पौरखी महिलाले चिनाए महेशपुर

जितेन्द्र साह

मोरङ — कोही लुगा सिउनमा व्यस्त छन्, कोही मुढा बनाउनमा तल्लीन । कोही सुन्दर पुष्पगुच्छा तयार पारिरहेका छन् भने कोही च्याउको स्याहारसुसारमा मस्त । कोही घरघरै स्वास्थ्य कार्यक्रमको जानकारी दिँदै हिँड्दै छन् ।

मोरङको कटहरी गाउँपालिका–१, महेशपुर बस्तीको आफ्नै टेलरमा साडीमा बुट्टा बनाउँदै गृहिणी ३८ वर्षीया शान्तिदेवी चौधरी (माथि) र कपडा सिउँदै २२ वर्षीया ममता माझी (चौधरी) । तस्बिर : जितेन्द्र

मोरङको कटहरी गाउँपालिका–१, महेशपुरको चौधरी चोक पछिल्तिरको थारू बहुल बस्तीका दृश्य हुन् यी । पौरखी महिलाले गर्दा यो थलोको छुट्टै पहिचान बनिसकेको छ ।


महानगर विराटनगरदेखि मात्र डेढ किमि उत्तरपूर्वमा ‘महेशपुर चौधरी चोक’ लेखिएको बोर्डसँगै यो बस्ती देखिन्छ जहाँका पुरुष पनि श्रीमती, छोरी र बुहारीको पौरखले गर्दा दंग परिरहेका भेटिन्छन् ।

Yamaha


स्थानीय औषधि व्यवसायी ४३ वर्षीय अवधनारायण चौधरी पनि तीमध्येका एक भाग्यमानी पुरुष हुन् । घरबारी र खेतको सारा दायित्व सम्हाल्दै सिलाइ एवं बुटिकको कामबाट पत्नी ३८ वर्षीया शान्तिदेवीले मासिक औषत ३० हजार रुपैयाँ आम्दानी गरिरहेकोमा उनी मख्ख छन् । उनले दिउँसो फुर्सदमा यो सीपमूलक कामबाट दैनिक कम्तीमा हजार रुपैयाँ आय गर्छिन् ।


अवधनारायणलाई श्रीमती आत्मनिर्भर भएकोमा सबैभन्दा बढी खुसी छ । ‘जब मेरो व्यापारमा मन्दी हुन्छ, खेतबारीमा उत्पादन कम हुन्छ,’ उनले भने, ‘पत्नीकै सीप ठूलो सहारा बन्छ ।’


बिहे अगाडिदेखि रुचि भएकाले शान्तिदेवीले माइतीघर मोरङकै ग्रामथान गाउँपालिकाको रंगटोली सिद्राहामा एक संस्थाले सञ्चालन गरेको तालिममा मासिक ६ सय शुल्क तिरी छ महिने सिलाइबुनाइ तालिम लिएकी थिइन् । उनले आफ्नै गाउँपालिकाको झोराहाटमा तीन महिने नि:शुल्क बुटिक प्रशिक्षण लिइन् । यउनले तालिममा सहभागी भएबापत ४ हजार रुपैयाँ नगद पनि पाइन् ।


‘घरमै सटर थापेर काम गर्न थालेको अढाइ वर्ष भयो,’ शान्तिदेवीले भनिन्, ‘पहिला अर्डर आएको बेला घरभित्रै बसेर गर्थें ।’ फुर्सदमा दिउँसो दुई/चार घण्टा मिहिनेत गर्दा दिनको कम्तीमा १ हजार रुपैयाँ आम्दानी हुने गरेको उनले बताइन् । शान्तिदेवीले भनिन्, ‘दिनभरि काम गर्ने हो भने ३ हजार रुपैयाँसम्म कमाइ हुन्छ ।’ उनले सारीको आँचलमा बुटिक भर्दा न्यूनतम ५ सयदेखि ५/६ हजार रुपैयाँसम्म लिन्छिन् । सानो सारीमा बुट्टा भर्दा एक दिन र ठूलोमा तीन दिनसम्म लाग्छ ।


