कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमा खाल्डैखाल्डा

ठेकेदारको लापरबाही
अर्जुन राजवंशी

दमक — ठेकेदारको लापरबाहीका कारण मोरङको उर्लाबारी–मधुमल्ला–तोरीबारी सडक आउजाउ गर्नै गाह्रो हुने गरी बिग्रिएको छ ।

सडकमा खाल्डैखाल्डा

ठेकेदारले समयमा काम नसक्दा सडक खण्डको दर्जनौं स्थानमा खाल्डाखुल्डी परेका छन् । केही स्थानमा पूरै सडक ढाक्ने गरी खाल्डो परेर पोखरी नै बनेको छ ।

उर्लाबारी–मधुमल्ला–तोरीबारी १२.४ किलोमिटर सडक कालोपात्रेसहित निर्माणका लागि सरकारले ०६८ फागुनमा टेन्डर आहान गरेको थियो । ०६९ जेठ ४ मा तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी काठमाडौंको प्रेरा–ज्योति जेभीले ठेक्का लिएको थियो । डिभिजन सडक कार्यालय विराटनगरका अनुसार ८ करोड ९४ लाख रुपैयाँमा ठेक्का लागेको थियो । ठेक्का सम्झौता भएको ६ वर्ष बितिसक्दा समेत ठेकेदारले सडक निर्माणको काम सम्पन्न गरेको छैन ।

ठेकेदारले पटकपटक रोक्दै काम गर्दै आएको छ । उर्लाबारी–मधुमल्ला–तोरीबारी सडक निर्माण पहल तथा दबाब समितिका संयोजक मानबहादुर श्रेष्ठले एकै समयमा काम नगरेकाले निर्माण गरेको सडक पनि गुणस्तरहीन बनेको बताए । उनले गुणस्तरीय नबनेकै कारण सडकको काम सम्पन्न नहँुदै भत्किएको दाबी गरे । ‘सडक निर्माणको काममा गुणस्तर नै छैन,’ श्रेष्ठले भने, ‘त्यसैको नतिजा हो सडकको अहिलेको हालत । काम सकिएकै छैन । तर, पूरै सडक भत्किएर हिँड्नै नसकिने भएको छ ।’ सूर्य चोक उत्तर, सिमाना बस्ती उत्तर, टप्पु, महेशचोक र मधुमल्ला चोक दक्षिणमा बाटो हिँड्नै नसकिने गरी भत्किएको छ । ‘यो खाल्डोमा सधैंजसो मान्छे लड्छन्,’ सिमाना बस्ती उत्तरको सडकमा बनेको पोखरीजस्तै खाल्डो देखाउँदै स्थानीय यसोदा लिम्बूले भनिन् ।

‘धेरैजसो बिहान क्याम्पस हिँडेका विद्यार्थी र स्कुटरमा सवार महिला लडेका छन्,’ उनले भनिन, ‘पूरै बाटोमा पोखरी बनेको छ । छेउबाट हिँड्नुपर्छ । अलिकति दायाँबायाँ भयो भने लडिहाल्छन् ।’ सडकको बीचमै एक वर्षदेखि पोखरीजस्तै खाल्डो बनेकाले आवतजावतमा पूरै समस्या भएको स्थानीय देबेन्द्र तामाङले बताए । ‘वर्षांैदेखिको प्रयासपछि बल्ला सडक कालोपत्रे बनेको थियो । तर, एक–दुई वर्षमै कालोपत्रे सडक ग्राभेलभन्दा नराम्ररी भत्किदा हामीलाई हिँडडुल गर्न निकै सास्ती भएको छ,’ तामाङले भने । ठेकेदार कम्पनीले मधुमल्लादेखि उत्तर तोरीबारीसम्मको सडक खण्ड ७ महिनाअघि मात्रै कालोपत्रे गरेको थियो । तर, गुणस्तरीय नभएकाले उक्त सडक खण्ड पनि भत्कन थालेको स्थानीय सन्तोष
गौतमले भने ।

‘यो बाटोमा ठेकेदारको चरम लापरबाही छ । बनाइसकेकै छैन, भत्किएर खाल्डैखाल्डा भएका छन्,’ गौतमले भने, ‘सरोकारवाला निकायले ध्यान दिएन । ठेकेदारले त्यसैको फाइदा उठाउँदै सडकमा चरम लापरबाही गरेको हो ।’ उक्त सडकमा गुणस्तर कम भएको तथा निर्धारित मितिमा सडक निर्माण नभएको भन्दै सम्बन्धित निकायमा सयौंपटक ताकेता गरेको संयोजक श्रेष्ठले बताए ।

उक्त सडकमा ठेकेदार राजकिशोर गुप्ताले काम गर्दै आएका छन् । उनले ठेक्का सम्झौता गरेलगत्तै सडक भत्काएर छाडेका थिए । धेरै महिनासम्म काम रोकेपछि ठेक्का सम्झौता भएकै वर्ष ०६९ मा उर्लाबारी र मधुमल्लाबासीले दबाबमूलक कार्यक्रम गरेका थिए । उनीहरूले ठेकेदारले सडक बनाउने भन्दै भत्काएर काम सुरु नगरेको भन्दै ०६९ माघ २१ देखि रिले अनसन सुरु गरेका थिए ।

सडक निर्माणको काममा ढिलाइ भएर तथा गुणस्तरबारे पटकपटक जानकारी गराउदा समेत ठेकेदार गुप्ताले बेवास्ता गरेको डिभिजन सडक कार्यालय विराटनगरका प्रमुख कौशलकुमार यादवले बताए । उनले निर्धारित समयमा काम नसकेको भन्दै कालोसूचीमा राख्दै ठेकेदारलाई कारबाही गर्न टिप्पणी समेत उठाइसकेको बताए ।

प्रकाशित : आश्विन १, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?