खोलाभन्दा सानो पुल !
दमक — हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका २ स्थित सानोमाई खोलामा निर्माणाधीन पुलको लम्बाइ सानो भएको स्थानीयले बताएका छन् । खोलाले धार परिवर्तन गरेकाले पुलको लम्बाइ निकै सानो भएको हो ।
उनीहरूले पुलको लम्बाई बढाउन माग गरेका छन् । उनीहरूले लम्बाई नबढाए निर्माणाधीन पुलको प्रयोगविहिन हुने बताएका छन् । खोलामा ११ मिटर चौडाइ र ५२.४ मिटर लम्बाइको पुल निर्माणाधीन छ । पुल निर्माणको काम गत असार मसान्तमै सकिनुपर्ने थियो । तर, ठेकेदार कम्पनीले ढिलाइ गर्दा हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । स्थानीयले खोलाले धार निकै परिवर्तन गरेकाले अहिले निर्माण भइरहेकै जति पश्चिमपट्टि पुल थप्नुपर्ने माग गरेका छन् ।
‘अहिलेकै अवस्थामा हो भने यो पुलको कुनै काम छैन,’ स्थानीय मोहनकुमार चौलागाईंले भने, ‘पुल निर्माण गर्ने निकायले तत्काल अध्ययन गरेर पुलको लम्बाइ बढाउनुपर्छ ।’ उनले खोलाको साइजभन्दा पुलको लम्बाइ सानो भएको बताए । उनले निर्माणाधीन अवस्थामै रहेकाले पश्चिमपट्टि स्पेन थपेर पुलको लम्बाइ बढाउनुपर्ने बताए । झापा गाउँपालिका २ का वडाध्यक्ष नेत्रबहादुर खडकाले पुलको लम्बाइ थप्नेबारे मौखिक रूपमा जानकारी गराएको बताए । उनले पुलको लम्बाइ थप नभए जनता लाभान्वित हुन नसक्ने अवस्था रहेको बताए ।
‘सर्भे गर्दा खोलाको धार ठिकै ठाउँमा थियो । तर, ०७२ साउनको बाढीले खोला पूरै पश्चिम सरेको छ,’ खडकाले भने, ‘तटबन्ध गरेर पनि यति लामो खोलाको धार सोझ्याउन गाह्रो हुन्छ । भविष्यमा फेरि पनि खतरा कायमै रहने भएकाले अहिले नै पुलको लम्बाइ बढायौं भने दीर्घकालीन रूपमा समस्या समाधान हुन्छ ।’ उनले पुलको लम्बाइ बढाउने विषयमा सम्बन्धित निकायमा थप कुरा राख्ने तयारी गरिरहेको बताए ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयअन्तर्गत जिल्लामा रहेको कार्यालयका अनुसार उक्त पुल लामा/बान्टी जेभीले ठेक्का लिएको हो । ०७५ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी ५ करोड ९७ लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । कार्यालयका सब–इन्जिनियर सुरेन्द्र यादवले सर्बेअनुसारै काम भइरहेकाले तत्कालै पुलको लम्बाइ थप्ने अवस्था नरहेको बताए । उनले खोलाले धार परिवर्तन गर्ने क्रम चलिरहने हुँदा स्थायी तटबन्ध गरेर खोला सोझ्याउनुपर्ने बताए । ‘सुरुमा जहाँ पुल आवश्यक थियो । सर्भेअनुसार त्यही पुल निर्माण भइरहेको छ । अहिले खोला पश्चिमतिर गएको छ । तटबन्ध गरेर खोलाको धार परिवर्तन गर्नुपर्छ,’ उनले भने ।
उनले स्थानीयको माग पनि जायज भएको बताए । उनले भने, ‘स्थानीयको माग पनि जायज नै छ । अहिलेकै अवस्थामा भन्नुपर्दा पुलको लम्बाइ बढाउनुको विकल्प छैन । तर, यो कामका लागि फेरि ठूलै प्रक्रिया गर्नुपर्ने हुन्छ ।’ हाल सानोमाई खोलामा बासको पुल बनाएर स्थानीय बासिन्दा आवतजावत गरिरहेका छन् । खोला पारि ७ वटा बस्ती छन् ।
उक्त बस्तीका बासिन्दाका लागि झापा बजार मुख्य बजार हो । खोलामा पुल नभए पारिका बासिन्दा बन्धकजस्तै बन्ने अवस्था छ । खोला पारि जुडो प्राथमिक विद्यालय पनि छ । ‘पुलको लम्बाइ नबढाए खोला पारिको जुडो प्रावि र ७ बस्ती सबै डुबान र कटानको उच्च जोखिममा पर्छ,’ वडाध्यक्ष खडकाले भने ।