कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उच्च शिक्षामा अवरोध

विप्लव भट्टराई

इलाम — आर्थिक अवस्था र परीक्षाको नतिजा राम्रो नभएका कारण चाहेको विषय पढ्न नपाउने धेरै हुन्छन् । यहाँका आलोक खतिवडाले २ वर्षअघि ए ग्रेडमा एसईई उत्तीर्ण गरेर विज्ञान पढ्ने तीव्र चाहना राख्दा पनि पाएका छैनन् । उनको चाहनामा अवरोध बन्यो– अपांगता ।

उच्च शिक्षामा अवरोध

कम्मरमुनिको भाग नचल्ने आलोकलाई विज्ञान पढाउन अभिभावकले काठमाडौंका दर्जनौं कलेज चहार्दा पनि सफल भएनन् । मन मारेर उनी व्यवस्थापन पढ्न बाध्य भए । सन्दकपुर ५ इङ्लाका आलोक खतिवडाले सदरमुकामै फाउन्डेशन क्याम्पसबाट १२ कक्षा उत्तीर्ण गरे । तर अब फेरि यसअघिको पढाइमा उनलाई समस्या छ ।

उनी बीबीएस सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्ययन गर्न चाहन्छन् । ११ र १२ कक्षामा नै फस्ट डिभिजनमा उत्तीर्ण गरेका उनलाई सरकारी क्याम्पस पढ्ने रहर हुँदाहुँदै फेरि अवरोध आएको छ । यतिन्जेल हिलचियरको सहायताले अध्ययन गर्दै आएका उनलाई क्याम्पससम्म पुर्‍याउन अभिभावकलाई पनि कठिन छ । यस्तो अवस्था उनको मात्र होइन ।

दाजु भुपालको पनि शारीरिक अवस्था ठ्याक्कै उस्तै छ । क्याम्पस पुग्नकै समस्याले उनी घरमै बसेर अध्ययन गर्न बाध्य छन् । बीए तेस्रो वर्षमा अध्ययनरत भुपालले ११ र १२ कक्षा आदर्श माविबाट पास गरेका हुन् । क्याम्पसनजिकै कोठासमेत नपाइने भएकाले बुवा भुवनले छोरासहित आफूहरू २ जनालाई पनि होस्टलको व्यवस्था गर्न आग्रह गरे । भुपालले स्नातक तह सुरु गर्दादेखि उनले क्याम्पसमा बस्ने व्यवस्थाका लागि पहल गरे पनि सफल भएनन् ।

भुपाल र आलोकलाई राख्ने डेरा भेट्नै कठिन छ । कोठाको ढोकासम्म नै ह्विलचियर पुग्नुपर्ने भएकाले उनीहरूलाई थप समस्या भएको हो । पढाइमा दुबै छोराका सफलता राम्रो छ । तरकारी पसल गरेर जसोतसो व्यवस्था गर्दै आएका उनीहरूलाई बासस्थानको व्यवस्था मिलाउन भने भुवनलाई सधैं समस्या पर्ने गरेको हो ।


‘१२ कक्षा उत्तीर्ण गरेको फाउन्डेशन क्याम्पसले नि:शुल्क पढ्ने व्यवस्था गरेको छ,’ भुवनले भने, ‘तर उसको रहर सरकारी क्याम्पस पढ्ने भएकाले समस्या भएको हो ।’ फाउन्डेशन पुग्न पनि सजिलो भने छैन । हिल चियारवाट बजारको लामो फेरो मार्दै ३२ वटा सिडीमा बोक्नुपर्छ । यहि समस्या भएकाले चाहेर पनि भुपालले कक्षा लिन पाएनन् ।

छोराहरूको पढाइका लागि नै सदरमुकाम छिरेर दु:ख जेलो गरेको खतिवडा परिवार भूपाललाई नियमित कक्षामा पुर्‍याउन नसक्दा खिन्न छन् । अब आलोकको पनि उस्तै अवस्था हुने भन्दै उनीहरू चिन्तित छन् । अपाङ्गमैत्री घरको अभावमा मालापथस्थित एउटा पुरानो घरमा खतिवडा परिवारको डेरा छ । त्यहाँबाट क्याम्पसनजिक डेरा सर्ने उपाय उनीसँग छैन । विकट गाउँमा घर भएका भुवन छोराछोरीको पठनपाठनकै लागि पुख्र्यौली थातथलो छाडेर सदरमुकाम छिरेका हुन् ।

दिनभर घरमा नै बस्नु परेपछि विषयवस्तु उकाउनै नसकेको भुपाल बताउँछन् । ‘कम्तीमा कक्षा लिन पाए घरमा मेहनत गर्न जाँगर आउने थियो,’ उनले भने, ‘यतिन्जेल कुनै कक्षा पनि असफलता भोग्नु परेन, योपटक भने पास गर्न मुस्किल छ ।’

दुवै छोराको अध्ययनका लागि भुवनले राजधानीका पनि क्याम्पस नचाहरेका होइनन् । तर आश्वासन बाहेक उनले केही पनि पाउन सकेनन् । ‘केही क्याम्पसले आस देखाएका थिए तर केही गरेनन् ।’ प्रवेशिका परीक्षामा ‘ए’ श्रेणीमा उत्तीर्ण गरेका आलोकको विज्ञान पढ्ने तीव्र इच्छा भए पनि मन मार्न बाध्य भए ।

प्रकाशित : भाद्र ३१, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?