान रोप्न, काट्नदेखि अलैंचीबारीसम्म उनीहरूको उपस्थिति सामान्य भइसकेको थियो । ‘उनीहरू आएर काम सघाउँदा कुनै खेतीपाती ढिलो हुँदैनथ्यो,’ उनले भनिन्, ‘तर अहिले आफूले काम गर्न नसक्दा बारी बाँझै हुने अवस्था छ ।’


उनीहरूको अनुपस्थितिले कृषि उपजको बजारीकरणमा पनि असर पारेको छ । हरेक गाउँमा फलफूलदेखि सागसब्जी र नगदेबाली संकलन गरी व्यवसाय गर्नेहरू पनि धेरै थिए । ‘उनीहरूबीचमै प्रतिस्पर्धा हुने भएकाले उत्पादन बिक्री नहुने चिन्ता नै थिएन,’ रोङको इरौंटारकी इन्द्रावती राईले भनिन् । उनीहरूले यहाँका चिया बगान र कारखानामा समेत सघाएका थिए ।


भुटानी शरणार्थी पुनर्वास क्रममा तेस्रो देश जाने क्रम करिब अन्तिम चरणमा पुगेको छ । शरणार्थी बस्दै आएका टिमाई, गोलधापलगायत शिविर जंगल र बगरमा परिणत हुँदै छन् । कतिसम्म भने हात्ती र जंगली जनावरबाट पनि सुरक्षित ठान्ने शिविर आसपासका बासिन्दा अचेल रात–साँझ हिँड्न पनि डराउँछन् ।


१९९१ मा भुटानमा ज्यादती भएको भन्दै नेपाल छिरेका भुटानीले स्वदेश फर्कन गरेका हरेक प्रयास असफल भए । सन् २००७ देखि उनीहरूलाई पुनर्वासका लागि समुद्रपार पुर्‍याउन थालिएको हो । अहिलेसम्म १ लाख बढी भुटानी तेस्रो देशमा पुनर्वासका लागि गइसकेका छन् ।

प्रकाशित : भाद्र १५, २०७५ ०७:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT