कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राधाकृष्ण रथायात्रामा हजारौं सहभागी

देवनारायण साह

मोरङ — सबै समुदायको बृहत् सहभागितामा सोमबार यहाँ राधाकृष्ण रथयात्रा धुमधामसाथ सम्पन्न भएको छ । आधा शताब्दी पुगेको ऐतिहासिक रथयात्रा समुदायबीच सदभावको पर्वका रूपमा स्थापित भएको छ ।

राधाकृष्ण रथायात्रामा हजारौं सहभागी

रथ तान्न सबै समुदायका प्रतिनिधिको सहभागिता थियो । रथयात्रा अवलोकन गर्न मोरङ, सुनसरी, झापालगायत जिल्ला र भारतको बिहारबाट पनि हजारौं आएका थिए ।

हिन्दु, मुस्लिम, सिख, इसाई धर्मावलम्बी समेत रथयात्रा अवलोकन गर्न दिउँसो २ बजेदेखि ८ बजेसम्म लामबद्ध थिए । सुनसरीको हरिनगराबाट मोहम्मद अमिरुद्दीन अन्सारी परिवारसहित आएका थिए ।

यस अवसरमा यहाँका हरेक जातजातिको संस्कृति झल्किने झाँकी, लोकनृत्य, प्रदेश १ प्रहरीको ब्यान्ड प्रस्तुत गरिएको थियो । भारतबाट ल्याइएको घोडाले तान्ने बग्गी आकर्षण बनेको थियो ।


५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विशेष पूजा गरी उद्घाटन गरेका थिए । उनले १ लाख १ हजार राशिको पोखरमल धर्मसंस्कृति पुरस्कार विराटनगर ३ स्थित परोपकार अभियान समूहलाई प्रदान गरे ।

उक्त पुरस्कार प्रत्येक वर्ष रथयात्राका अवसरमा १२ वर्षदेखि निरन्तर स्थानीय उद्योगी राठी परिवारले प्रदान गर्दै आएको छ । रथयात्रा ४ बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुन: मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी ४ घण्टा ३० मिनेटमा तय गरी आइपुगेको थियो ।

रथको अग्र भागको दुबैपट्टि ७५ फिट लामो रथ तान्ने लठा दायाँतर्फको पुरुषले र बायाँतर्फको महिलाले तानेर रथयात्रा गरिएको थियो । १९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ सालदेखि रथयात्राको निर्माण गरी कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्परा छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?