कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

७० रुपैयाँ तिर्न हजार खर्च

खोटाङ — दिप्रुङ चुइचुम्मा सापातेलका ५५ वर्षीय कृष्ण रम्तेल विद्युत् महसुल तिर्नका लागि बिहान १० नबज्दै लाइनमा उभिएका थिए । उनी कति बेला महसुल बुझाएर घर फर्कुँ भन्ने हतारोमा थिए ।

७० रुपैयाँ तिर्न हजार खर्च

कृष्णजस्तै धेरै उपभोक्ता विद्युत् महसुल तिर्न लाममा थिए । टाढाबाट विद्युत् महसुल तिर्नै दिक्तेल धाउनुपर्ने बाध्यता अझै छ । उनले भने ‘७० रुपैयाँको बिल तिर्न हजारभन्दा बढी खर्च भयो ।’ स्थानीय तह कार्यान्वयनमा आए पनि विद्युत् महसुल तिर्न भने दिक्तेलै धाउनु पर्दा खर्च बढेको सेवाग्राहीले बताए ।

आउजाउ गर्न भाडालगायत खर्च महसुलको रकमभन्दा निकै बढी हुने गरेको छ । विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमख नारायण चौधरीका अनुसार खोटाङमा १२ हजार १ सय ५६ घरधुरीले बिजुली बालेका छन् । आसपासका बाहेक अन्यलाई विद्युत् महसुल तिर्न धाउनुपर्ने बाध्यता छ ।

हलेसी तुवाचुङ नगरपालिकामा भने विद्युत् महसुल लिनका लागि घुम्ती काउन्टर खडा गरिएको छ । त्यसले सर्वसाधारणलाई केही हदसम्म सहज भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इबन राईले बताए ।

खोटेहाङ गाउँपालिकाको खोटाङ बजारमा पनि विद्युत् महसुल बुझाउने घुम्ती काउन्टर राख्न पहल भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । विद्युत् प्राधिकरण वितरण केन्द्र दिक्तेलका प्रमुख चौधरीका अनुसार प्रक्रिया बढाइने बताए ।

‘पहिले नै सिफारिस आएको भए हलेसीसँगै घुम्ती काउन्टर स्थापना भइसक्थ्यो,’ प्रमुख चौधरीले भने, ‘ढिलो भए पनि प्रक्रिया बढाइएको छ ।’ केपिलासगढी, ऐसेलुखर्क, रावाबेंसी गाउँपालिकाका सर्वसाधारणलाई विद्युत् महसुल बुझाउन दिक्तेलै धाउनुपर्ने बाध्यता छ । दक्षिणी क्षेत्र बराहापोखरी, जन्तेढुङ्गा, खोटेहाङ, दिप्रुङ चुइचुम्मा, साकेलालगायत गाउँपालिकाका सेवाग्राही समेत दिक्तेल धाउन बाध्य छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले स्थानीय रूपमै महसुल तिर्ने व्यवस्था मिलाउने प्रयास भइरहेको बताए । ‘अब केही समयपछि गाउँपालिकामै विद्युत् महसुल तिर्ने व्यवस्था मिलाइने छ,’ उनले भने ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?