कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धार्मिक पर्यटनको विकासमा स्थानीय

अर्जुन राजवंशी

झापा — धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको शिवसताक्षी नगरपालिका ११ स्थित सतासीधाम मन्दिर क्षेत्रको विकासमा स्थानीय जुटेका छन् । राज्यको लगानी र प्रचार अभावमा ऐतिहासिक धार्मिक महत्त्व बोकेको सतासीधाम ओझेलमा परेको भन्दै उनीहरू एकजुट भई विकासका लागि अघि बढेका हुन् ।

धार्मिक पर्यटनको विकासमा स्थानीय

सतासीधाम, पूर्वका प्रमुख धार्मिक क्षेत्रमध्येमा पर्दछ । तर, उचित संरक्षण र पहल हुन नसक्दा धाम क्षेत्र परापूर्वकालकै अवस्थामा चलिरहेको सतासीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताए । उनले धामक्षेत्रको विकासका लागि वर्षौंदेखि राज्यका विभिन्न निकायमा पहल गरे पनि आश्वासनबाहेक अरू केही नपाएको गुनासो गरे ।

‘राज्यको माथिल्लो निकायको मात्र आस गर्नु हुँदैन भनेर हामीले अब स्थानीय स्तरबाटै धाम क्षेत्रको विकासका लागि विभिन्न कार्यहरू गरिरहेका छौं,’ अध्यक्ष सुब्बाले भने । इलामको सीमासँग जोडिएको चुरे पहाडमा रहेको धामक्षेत्र पूर्वपश्चिम राजमार्गदेखि करिब ५ किलोमिटर उत्तरमा पर्दछ । पौराणिक कालमा पाण्डवहरू वनबासको समयमा यही स्थानमा हतियार लुकाएर विराट राजाको दरबार गुप्तास बस्न गएको किम्बदन्ती छ ।

धामक्षेत्रमा सतासी माताको मन्दिर, दिगम्बेश्वर महादेवको मन्दिर, बराह भगवानको मन्दिर, साकम्बरी माताको मन्दिर, हनुमानलगायतका मन्दिर छन् । धाम क्षेत्रदेखि डेढ किलोमिटर उत्तरमा सुन्दर झरनासमेत छ । चारैतिर वनक्षेत्र, नजिकै सताक्षी खोला, चुरेको फेदीमा धाम क्षेत्र रहेकाले धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको प्रदेश सांसद झलकसिंह दर्लामीले बताए ।

समग्र विकासमा पछि परेको धाम क्षेत्रको विकासका लागि हाल स्थानीयसँगै जनप्रतिनिधि समेत जुटेका छन् । संघीय तथा प्रदेश सांसदको पहलमा आइतबारदेखि धाम क्षेत्रमा विद्युत् सेवा पुगेको छ । प्रतिनिधिसभा सदस्य लालप्रसाद सावाँ र प्रदेश सांसद झलकसिंह दर्लामीको पहलमा विद्युत् प्राधिकरणको २७ लाख रुपैयाँ लागतमा धाम क्षेत्रमा विद्युत् पुगेको हो ।

साढे ५ किलोमिटर टाढाबाट ६१ पोल र २५ केभीएको एउटा ट्रान्सफर्मर जडान गरी धाम क्षेत्रमा विद्युत् सेवा पुर्‍याएको प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख राजिव सिंहले बताए । सतासीधाम क्षेत्रलाई प्रदेश १ कै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बनाउने गरी योजना बनाउने कार्य सुरु गरेको नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले जानकारी दिए । उनले २० लाख रुपैयाँ खर्चिएर धाम क्षेत्रको गुरुयोजना बनाउने कार्य सकिएको बताए ।

‘हामीले गुरुयोजना बनाइसकेका छौं । अब, गुरुयोजनामा उल्लेख भएअनुसारको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने तयारी गरिरहेका छौं’ मेयर शेर्माले भने, ‘डीपीआर र केही भौतिक संरचना निर्माणका लागि यो वर्ष खर्च गर्ने गरी नगरले ५० लाख रुपैयाँ समेत विनियोजन गरिसकेको छ ।’

उनले धामक्षेत्रको विकासका लागि प्रदेश सरकारले पनि चालु वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । प्रदेश र स्थानीय सरकारको गरी यो वर्ष एक करोड रुपैयाँले धाम क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सुरु गर्न लागेको उनले बताए । उनले नगरभित्र रहेको दोमुखा, चिल्लागढ र सतासीधामलाई सर्किड बनाएर पर्यटकीय हिसाबले विकास गर्न नगरपालिका जुटेको बताए ।

संघीय सांसद सावाँले भौतिक विकास र धाम क्षेत्रलाई व्यवस्थित गर्न सके आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सकिनेमा जोड दिए । रतुवामाई वृक्षरोपण आयोजनाको जंगलभित्र रहेको धाम क्षेत्रले करिब ३८ बिघा जमिन ओगटेको अध्यक्ष सुब्बाले बताए ।

धाम क्षेत्रको विकासका लागि उत्तरमा रहेको झरनालाई शिवपार्वती नामकरण गर्ने कार्य भएको छ । झरनासम्म जानलाई पदमार्ग बनाइएको छ । सुब्बाले थप कार्यमा एउटा व्यवस्थित पोखरी निर्माण गर्न आवश्यक रहेको बताए ।

त्यस्तै पुराना ११ जना साधुका आत्मघरहरूलाई व्यवस्थित गर्ने, साधुसन्तको लागि कुटीको व्यवस्था गर्ने, धाम क्षेत्रमा निर्माण गरिएका अव्यवस्थित घरहरूलाई व्यवस्थित गर्नुपर्ने छ । त्यस्तै बुद्धको मूर्तिसहित बुद्ध पार्क बनाउने, अतिथि गृह, गौशाला स्तान्तरणलगायतका कार्य गर्नुपर्ने सुब्बाले बताए । उनले गुरुयोजनाअनुसार कार्य गर्नका लागि करिब १० करोड रुपैयाँ खर्च लाग्ने बताए ।

प्रकाशित : आश्विन ८, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?