कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केन्द्र सार्ने प्रक्रियाले विवाद

कचनकवल गाउँपालिकाको केन्द्र वडा ६ बाट ७ सार्ने प्रक्रियामा
केही जनप्रतिनिधि र स्थानीयद्वारा स्थानान्तरको विरोध
अर्जुन राजवंशी

बनियानी (झापा) — कचनकवल गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद उत्पन्न भएको छ । गाउँपालिकाले केन्द्र सार्ने तयारी गरेको छ भने केही जनप्रतिनिधि र स्थानीयवासी त्यसको विरोधमा आन्दोलित छन् ।

केन्द्र सार्ने प्रक्रियाले विवाद

साबिकका बनियानी, पाठामारी, बालुबाडी, पथरीया, केचना र घेराबारी गाविसलाई मिलाएर कचनकवल गाउँपालिका बनाइएको हो । गाउँपालिकाको कार्यालय हाल वडा ६ बनियानीमा छ । गाउँपालिकाले अब केन्द्र वडा ७ बालुबाडीमा सार्ने प्रक्रिया अघि बढाएको छ ।


उक्त प्रक्रियाको विरोधमा गाउँपालिकाका १४ जना जनप्रतिनिधि र स्थानीय आन्दोलित बनेका हुन् । उनीहरूले केन्द्र बनियानीमै रहनुपर्ने माग गरिरहेका छन् । केन्द्र सार्नका लागि गाउँपालिकाले वडा ७ मा १५ कट्ठा जमिन नि:शुल्क प्राप्त गरिसकेको छ ।


अधिकृत केशव मैनालीले गाउँपालिकालाई प्रविण अग्रवालले १५ कट्ठा जमिन नि:शुल्क उपलब्ध गरएको जानकारी दिए । जग्गा गत असार अन्तिम साता गाउँपालिकाको नाममा रजिस्ट्रेसन पाससमेत गरिसकेको अधिकृत मैनालीले बताए । केन्द्र सार्ने प्रक्रियाविरुद्ध वडाध्यक्षहरू वडा २ का मेखप्रसाद भट्टराई, ४ का प्रमानन्द राजवंशी, ६ का कुलबहादुर कार्की र ७ का भरत राजवंशी छन् । केही वडा सदस्य पनि उक्त प्रक्रियाको विरुद्धमा उभिएका छन् ।


१४ जनप्रतिनिधिसहित नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, संघीय समाजवादी फोरमलगायत दलले विरोध गरिरहेका हुन् । आन्दोलनका संयोजक कांग्रेस नेता भूमि राजवंशीले बनियानीबाट केन्द्र सार्ने निर्णय स्वीकार्य नहुने बताए । उनले भने, ‘केन्द्र सार्ने निर्णय हामीलाई कुनै हालतमा स्वीकार्य छैन । स्थानीय तहको निर्वाचन भएको ६ महिनाभित्र गर्नुपर्ने निर्णय हाल आएर कार्यान्वयन गर्ने कुरा मान्य हुदैन ।’


वडा ६ का वडाध्यक्ष कुलबहादुर कार्कीले गाउँपालिकाबाट निर्णय नै नगरि केन्द्र सार्ने प्रक्रिया अघि बढाइएकाले विरोध गरेको बताए । स्थानीय तहको चुनाव भएको ६ महिनाभित्र केन्द्र सार्ने नियम भएपनि उक्त अवधिभित्र कुनै प्रक्रिया नगरि हाल केन्द्र सार्न खोज्नु अध्यक्षको गलत नियत भएको बताए । उनले जमघट र सबै कुराको सुविधाको हिसाबले गाउँपालिकाको केन्द्र हाल रहेकै बनियानी नै उपयुक्त भएको दाबी गरे ।


