सरकारीमा विशेषज्ञ चिकित्सक छैनन्

देवनारायण साह

मोरङ — कटहरी गाउँपालिका ३ की साबित्री सरदारले आँखामा समस्या आएपछि उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल आइन् । पुर्जा काट्न लाममा बसिन् ।

सरकारीमा विशेषज्ञ चिकित्सक छैनन्

पालो आएपछि उनले आफनो समस्या राखिन् । काउन्टरका कर्मचारीले आँखाको उपचार गर्ने विशेषज्ञ चिकित्सक नभएको जानकारी गराए । सरदार बाध्य भएर विराटनगरको निजी अस्पतलामा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भइन् ।

‘सस्तोमा उपचार हुन्छ भनेर सरकारी अस्पताल आएको डाक्टरै रहेनछ,’ उनले भनिन्, ‘सरकारी अस्पतालमा जहिले पनि डाक्टरै हुँदैनन् त्यसैले प्राइभेटमा उपचार गराउँदा महँगोमा परिन्छ ।’ अस्पतालमा क्यान्सर परीक्षण गर्ने उपकरण भए पनि चिकित्सक अभावमा सर्वसाधारण बिरामी चर्को शुल्क तिरेर निजी क्लिनिकमा परीक्षण गराउन बाध्य छन् ।

अस्पतालमा ११ औं तहको क्यान्सर परीक्षण गर्ने प्याथोलोजिस्ट चिकित्सक नभएर उक्त उपकरणको पनि उपयोग हुन सकेको छैन । यहाँको परीक्षण विश्वसनीय हुन थियो तर चिकित्सक नभएकाले निजीमा जानुभन्दा भरतपुर क्यान्सर अस्पताल जान बाध्यात्मक अवस्था रहेको स्थानीय रामकुमार मण्डलले गुनासो पोखे । यस्तै, अस्पतालमा हृदयरोगका विषयविज्ञ प्रमुख कन्सल्टेन्ट चिकित्सक र बरिष्ट कन्सल्टेन्ट चिकित्सक नभर सेवा सञ्चालनमा समस्या भएको छ । हृदय रोगका बिरामी निजी अस्पतालमा उपचार गराउन बाध्य रहेको उनले सुनाए ।

अस्पतालमा १९ विषयका विज्ञ चिकित्सकमध्ये स्त्रिीरोग, साइक्याट्रिस्ट, छालारोग, बालरोग, रेडियोलोजिस्ट र नाक, कान, घाँटी विषयमा मात्रै प्रमुख कन्सल्टेन्ट चिकित्सक कार्यरत छन् । अस्पतालमा ११ औं तहका प्रमुख कन्सल्टेन्ट चिकित्सक मेडिकल सुपरिडेन्टेन्टका लागि पब्लिक हेल्थ सर्भिसेजको, एनेसथेसिया, अर्थोपेडिक, फिजिसियन, जर्नल सर्जन, अप्थोलोजिस्ट, प्याथोलोजी, प्रमुख अस्पताल नर्सिङ प्रशासक, ग्यास्ट्रोलोजिस्ट, नेफ्रोलोजिष्ट, कार्डियोलोजिस्ट र ल्याब टेक्निसियन पद पूर्ति हुन सकेको छैन । विषय विज्ञ चिकित्सक पदपूर्ति नहुँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी अस्पतालमा सेवा लिन बाध्य रहेको स्थानीयको गुनासो छ ।

मेडिकल कलेजका रूपमा विस्तार गर्ने तयारीमा रहेको यस अस्पतालबाट सर्वसाधारणले चिकित्सक अभावमा प्रभावकारी सेवा प्राप्त गर्न सकेका छैनन् । अस्पतालमा ११ औं, ८/९ औं तह र मेडिकल अफिसियर गरी ३६ जना चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेश १ सरकरकार र अस्पताल प्रशासनले कोसी अञ्चल अस्पताललाई प्रदेश १ को अस्पतालका रूपमा विकास गर्ने र वीर अस्पतालसँग सम्झौता गरेर चालु आर्थिक वर्षबाट एमडी कोर्षको अध्ययन सुरु गर्ने जनाएको छ ।