यो बस्तीका पुरुषले श्रीमतीका कारणले मात्र नभएर स्वाभिमानी छोरीले गर्दा पनि गर्व गर्छन् । स्थानीय २२ वर्षीया ममता माझीले पनि सिलाइबुनाइबाटै दैनिक औषत १ हजार २ सय रुपैयाँसम्म कमाउँछिन् । घरायशी जिम्मेबारीकै कारणले पढाइ छुटे पनि उनी अब आफ्नै कमाइले कक्षा १० पछिको अधुरो पढाइलाई निरन्तरता दिने बताइन् ।


ममताले सिलाइको तालिम लिए पनि पुष्पगुच्छा बनाउन आफ्नै अनुभवले सिकेकी हुन् । ‘घर सजावटका लागि एक वर्षदेखि बनाउन थालेको हुँ, एउटा बनाउन पूरा एक दिन र तीन सय रुपैयाँ जतिको सामग्री लाग्छ,’ उनले भनिन्, ‘माग भएमा केही सहयोगी राखेर उत्पादन बढाउँछु ।’


कुखुरा व्यवसायी पिता ४४ वर्षीय सुमृत माझी छोरीको कला र श्रमबाट प्रफुल्ल छन् । उनका दुई छोरा र एक छोरी छन् । एउटा छोरा पलम्बरको काम गर्छ भने अर्को कक्षा–९ मा अध्ययनरत छन् । ‘छोराहरूभन्दा छोरी नै भरपर्दो र गतिली छन्,’ पिता सुमृतले भने, ‘जन्मेदेखि आजसम्म कुनै खाले कष्ट दिएकी छैनन् ।’


लोग्नेको कमाइको बिल्कुलै आश नगरी दुई थरिका व्यवसाय गरी परिवार पाल्ने नारी पनि यो बस्तीमा धेरै छन् । स्थानीय ३५ वर्षीया जलसरी सर्दार (चौधरी) ले दुई वर्षदेखि बिहानसाँझ चियापसल गर्छिन् भने दिनभरि कपडा सिउँछिन् । सबै खर्च काटेर चियाबाट दैनिक ३ सय रुपैयाँ र कपडा सिएर चोखो हजार रुपैयाँ आउने गरेको उनले बताइन् । जलसरीले गाउँपालिकामार्फत सिलाइ प्रशिक्षण लिएकी हुन् ।


उनी यसअघि विराटनगरको एक अगरबत्ती कारखानामा ठेक्का मजदुरका रूपमा मासिक ३/४ हजार रुपैयाँसम्म कमाउँथिन् । दुई छोराकी आमा उनलाई अब कमाउनलाई गाउँ बाहिर जानु परेको छैन । श्रीमानका भरमा नपरी उनी १२ कक्षामा पढ्ने छोरा उज्जवल र कक्षा–४ मा पढ्ने विवेकको मजाले पालनपोषण गर्न सक्छिन् ।


पौरखी नारीले भरिएको यो बस्ती जातीय सदभावको पनि नमुना हो । चौधरीको घरआँगनमा वाहुन, क्षेत्री र नेवार समुदायका बुहारी भेटिनु सामान्य हो । पेसाले प्रहरी हवल्दार यही बस्तीका लक्ष्मी चौधरीसँग बिहे गरेकी २९ वर्षीया सुजिता पौडेल पनि यस्तै एक प्रतिनिधि पात्र हुन् ।


माइती धनकुटा भएकी उनी घरभित्र बाहिरको सम्पूर्ण जिम्मेवारी सम्हालेकी छन् । उनको श्रीमान् सुनसरीको इनरुवामा प्रहरी हवल्दार हुन् । उनी पनि सिलाइकै काममा लागेकी छन् । स्थानीय एक सहकारीमा जागिरे उनी दिनहुँ नगद संकलनका लागि हिँड्छिन् । दसजोड दुई पढ्दापढ्दै छाडेकी पौडेलले बिहे लगतै यहाँको एक निजी विद्यालयमा तीन वर्ष पढाइन् । थारू युवा लक्ष्मीसँग सुजिताको प्रेम बिहे भएको पनि १० वर्ष भइसक्यो ।


चौधरी बहुल यो बस्तीमा ६० वर्षीया टीका राई पनि बस्छिन् । उनले आफैंले बनाएका मुढाहरू देखाइन् । २०४० सालमा धनकुटाबाट यो बस्तीमा बसाइँ सरेकी उनले गत ७ असारमा ७ दिने मुढा बनाउने तालिम लिएकी हुन् । ‘सबै दिदीबहिनीलाई केही न केही गरेको देखेर मन थाम्नै सकिएन,’ उनले भनिन्, ‘दिनको एउटा बनाइरहेको छु ।’


