कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आकस्मिक शल्यक्रिया रोकियो

जिल्ला अस्पतालका दुई जना चिकित्सक नहुँदा शल्यक्रिया सेवा रोकियो
नि:शुल्क पाइरहेको आकस्मिक शल्यक्रिया सेवाबाट बिरामी वञ्चित

संखुवासभा — जिल्ला अस्पताल खाँदबारीमा चिकित्सक नहुँदा शल्यक्रियाबाट सुत्केरी गराउनुपर्ने बिरामीलाई समस्या भएको छ ।

आकस्मिक शल्यक्रिया रोकियो

लामो समयदेखि दक्ष चिकित्सक बिदामा बसेपछि आकस्मिक शल्यक्रिया रोकिएको छ ।

अस्पतालमा आकस्मिक शल्यक्रियाबाट सुत्केरी गराउने अत्याधुनिक उपकरण छ । सुत्केरी आमा र बच्चालाई आवश्यक अरू सुविधा पनि उपलब्ध छन् । सामान्य तरिकाबाट सुत्केरी नभएपछि आमा र बच्चालाई बचाउन आकस्मिक शल्यक्रियाबाट सुत्केरी गराइन्छ ।

यो सेवा जिल्ला अस्पतालमा नि:शुल्क दिइँदै आएको छ । यो सेवाका लागि खटिएका चिकित्सक लामो समय बिदामा बसेका छन् । सुत्केरी बेथाले च्यापेपछि अस्पताल भर्ना भएकी खाँदबारीकी पवित्रा तामाङलाई अन्तिम अवस्थामा रिफर गरियो ।

आकस्मिक शल्यक्रियाबाट सुत्केरी हुने महिला महँगोमा सेवा लिन अन्तै जानु परेको उनका बुबा सूर्यबहादुर तामाङले बताए । ‘बेथाले च्यापेपछि छोरीलाई ल्याएको थिएँ’, उनले भने, अन्तिम अवस्थामा चिकित्सकले यहाँ सम्भावना छैन भनेपछि समस्या भयो । हवाईजहाजबाट लैजान टिकट पनि समस्या भयो,’ उनले भने । वर्षाका कारण कच्ची सडक हिलाम्मे भएपछि सडक यातायातबाट लैजान जोखिम भएको उनले बताए ।

लामो समयसम्म चिकित्सक बिदामा बसेपछि जिल्ला अस्पताल संखुवासभामा सुत्केरी हुने महिलाहरू समस्यामा परेका छन् । चिकित्सकका लापरवाहीले यहीँ हुने उपचारका लागि राजधानीसम्म जानु पर्दा खर्च बढेको उनले गुनासो गरे । ‘चिकित्सक यहीँ भएको भए नि:शुल्क हुने थियो,’ तामाङले भने, ‘बाहिर लैजाँदा २ लाखसम्म खर्च हुन्छ ।’

उपचार खर्च नभएपछि ऋण काढेर छोरीलाई सुत्केरी गराउन लगेको उनले सुनाए । निक साईमन नामक संस्थाले आकस्मिक शल्यक्रियाबाट सुत्केरी गराउने सेवाको ५ वर्षसम्म जिम्मा लिएपनि चिकित्सक नबस्दा सधैं समस्या हुने गरेको छ ।

निक साइमनले खटाएका डा. युवराज बस्नेत र शैलीका श्रेष्ठ बिदामा बसेपछि सेवा प्रभावित भएको हो । उनीहरू बिदामा बसे पनि स्टाफ नर्स र एनेसथेसियाका चिकित्सक भने अस्पतालमै छन् ।

अस्पतालका समस्याका विषयमा पटकपटक स्थानीय तह र राजनीतिक दलसँग स्थानीयले सुधारका लागि माग राखेका छन् । तर, सुधारको पहल भएको छैन । जिल्ला स्वास्थ्य प्रमुख डा. लक्ष्मण खड्काले दुबैजना चिकित्सक तालिममा गएकाले समस्या भएको बताए ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?