तत्कालीन माओवादीको पुरानो कार्यालयमा बम फेला

विप्लव भट्टराई

इलाम — इलाम सदरमुकामस्थित तत्कालीन एकीकृत माओवादीको कार्यालय रहेकाे स्थानमा बम फेला परेको छ । 

नारायणस्थानस्थित मन्दिर परिसरमा रहेको भवनमा आइतबार बिहान दुईवटा सकेट र एउटा सुतली बम भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

बम भेटिएको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको र डिस्पोजका लागि सेनाको पशुपतिप्रसाद गण इलामलाई जानकारी दिइएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।

गस्ती गर्ने क्रममा शंकास्पद वस्तु देखिएपछि जाँच गर्दा बम भेटिएको उनले बताए। तत्कालीन विद्रोही माओवादीले शान्ति प्रक्रियामा आएयता मारवाडी सेवा समाजको भवनमा पार्टी कार्यालय राखेको थियो।

एमालेसँग पार्टी एकीकरण भएपछि माओवादीले जिल्ला कमिटिको कार्यालय रहेको दुई तले भवन छाडिसकेको छ।

प्रकाशित : भाद्र २४, २०७५ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्

चितुवाको छालासहित युवक प्रकाउ

ज्योती कटुवाल

दैलेख — अछामको तुर्माखात गाउँपालिका–६ धमालीका १८ वर्षीय नवीन धमलालाई चितुवाको छालासहित दैलेखमा प्रकाउ गरिएको छ ।

चितुवाको छाला सहित प्रकाउ परेका नविन धमला । तस्बिर : ज्योती कटुवाल/कान्तिपुर

कर्णाली प्रदेश कार्यालयको विषेश टोलीले सुराकीका आधारमा दैलेखको राकम कर्णालीबाट धमलालाई चितुवाको छाला सहित प्रकाउ गरेको हो।

अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए।

दैलेखमा चितुवाको छालासहित व्यक्ति पक्राउ गरिएको यो पहिलो घटना भएको प्रहरी प्रमुख पोखरेलले बताए।

प्रकाउ परेका नवीन कक्षा १२ अध्ययनरत थिए। उनले भने आफूलाई कुनै जानकारी विना नै सामान दैलेखको साइखोलामा पुर्‍याउने सम्झौता भएको बताए।

प्रकाशित : भाद्र २४, २०७५ १३:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्