यो गाउँको सबैको मार्गदर्शक भने ५४ वर्षीया सुकुमाया चौधरी हुन् । उनी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका भएर यो बस्तीमा परिवार नियोजन र सुढेनीलगायतका मातृशिशु सम्बन्धी सेवा दिन्छिन् । स्थानीय गृहिणीहरूलाई सीपमूलक तालिममा सहभागिताका लागि घचघच्याउने कार्यको थालनी उनैले गरेकी हुन् । ‘पहिले मलाई घर भाँड्ने बिग्रेका महिला भन्थे, अहिले जनसंख्या घटाउने र आय बढाउने दिदी भन्छन्,’ सुकुमायाले भनिन् ।


गर्भवतीको देखभाल, सुढेनी सेवा, निमोनियामा हेरचाह, कृष्ठरोग, क्षयरोग र कालाज्वर नियन्त्रणबारे प्रशिक्षण लिएकी उनलाई स्थानीयको स्वास्थ्यको निकै ख्याल हुन्छ । ‘पहिलाजस्तो अहिले बिरामी परेका छैनन्, तीन वर्षदेखि कालाज्वर पनि देखिएको छैन,’ उनले भनिन्, ‘खुट्टामा उभिनलाई पनि स्वस्थ त हुनुपर्‍यो ।’


चौधरीको अनुसार स्थानीय महिला पहिलेजस्तो नयाँ मान्छेलाई देखेर डराउने वा घुँघटोमा लुक्दैनन् । ‘पहिले तालिममा बोलाउँदा पनि आउन मान्दैन्थे, कर गर्नु पथ्र्यो,’ उनले भनिन्, ‘अहिले खोजीखोजी आउँछन्, छुटाइहालियो भने उल्टै रिसाउँछन् ।’


यो टोलका महिलाले परम्परागत कृषि र खेतिबारीबाट बाहिर निस्केर सीपमूलक तालिम लिन थालेको मात्र एक दसक भएको स्थानीय सामाजिक अभियन्ता ५१ वर्षीय रमेश लाल चौधरीले बताए । पेसाले कृषक र सवारी चालक उनी सामाजिक विकासमा सक्रिय छन् ।


‘तर, छोटो समयमा उनीहरूले राम्रो प्रगति गरेका छन्,’ उनले भने, ‘यहाँका महिला केही वर्ष अघिसम्म खेतबारी र ढिकीबाट चामल/च्युरा उत्पादन गर्नमा सीमित थिए, अहिले थरिथरिका सीप जानेका छन् ।’ महानगर विराटनगरको सीमासँग जोडिएको नजिकैको ग्रामीण बस्ती हो यो महेशपुर । चौधरीका अनुसार महानगर विराटनगरमा हुने गतिविधिको असर, बढ्दो जनसंख्यासँगै यहाँ पनि घर बढ्दै जानु, कृषियोग्य जमिन कम हुनु र उत्पादन घट्नु परिवर्तनको कारण हो ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्थानीय तहद्वारा दिवा–खाजा

कात्तिकदेखि दिवा–खाजाको कार्यक्रम लागू गर्ने
प्रताप बिष्ट

हेटौंडा — मकवानपुरको एक गाउँपालिकाले विपन्न समुदायका बालबालिकालाई दिवा–खाजाका लागि बजेट विनियोजन गरेको छ । उनीहरूलाई स्कुलमा आकर्षण गराउन र भर्ना भएकालाई टिकाउन मकवानपुरगढी गाउँपालिका चालु आवदेखि दिवा–खाजाका व्यवस्था गरेको हो ।

विद्यार्थीलाई दिवा–खाजाको व्यवस्था गर्ने मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको कार्यालय भवन । तस्बिर : प्रताप

चालु आवको निम्ति गाउँपालिकाले दिवा–खाजाका लागि १९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका क्षेत्रमा पर्ने ४० वटा विद्यालयमध्ये विपन्न र विद्यार्थी संख्या न्यून रहेका विद्यालयमा नमुनाको रूपमा दिवा–खाजाको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । सरकारले सिमान्तकृत र लोपोन्मुख समुदायका स्कुल आउने बालबालिकालाई उपलब्ध गराउँदै आएको दिवा–खाजा कटौती गरेपछि गाउँपालिकाले खाजालाई निरन्तरता दिन लागेको हो ।