वरिष्ठ कन्सल्ट्यान्सतर्फ ९ औं र १० औं तहको ४२ दरबन्दीमध्ये १९ जनाको खाली छ । रेडियोलोजिस्ट, न्युरोलोजिस्ट, युरोलोजिस्ट, न्युरो सर्जन, कार्डियोलोजिस्ट, कार्डियो सर्जन, नेफ्रोलोजिस्ट, डर्माटोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, डेन्टल सर्जनको ३ दरबन्दीसहित १९ चिकित्सक अभाव छ । मेडिकल अफिसरतर्फ चार जना र स्टाफ नर्सतर्फ ४ जनाको दरबन्दी हाल पनि खाली रहेको अस्पतालका सूचना अधिकृत विष्णुबहादुर बुढाथोकीले जनाए ।

११, ८/९ औं तहका विशेषयज्ञ डाक्टर दरबन्दी अनुसारको नहुँदा उपचारमा समस्या आएको अस्पतलाका सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले स्वीकार गरे । अस्पतालमा अहिले रहेको विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएको उनले बताए । ‘खाली रहेको दरबन्दीका लागि मन्त्रालयमा माग गरेका छौं,’ अहिलेसम्म पूर्ति भएको छैन ।’ रिक्त रहेको दरबन्दीका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा समेत जानकारी गराएको उनले बताए । अस्पतालले विभिन्न समयमा राजनीतिक नेतृत्व तथा सरकारका मन्त्रीहरूलाई विशेषज्ञ सेवा प्रवाहका लागि जनशक्ति उपलव्ध गराइदिन आग्रह गर्दै आएको भए पनि परिपूर्ति भने भएको छैन ।

प्रमुख कन्सल्ट्यान्टहरूको अभावमा कोसी अञ्चल अस्पताल अहिले रेफरल अस्पतालका रूपमा विकास भइरहेको छ । यहाँ उपचारका लागि आएका बिरामीलाई प्राथमिक उपचार गरेर अन्य विषयविज्ञ चिकित्सकीय सेवाका लागि अन्य अस्पतालमा रेफर गर्नुको अस्पताल प्रशासनसँग अर्को विकल्प नभएको अस्पतालका कर्मचारीको गुनासो छ ।

३ सय ५० शय्याको उक्त अस्पतालमा दैनिक १ हजार ५ सयसम्म बिरामी उपचारका लागि आउने गरेको अस्पताल तथ्यांकले जनाएको छ । अस्पतालका निमित्त प्रमुख डा. रोशन पोखरेलले विषयविज्ञ चिकित्सक नभएकाले सम्बन्धित विषयमा अस्पतालबाट सेवा प्रवाह गर्न नसकेको स्विकारे ।

संघीय संरचनामा यो अस्पताल प्रदेश सरकारको मातहतमा आएकाले अब चाँडै केही हुन्छ कि भन्नेमा आशावादी रहेको उनले सुनाए । उनले अस्पतालमा १९ जना विषयविज्ञको दरबन्दीमा हाल ५ वटा विषयका विज्ञ चिकित्सकमात्रै कार्यरत रहेको बताए । उनले केही दरबन्दीमा चिकित्सक अस्पतालमा हाजिर भएर अन्तै काज सरुवा गराएका छन् भने केहीमा दरबन्दी सृजना भएदेखि नै सरकारले चिकित्सक पठाउन नसकेको बताए ।

पोखरेलका अनुसार ९/१० औं तहका बरिष्ठ कन्सल्टेन्ट चिकित्सक ४२ जनामा १९ वटा र मेडिकल अफिसरको ४ वटा दरबन्दी रिक्त रहेकोले सर्वसाधारणलाई विशेषज्ञ सेवा प्रदान गर्न समस्या भइरहेको छ । ३ सय ५० शय्याको अस्पतालमा २ सय ४९ सरकारी र २ सय ६५ अस्पताल विकास समितिको गरी कुल ५ सय ९९ कर्मचारी र चिकित्सकको दरबन्दी छ ।

प्रकाशित : आश्विन ६, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?