कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँभर प्लास्टिक पोखरी र टनेल

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटा नगरपालिका १ निगाले गाउँमा प्लास्टिक पोखरीमा माछा पालन र टनेल पद्धतिबाट तरकारी खेती सुरु गरिएको छ । वातावरण विभाग पुल्चोकको सहयोग तथा धनकुटा नगरपालिकाको समन्वयमा स्मार्ट भिलेज अर्थात जलवायु परिवर्तन अनकूलित नमुना गाउँ अन्तर्गत उक्त कार्य थालिएको हो ।

गाउँभर प्लास्टिक पोखरी र टनेल

यसै वर्षदेखि सुरु गरिएको योजनामा हालसम्म ५० प्लास्टिक पोखरीमा माछा पालन र ५० टनेलबाट तरकारी खेती सुरु गरिएको नगरपालिकाका वातावरण अधिकृत उपेन्द्र खनालले जनाए ।


विगतमा माछा पालनतर्फ अग्रसर नभएका कृषक पछिल्लो समय यसतर्फ आकर्षित बनेका छन् । स्थानीय तेजकुमारी कटुवालले टनेलमा तरकारी खेती र प्लास्टिक पोखरीमा माछा पालनबाट आम्दानी हात पार्न थालेको बताइन् ।


‘प्लास्टिक पोखरीबाट माछा र टनेलमा तरकारी फलाउन पाएपछि आम्दानी मिलेको छ’, उनले भनिन्, ‘विगतको जस्तो परम्परागत खेतीभन्दा यसबाट उत्पादनसमेत उल्लेख्य बढेको छ ।’ पहिलो चरणमा विभागको २० लाख रुपैयाँको लागतमा सुरु गरिएको योजनाबाट हालसम्म ९० घर प्रत्यक्ष लाभान्वित बनेका छन् । थप ५० घरमा पनि विस्तार गर्न लागिएको नगरपालिकाले जनाएको छ ।


उक्त गाउँका अधिकांश घरमा सुधारिएको चुलो, गोठ सुधार, थोपा सिंचाइ, बलेंसी पानी संकलन लगायतका कार्यक्रम पनि सञ्चालन गरिएको छ । आगामी वर्ष थप ५० लाख रुपैयाँ उपलब्ध हुने जनाइएको छ । यसबाट प्लास्टिक पोखरी, टनेल लगायत विस्तार गरिने भएको छ । यस्तै मौरी पालन, फूलबारी व्यवस्थापन पनि सुरु गरिने तयारी गरिएको छ । मौरी पालनबाट परागसेचन क्रिया वृद्धि हुने भएकाले कृषि तथा फलफूलमा १४ गुना बढी उत्पादन हुने कृषि प्राविधिकको दाबी छ ।


उक्त योजनाबाट हालसम्म १ सय ४० घर लाभान्वित बनेका छन् । यसैगरी रासायनिक मल विस्थापित गर्न घरेलु विषादी र कम्पोष्ट मल बनाउने तालिमसमेत दिइने अधिकृत खनालले बताए । यस्तै १ सय ४० घरमा ५ वटाका दरले एवोकाडोको बिरुवा पनि वितरण गरिएको छ । यो गाउँलाई तीन वर्षभित्र नमुना गाउँको रूपमा औपचारिक घोषणा गरिने भएको छ ।

प्रकाशित : आश्विन १०, २०७५ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?