कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानी महसुल वृद्धि : कार्यालय घेराउ

संखुवासभा — खाँदबारी नगरपालिकामा वितरण गरिएको खानेपानीमा ५३ प्रतिशत महसुल वृद्धि गरिएपछि उपभोक्ताले खानेपानी कार्यालय घेराउ गरेका छन् ।

खानेपानी महसुल वृद्धि : कार्यालय घेराउ

बृहत् खाँदबारी सहरी साना खानेपानी उपभोक्ता संस्थाबाट वितरण हुँदै आएको पानीको महसुल एक्कासी ५३ प्रतिशत वृद्धि भएपछि चौतर्फी विरोध भएको हो ।


उपभोक्ताले खानेपानी कार्यालय घेराउ गर्दै पुरानै शुल्कमा उपभोग गर्न पाउनुपर्ने बताए । समितिले आफू खुसी शुल्क बढाएको उपभोक्ताको आरोप छ । ‘पहिलेकै महसुल बढी थियो,’ संघर्ष समितिका अध्यक्ष योगराज खडकाले भने, ‘कसैलाई नसोधी आयोजनाले शुल्क वृद्धि गरेछ ।’

आयोजनाको महसुल गत साउनदेखि लागू हुने गरी महसुल वृद्धि गरेको उनले बताए । महसुल शुल्क घटाउन १३ बुँदे माग पत्रसहित ६ दिनको अल्टिमेटम दिएको उनले बताए । उपभोक्ता संस्था दैनिक १ घण्टा पानी उपलब्ध गराउने बताए पनि नियमित रूपमा पानी समेत दिएको छैन, उनले भने, ‘शुल्क बढेपछि उपभोक्ताको ढाड
सेकिएको छ ।’

‘पैसा हुनेले तिर्न सक्लान तर बिहान बेलुका छाक टार्नेका लागि मुस्किल भएको छ, उनले भने, ‘शुल्क नघटे चरणबद्ध आन्दोलनमा उत्रिन्छांै ।’ उपभोक्ताले महसुल शुल्क घटाउनुपर्ने, न्यूनतम युनिट बढाउनुपर्ने, नियमित र स्वच्छ पानी दिनुपर्ने जस्ता माग राखेका छन् । उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र राईले आयोजना निर्माणको चरणमा पटकपटक डिजाइन परिवर्तन हुँदा २५ प्रतिशत खर्च बढेकाले नगर विकास कोषसँग ऋण सम्झौता गर्दा शुल्क वृद्धि गर्ने सहमति गरिएको बताए ।

उनले नगर विकास कोषको ऋण तिर्नुपर्ने भएकाले पनि कुनै हालतमा शुल्क नघट्ने बताए । संस्थाले न्यूनतम ५ युनिटसम्मको प्रतिमहिना १ सय ५० बाट २ सय ३० बढाएको हो । ६ देखि १० युनिटसम्म प्रतियुनिट ४५ रहेकोमा हाल ७० रुपैयाँ पुर्‍याएको छ । ११ देखि २० युनिटसम्मको प्रतियुनिट १ सय ५ पुर्‍याएको छ । यसअघि प्रतियुनिट ७२ रुपैयाँ लिइँदै आएको थियो । प्रतिमहिना २ सय ३० मा १० युनिटसम्म पानी दिनुपर्ने उपभोक्ता सन्तोष चापागाईको गुनासो छ ।

संस्थाले जडान शुल्क भन्दै उपभोक्ताबाट अग्रिम ५ प्रतिशत रकम संकलन गरेको थियो । त्यस बेला दुई करोड १५ लाख उठाइएको थियो । आयोजना सञ्चालनका लागि नगर विकास कोषबाट २० करोड दुई लाख ऋण लिएको थियो । संस्थाले उक्त ऋण १५ वर्ष भित्रमा तिर्नुपर्ने छ । भोरिएसन अडर र मूल्य समायोजनसहित आयोजनाको खर्च रकम करिव ४६ करोड ५१ लाख खर्च भइसकेको छ ।


खानेपानी मुहान खाँदबारीबाट ४३ किलोमिटर टाढा छ । खाँदबारीमा पानी वितरण गर्न मकालु गाउँपालिका ५ मांसिमाको सिमाली खोलाबाट ल्याइएको हो । संस्थाले खाँदबारी नगरपालिकाको १ देखि ९ वटा वडा, चिचिला गाउँपालिकाको चिचिला बजार क्षेत्र र कुवापानीका करिव दुई हजार ५ सय धुरीलाई पानी वितरण गरेको जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?