असन्तुष्ट पक्षले अध्यक्षले आफ्ना, आफन्तको जग्गा जमिन भएको ठाउँमा केन्द्र सार्न लागेको आरोप समेत लगाएका छन् । स्थानीय कनक राजवंशीले खोला नजिक भएको, बर्षातो समयमा डुबान हुने तथा इँटा उद्योग भएको स्थानमा केन्द्र सार्न लागेकाले विरोध गरेको बताए । उनले केन्द्र सार्न लागेको क्षेत्र गाउँपालिकाबासीको इच्छाभन्दा पनि अध्यक्षको एकल जोड भएको बताए ।


गाउँपालिका अध्यक्ष अञ्जार आलमले गाउँपालिकाको प्रथम परिषद्बाटै केन्द्र सार्ने निर्णय गरेको जानकारी दिए । उनले उक्त निर्णयमा सबै निर्वाचित जनप्रतिनिधिले हस्ताक्षर गरेको बताए । ‘केन्द्र सार्ने निर्णय प्रथम परिषद्बाटै भएको हो । तर, हाल आएर उहाँहरू आफैंले गरेको निर्णयको विरुद्धमा उभिनुभएको छ । हामी अचम्मित भएका छौं,’ अध्यक्ष आलमले भने । उनले प्रथम परिषद्ले गाउँपालिकाको केन्द्र राख्नका लागि तोकेको क्षेत्रभित्रकै जग्गा प्राप्त भएको बताए ।


‘गाउँपालिका केन्द्रका लागि बनियानीदेखि बाङ्गाडाँगीभित्र जग्गा खोज्ने भनेर परिषद्बाट निर्णय भएको छ । उक्त निर्णयअनुसार प्राप्त निवेदनलाई स्वीकार्दै हामीले भने बमोजिम १५ कट्ठा जमिन पास गरेका हौं,’ अध्यक्ष आलमले भने । केन्द्र अन्यत्र सार्दा बनियानीका केही व्यक्तिलाई टाउको दुखाई हुने भएकाले उनीहरूको उक्साहटमा आन्दोलन सुरु गराइएको आलमले आरोप लगाए ।


तर, वडाध्यक्ष कार्कीले प्रथम परिषद्मा केन्द्र सार्ने नभई कार्यालयका लागि जग्गा खोजि गर्ने भन्ने निर्णय भएको बताए । उनले भने, ‘हामीले हस्ताक्षर गरेको विषय भनेको कार्यालयका लागि जग्गा खोजी गर्ने भनेर हो ।’ गाउँपालिकाको प्रथम परिषद् गत माघमा बसेको थियो । उनले जग्गा खोजी गरिसकेपछि उक्त जग्गा उपयुक्त छ कि छैन, त्यसको अनुगमन गर्नुपर्नेमा कुनै प्रक्रिया पूरा नगरी अध्यक्षले चुपचाप पास गरेको बताए ।


‘निवेदन आएपछि एक पटक अनुगमन गर्नुपर्ने थियो । जग्गा पास गराउने भनेर निर्णय गराउनुपर्ने थियो । ती कुनै प्रक्रिया गरिएका छैनन्,’ उनले भने, ‘साउनमा बजेटबारे छलफल गर्दा मात्रै जग्गा त पास भैसक्यो भन्दा हामी छक्क पर्‍यौं ।’


यस विषयमा सोमबार अध्यक्षको नेतृत्वमा गाउँपालिकाको प्रतिनिधि र असन्तष्ट पक्षबीच वार्ता भएको थियो । तर, वार्तामा गाउँपालिकाको टोली बनियानीबाट केन्द्र सार्ने र असन्तुष्ट पक्ष सार्न नमिल्ने आआफ्नो अडानबाट पछि नहटेकाले कुनै सहमति जुट्न सकेन । सहमति नजुटेपछि आन्दोलनरत पक्षले केन्द्र सार्ने प्रक्रियाविरुद्ध कानुनी उपचार खोज्ने बताएको छ ।

प्रकाशित : भाद्र २८, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?