कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोगी बस्तीमा ५ लाखको खुर्सानी

फेरी लगाएर जीवन गुजारा गर्दै आएका जोगी समुदायले पहिलोपटक खुर्सानी बिक्री गरेर आम्दानी लिए

तेह्रथुम — फेदाप गाउँपालिका ओयाक्जुङका विपन्न जोगी समुदायले पहिलोपटक ५ लाख रुपैयाँ अकबरे खुर्सानी बिक्री गरेका छन् । विभिन्न संघसंस्थाले बस्तीमै पुगेर अकबरे खुर्सानी खेतीबारे तालिम दिएर सीप सिकाएपछि स्थानीय खुर्सानी खेतीमा लागेका हुन् ।

जोगी बस्तीमा ५ लाखको खुर्सानी

फेरी लगाएर जोहो गरेको थोरबहुत अन्नको भरमा जीवन गुजारा गर्दै आएका जोगी समुदायले पहिलोपटक खुर्सानी बिक्री गरेर यति धेरै रकम हात पारेका हुन् । पहिले मागेर खुर्सानी
खाने गरेका उनीहरूले अहिले घरबाटै बिक्री गरिरहेका छन् ।

यहाँका करेसाबारीदेखि कोदो मकै मात्र फल्ने भिरालो बारीमा लटरम्म खुर्सानी फलेका छन् । अधिकांश स्थानीयले १५ देखि ३० हजारसम्मका खुर्सानी यो वर्ष बिक्री गरेर पैसा हात पारेका छन् । फेरी बजाएर अन्नपात जोहो गर्ने जोगी समुदायका बस्तीमै पुगेर विभिन्न संघसंस्था र कृषि प्राविधिकले तालिम दिएपछि खुर्सानी खेतीमा उनीहरूको आकर्षण बढेको हो । जमिन थोरै भएकाहरूले समेत खुर्सानी रोपेका छन् ।

गाउँका प्रत्येक घरपरिवारले ९ सयदेखि १ हजार ५ सय बोटसम्म अकबरे खुर्सानी रोपेको स्थानीय मालती जोगीले बताइन् । रोपेको पहिलो वर्षमै खुर्सानी फलेर बिक्री हुन थालेपछि घरपरिवार चलाउन सहज भएको जोगीले बताइन् । उनले यो वर्ष ९ सय अकबरे खुर्सानीका बोट रोपेकी थिइन् । यी बोटबाट यो वर्ष २५ हजार बढी आम्दानी भएको उनले बताइन् । खुर्सानी मंसिरसम्मै फलिरहने भएकाले थप १० हजार आम्दानी गर्ने सोचाइ उनको छ ।

खुर्सानी खेती तालिम पाएका गाउँका ३० महिलाले बस्तीका अन्यलाई समेत खुर्सानी खेती गर्ने सीप सिकाएका छन् । ३० महिलाले गाउँका प्रत्येक ५ जनालाई आफूले सिकेको सीप अनिवार्य सिकाउनुपर्ने नियम बनाएका छन् ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?