कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँखाका भारतीय बिरामीको चाप

विराटनगर आँखा अस्पतालको आकर्षण बढ्दो
१२ वर्षमा ५ लाख ७९ हजारको शल्यक्रिया

मोरङ — भारत, बिहारको पूर्णियाका ६० वर्षीय रुद्रनारायण यादव विराटनगर आँखा अस्पतालमा शल्यक्रिया गराएपछि देख्न सक्ने भएका छन् । २५ वर्षदेखि उनी दृष्टिविहीन उनी एउटा आँखामा नानी प्रत्यारोपण गरेपछि देख्न सक्ने भएका हुन् ।

आँखाका भारतीय बिरामीको चाप

जवानीमै सुरुमा आँखाबाट आँसु बग्न थालेको र बिस्तारै धमिलिँदै पछि देख्नै छाडेको यादवले बताए । दृष्टि गुमेपछि गाउँमा ‘सुरदास’ नाम पाएका यादवले शल्यक्रियापछि देख्न सक्ने हुँदा खुसी व्यक्त गरे । यस्तै, भारतको उत्तर प्रदेशका मनिस पाण्डेका १२ वर्षीय छोराको आँखा शल्यक्रिया गरेपछि देख्न सक्ने भएका छन् । जन्मैदेखि दृष्टि नभएका छोराले संसार हेर्न पाएपछि खुसीको सीमा नभएको पाण्डेले बताए । उनले भारतमा सुविधासम्पन्न अस्पताल भए पनि अत्यन्तै महँगो र उपचार सहज नभएकाले यहाँ आएको बताए ।


अस्पतालले आँखा शल्यक्रियाका लागि अत्याधुनिक सुविधासहितको उपकरण ल्याएको छ । अझ बालबालिकाको आँखा शल्यक्रियाका लागि ‘जेप्टो फेको’ सर्जरीले धेरै सजिलो भएको चिकित्सकले बताएका छन् । अस्पतालमा भारतका विभिन्न प्रान्तबाट आँखा उपचारका लागि बिरामी आउने गरेको अस्पतालका प्रबन्धक कुमार पृथुले बताए । अस्पतालका अनुसार हालसम्ममा ५ लाख ७९ हजार ४ सय १५ जनाको आँखा शल्यक्रिया गरिएको छ । यस्तै हालसम्ममा २१ लख ६८ हजार २ जनाले आँखा उपचार गराएको अस्पतालले जनाएको छ ।


अस्पतालको १२ औं वार्षिकोत्सव अवसरमा बिहीबार प्रस्तुत गरिएको तथ्यांकमा सन् २०१७ सेप्टेम्बरदेखि सन् २०१८ अगस्टसम्म ५१ हजार ७ सय ५२ जनाको आँखा शल्यक्रिया गरेको उल्लेख छ । अस्पतालका कार्यक्रम निर्देशक डा. सञ्जयकुमार सिंहका अनुसार सन् २०१७ मा ४ लाख १३ हजार ४ सय ८५ जनाको आँखा जाँच गरिएको थियो । आँखा उपचारका लागि अस्पतालले गाउँगाउँसम्म पुगेर पनि सेवा उपलब्ध गराइरहेको उनले जनाए ।


सन् २००६ मा विराटनगरमा घर भाडामा लिएर स्थापना गरिएको अस्पताल हाल आफ्नै सुविधासम्पन्न भवनमा छ । नेपाल नेत्रज्योति संघको सहकार्यमा सञ्चालन भइरहेको अस्पतालले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराइरहेको सिंहले दाबी गरे । ‘आँखा उपचारमा न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्रदान गरेकै कारण अस्पतालले ख्याति कमाएको छ,’ उनले भने, ‘चुस्त व्यवस्थापन, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र सुविधायुक्त पूर्वाधारका कारण अस्पतालले सफलता पाउँदै गएको छ ।’


नेत्रज्योति संघका महासचिव श्यामकुमार पोखरेलले विराटनगर आँखा अस्पताल नेपालकै सर्वोत्कृष्ट अस्पताल बनेको बताए । ‘गुणस्तरीय सेवाका कारण अस्पतालले कामाएको ख्यातिले नेपालकै गौरव बढाएको छ,’ उनले भने, ‘अस्पताललाई आँखासम्बन्धी विश्वविद्यालय बनाउनका लागि जुनसुकै सहयोग गर्न संघ तयार छ ।’


संघका कोषाध्यक्ष तथा सगरमाथा आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले लहानमा डाक्टर बस्न नमानेका कारण विराटनगरमा पनि आँखा अस्पताल सञ्चालन गर्नुपरेको बताए । विराटनगर प्रदेश १ कै सबैभन्दा ठूलो सहर भएको र भारतीय बिरामीलाई पनि उपचारका लागि आउन सहज भएका कारण पनि आँखा अस्पतालमा बिरामीको सधैं चाप हुने गरेको उनले बताए ।


अस्पतालका उपाध्यक्ष विजयहरि शर्माले विराटनगर यो अस्पताल स्थापनाले आँखा उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटेको बताए । अस्पतालका अध्यक्ष पदमनारायण चौधरीले गुणस्तरीय स्वास्थ्यसेवा सर्वसुलभ रूपमा जनतामाझ पुर्‍याउने अभियानमा अस्पताल लागिपरेको बताए ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?