कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत् आयोजना अलपत्र

भाेजपुर — विवादका कारण २ सय ५० किलोवाट क्षमताको सिक्तेल खोला जलविद्युत् आयोजना अलपत्र अवस्थामा छ । विद्युत् गृह बन्द भएको लामो समयसम्म पनि सञ्चालन हुन नसक्दा उपकरण बिग्रन थालेका छन् ।

विद्युत् आयोजना अलपत्र

कोट हुँदै टेम्केमैयुङ गाउँपालिका पुग्ने सडक विस्तारका क्रममा झरेका ढुङ्गामुडाले विद्युत्गृहका उपकरणमा क्षति पुगेको छ । ९ वर्षभन्दा बढी समयदेखि अलपत्र भएकाले मेसिन र महत्त्वपूर्ण उपकरण कामै नलाग्ने अवस्थामा पुगेको प्राविधिकले बताएका छन् ।

भौतिक संरचना लथालिङ्ग अवस्थामा भए पनि यसको मर्मत र स्याहारमा कसैले चासो नदिएको विद्युत्गृहका चौकीदार दिलिप तामाङले बताए । विद्युत् प्राधिकरण र समितिबीचको विवाद नमिलेसम्म विद्युत्गृहको पुनर्निर्माण र पुन:सञ्चालन नहुने नेपाल विद्युत् प्राधिकरण भोजपुर, वितरण केन्द्रका प्रमुख रामआशिष शाहले बताए ।


उनले भने, ‘नेपाल विद्युत् प्राधिकारण र भोजपुर विद्युत् सहयोग समितिबीच उक्त आयोजनालाई लिएर मुद्दा चलेको छ । त्यसको फैसला भएपछि मात्र आयोजनाको पुनर्निर्माणको काम अघि बढ्न सक्छ ।’ ०३८ सालमा सरकारले निजी क्षेत्रलाई विद्युत्गृह हस्तान्तरण गर्ने क्रममा भोजपुरको उक्त आयोजना तत्कालिन भोजपुर विद्युत् सहयोग समितिलाई हस्तान्तरण गरेको थियो ।

त्यसपछि समितिलाई प्राधिकरणले मर्मत खर्च बापतको करिब २ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै मुद्दासम्म लगायो । उता समितिले विद्युत् प्राधिकरणलाई लिजको भाडा नदिएको भन्दै दुईतर्फीले एकले अर्कालाई अदालतमा मुद्दा हालाहाल गरेका थिए ।

दुबै पक्षबीच विवादको सिकारमा परेको यो आयोजना अन्तत: खण्डहर बन्न पुगेको थियो । विद्युत्गृह सञ्चालन नहुनको कारण बुुझेर समाधान गर्दै मर्मतको काम अघि बढाउने जिल्ला प्रशासनले जनाएको छ ।

कानुनी विवादको समाधान गरी विद्युत्गृह सञ्चालनमा ल्याउन आफूहरूको माग रहेको स्थानीय घमचन्द्र दाहाल बताउँछन् । ‘एक अर्कालाई मुद्दा हालेर काम रोक्नु राम्रो होइन । यसमा सम्बन्धित निकायको पनि ध्यान जान आवश्यक छ,’ उनले भने, ‘समिति र प्राधिकरणको समझदारी र मिलाप विद्युत्गृहको पुन:सञ्चालन नै उत्तम हो ।’

प्रकाशित : आश्विन ५, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?