खाद्य असुरक्षा भएको र लोपोन्मुख एव आदिवासी जनजाति बहुल क्षेत्रका स्कुललाई पहिलो प्राथमिकतामा राखेर दिवा–खाजाको व्यवस्था गर्न बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले बताए । ‘पढ्ने उमेरका विद्यालयबाहिर रहेका बालबालिकालाई लक्षित गरेर दिवा–खाजा कार्यक्रम कार्यान्वयनमा ल्याउँछु,’ उनले भने । गाउँपालिकाले आगामी वर्षमा सबै विद्यालयमा दिवा– खाजाको विस्तार गर्ने कार्यक्रम छ ।


विद्यार्थी टिकाउन दिवा–खाजा कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारले बताए । बालबालिका भोको हुँदा पढाइमा ध्यानाकर्षणसमेत नहुने भएकाले सिकाइ उपलब्धिमूलक बनाउन पनि दिवा–खाजा प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताए । उक्त गाउँपालिकाले गाउँ शिक्षा समिति र वडा शिक्षा समितिसमेत गठन गरेको छ ।


घरधुरी सर्भेक्षण गरेर गाउँपालिकाको वस्तुस्थिति तयार पारेको मकवानपुरगढीले कार्यविधि बनाएर दिवा–खाजा कार्यक्रम सञ्चालन गर्न लागेको हो । कात्तिक महिनादेखि दिवा– खाजाको कार्यक्रम लागू गर्ने गापा अध्यक्ष हुमागार्इंले बताए । मकवानपुरगढी गाउँपालिकामा ४ हजार ८ सय ४८ घरधुरी र कुल जनसंख्या २५ हजार १ सय ७३ छ । गाउँपालिकाले दिवा–खाजा कार्यक्रमलाई निरन्तर र प्रभावकारी बनाउने योजना बनाएको छ ।


उक्त गाउँपालिकाले २०७४ कात्तिक २८ गते गाउँ शिक्षा ऐनसमेत जारी गरिसकेको छ । गाउँपालिकाले विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमै समेट्न पनि विशेष अभियान सञ्चालन गरिरहेको छ । ८ वटा वडा रहेको गाउँपालिकाले १, ३ र ५ नम्बर वडाका सबै बालबालिका विद्यालयमै समेटिएको घोषणा गरिसकेको छ ।


गाउँपालिकाका सबै बालबालिका समेटिएको छिट्टै घोषणा गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख टीकाप्रसाद गौतमले बताए । गाउँको शिक्षालाई प्रभावकारी बनाउन शिक्षा अनुगमन समितिसमेत गठन गरिएको छ । गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक जितबहादुर घिमिरेको संयोजकत्वमा शिक्षा अनुगमन समिति गठन गरिएको छ ।


गाउँपालिका क्षेत्रका ४० विद्यालयमा ४ हजार ९ सय ६२ विद्यार्थी अध्ययनरत छन् । पृथ्वी नारायण शाहको ससुरालीसमेत रहेको उक्त गाउँपालिकाले दरबन्दी मिलान गर्न र विद्यालय मर्ज गर्न शिक्षा शाखा प्रमुख टीका गौतमको संयोजकत्वमा शिक्षा अनुगमन समिति गठन गरेको छ । उक्त समितिले प्रतिवेदन पेस गरेपछि दरबन्दी मिलान गर्ने क्रममा शिक्षक अपुग देखिएमा गाउँपालिकाले नै राहत स्वरूप शिक्षक भर्ना गर्नका निम्ति बजेट पनि विनियोजन गरेको गापा अध्यक्ष हुमागाईले बताए ।


‘गाउँपालिकाभित्रका केही प्राथमिक तहका स्कुल मर्ज गर्नुपर्ने देखिएको छ,’ उनले भने । मकवानपुर गढी वुढीचौर, सुकौरो र आमभन्ज्याङ चार गाविस मिलाएर मकवानपुरगढी गाउँपालिका बनाएको हो । उक्त गाउँपालिकामा जनजाति समुदायको बाहुल्य छ ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT