जटिल शल्यक्रियामा सफलता

पाठेघरबाहिर गर्भ रहेकी महिलाको सफल शल्यक्रिया
दीपेन्द्र शाक्य

संखुवासभा — मकालु ५ पाथीभरा उम्लिङकी सृष्टि राई सामान्य पेट दुखेपछि जिल्ला अस्पताल खाँदबारी आइन् । अस्पताल आएको केही बेरपछि उनलाई थामिनसक्नु गरी पेट दुख्न सुरु भयो । चिकित्सकले भिडियो एक्सरे गरे ।

संखुवासभा मकालु ५ की सृष्टि राई उपचारपछि चिकित्सकसँग । तस्बिर : दीपेन्द्र

त्यसपछि थाहा भयो उनको पाठेघरबाहिरै गर्भ बसेको रहेछ । गर्भ फुटेपछि आन्तरिक रक्तश्राब सुरु भइसकेको थियो । चिकित्सकले पनि उनलाई थप उपचार गर्न रिफर गर्‍यो । तर, सडक मार्ग वर्षाले हिलाम्मे भएकाले उनको शल्यक्रिया गर्न सुविधासम्पन्न अस्पताल पठाउन समस्या भयो । हवाई जहाजबाट पठाउन पनि टिकट मिलेन ।


त्यसपछि जिल्ला स्वास्थ्य प्रमुख डा. लक्ष्मण खड्का, डा युवराज बस्नेत, डा. श्रृजना पाण्डेय लगायत चिकित्सक टोली अन्योलमा पर्‍यो । शल्यक्रियापछि राईलाई आईसियुमा राख्नुपर्ने पनि हुन सक्थ्यो । त्यो सुविधा यहाँ थिएन ।

Yamaha


चिकित्सकका अनुसार हिलाम्मे सडकमा बाहिर रिफर गर्दा बीचमै ज्यान गुमाउने सम्भावना त्यतिकै थियो । मौसमका कारण जहाजमा पनि पठाउने सम्भावना भएन । ‘व्यथाले झनझन च्यापिसकेको थियो, उपचारमा संलग्न डा. युवराज बस्नेतले भने, ‘सडक मार्ग र जहाजबाट लैजान नसक्ने भएपछि हामीले यहीँ शल्यक्रिया गर्ने आँट गर्‍यौं।’


झन्डै साढे २ घण्टा लामो प्रयासपछि शल्यक्रिया सफल भयो । ‘पाठेघरबाहिर करिब ७ हप्ताको गर्भ फुटेको थियो,’ स्वास्थ्य प्रमुख डा. खड्काले भने, ‘ठूलो जोखिम मोलेर मंगलबार शल्यक्रिया भयो ।’ उनका अनुसार आन्तरिक रक्तस्रावका कारण पाठेघरमा ३ लिटर रगत जमिसकेको थियो । पर्याप्त उपकरण नहुँदा सुरुमा जोखिम लिन आँट नगरेको तर सबैको सल्लाहअनुसार यहीँ सफल शल्यक्रिया गरिएको उनले बताए ।


शल्यक्रियापछि उनलाई ३ युनिट रगत दिइएको छ । बिहान ८ बजे पेट दुख्न थालेपछि उनका श्रीमान् उत्तमकुमारले अस्पताल ल्याएका थिए । उनको दिउँसो ४ बजे शल्यक्रिया भएको थियो । ‘सृष्टिको गर्भ रहेको समेत पत्तो थिएन, उत्तमले भने, ‘अस्पतालमा डाक्टरले पाठेघरबाहिर बसेको गर्भ फुटेको जानकारी दिएपछि छक्क परें ।’


शल्यक्रियापछि बिरामीको अवस्था सामान्य हुँदै गएको अस्पतालले जनाएको छ । बुधबार पनि चिचिला गाउँपालिका २ की २६ वर्षीया पासाङ शेर्पाको पनि यही प्रकृतिको सफल शल्यक्रिया गरिएको छ । उनको पनि पाठेघरबाहिर गर्भ बसेको थियो । उनको पाठेघरमा राईको भन्दा बढी रगत जमिसकेको थियो । डिस्चार्ज भएर जाँदा सृष्टि र पासाङलाई यातायात खर्चबापत रकम पनि अस्पतालले उपलब्ध गराउने भएको छ ।

प्रकाशित : आश्विन ११, २०७५ १०:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भर्ना हुन्छन्, विद्यालय जाँदैनन्

पढ्ने रहर भएर पनि कतिपय बस्तीका बालबालिकाहरू विद्यालय जान सकेका छैनन् ।
शिव पुरी

(रौतहट — गुजरा नगरपालीका ८ स्थित जुगौलीया गाउँको मुसहर बस्तीमा २ सय बढी बालबालिका छन् । उनीहरूमध्ये अधिकांश विद्यालय जाँदैनन् । सबैजसोले भर्ना गरिसकेका छन् । तर अभिभावकले नै घर कुरुवा राखेर पढाउन पठाउँदैनन् ।

विद्यालय जाने उमेरका बालबालिका घरमा त्यतिकै बसेको भेटिन्छन् । अधिकांशका अभिभावकहरू छोराछोरीलाई घर कुरुवा राखेर ज्यालामजदुरीका लागि बाहिर जान्छन् । उनीहरूको जीवनशैली यसरी नै चलेको छ । ४ महिनाअघि शिक्षा कार्यालय र विभिन्न संघसंस्थाले जिल्लाभरि भर्ना अभियान चलाए । तर मुसहर बालबालिकालाई भने अभियानले प्रभाव पारेन । गाउँमा प्रतिनिधि पुगेर बालबालिकालाई भर्ना गराए । पढ्न जाने बेलामा कसैले पनि पठाउँदैनन् । गरिबका छोराछोरीले पढेर के हुन्छ र भन्ने जवाफ दिन्छन् ।


बस्तीका महिला गरिबीका कारण सकस भएको सुनाउँथे । सम्पत्ति नभएर सधंै पीडामा बस्नुपरेको स्थानीय राजकुमारी मुसहर्नी (माझी) ले बताइन् । ‘बच्चा पढाउन पैसा छैन, घरमा खानलाई धौधौ छ,’ उनले भनिन्, ‘भर्ना गरेर पनि बालबालिकालाई पढाउन सकिएको छैन ।’ बाहिर काम गर्न जाँदा जाँदा बालबालिकालाई घर कुरुवा राख्ने गरेको उनले सुनाइन् । सरोकारवाला संघसंस्था र शिक्षा कार्यालयले शतप्रतिशत बालबालिका भर्ना गरिएको दाबी गर्दै आएको छ ।


समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणका लागि दक्ष एवम् सक्षम जनशक्ति आवश्यक पर्ने जनज्योति उच्च माविका पूर्वप्रधानाध्यापक योगेन्द्रप्रसाद यादवले बताए । ‘यस्तो जनशक्ति उत्पादन गर्ने मुल स्रोत नै शिक्षा हो। उनले भने, ‘सार्वजनिक शिक्षाको गुणस्तरमा रूपान्तरण मार्फत मुलुकलाई आवश्यक पर्ने दक्ष एवम् सक्षम जनशक्ति विकासका लागि नेतृत्व प्रदान गर्नु शिक्षा प्रणालीको मुख्य आधार हो । त्यसैले विद्यालयबाहिर रहेका सबैलाई समेट्नुपर्छ ।’ कतिपय विद्यालयमा भर्ना गरिएका विद्यार्थी आएका छन्/छैनन् भन्ने चासो लिइएको देखिँदैन । त्यसैले पनि भर्ना अभियानले सार्थकता पाउन नसकेको पूर्वप्रधानाध्यापक यादवको भनाइ छ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७४ साल चैत २८ मा सार्वजनिक गरिएको १० बँुदे मार्गचित्रले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नीति तथा कार्यक्रम निर्माण गरिएको छ । नीति तथा कार्यक्रममा विद्यालयबाहिर रहेका बालबालिकाको लगत अभिलेख तयार पार्न बाँकी रहेका स्थानीय तहमा अभिलेख तयार पार्ने र तयार भएका स्थानमा चालु वर्षको भर्ना अभियानका आधारमा अध्यावधिक गर्ने उल्लेख छ । विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय वा वैकल्पिक शैक्षिक पद्धतिभित्र ल्याउन, आइसकेकालाई टिकाउन र सबैमा न्यूनतम सिकाइ सुनिश्चित गर्नका निम्ति अभिलेखमा आधारित ‘विद्यार्थी ल्याऔं, टिकाऔं र सिकाऔं’ अभियान सञ्चालन गर्ने भनिएको छ । तर अधिकांश विद्यलयले यसो गरेको पाइँदैन । विद्यार्थी टिकाउका निम्ति मानव विकास सूचकांकको आधारमा पछि परेका समूहमा केन्द्रित दिवा खाजा, छात्रवृत्तिजस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने भन्ने स्पष्ट उल्लेख गरिएको छ । तर यसका लागि विद्यालयले कुनै कार्यक्रम गरेको छैन ।


प्रत्येक स्थानीय तहले
आफ्नो भौगोलिक क्षेत्रभित्र विद्यालयबाहिर बालबालिका नभएको घोषणा गर्ने भनिएको छ । त्यस्तै विद्यालय आएकाहरूलाई टिकाउन र उच्चतम सिकाइ सुनिश्चित गर्न विशेष योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । गरिब, दलित र विपन्न छात्र छात्राहरूलाई विपन्न लक्षित छात्रवृत्ति प्रदान गर्नुपर्ने कार्यक्रममा उल्लेख छ । कतिपय विद्यालयले छात्रवृत्ति नै नदिएकाले दलित र चरम गरिबीको चपेटामा परेका बालबालिकाहरू विद्यालयप्रति उत्साहित भएको देखिँदैन ।


जुगौलीको बस्तीमा ७० घर मुसहर समुदायको छ । यो बस्ती हेर्दा चरम गरिबी देखिन्छ । अधिकांशको बासस्थान झुपडी छ । त्यो पनि जीर्ण । गाउँभरिका बालबालिका नांगै दौडिएको देखिन्थ्यो । गरिबीको चपेटामा परेका मुसहर बालबालिकाले उचित स्याहार र खानपान पाउन सकेका छैनन् । उनीहरूले बाँच्नका लागि पाउने आधारभूत सुविधा पाएका छैनन् । सामान्य ओत लाग्ने बास, पेटभरि खान र जीउ ढाक्ने कपडा लगाउनबाट यो समुदायका बालबालिकाहरू वञ्चित छन् । गरिबीका कारण आमाबुबासँगै छोराछोरीको जीवन पनि त्यतिकै कष्टकर छ । उनीहरूले शिक्षा, स्वास्थ्य र सरसफाइ पाएका छैनन् । पेटभरि खानलाई धौ/धौ छ । दैनिक मजदुरी गरेर परिवार पाल्दै आएकाहरू काम नपाएको दिन भोकै बस्नुपर्ने बाध्यता हुने गरेको दुखेसो पोख्छन् ।


बस्तीमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले सोमबार बालबालिकालाई चप्पल वितरण गरेको छ । यस बस्तीमा संघले कार्यक्रम गर्न लागेको छ । संघकी कार्यक्रम सयोजक जुनु सुनारले मुसहर बालबालिकाहरू भर्ना भएर पनि विद्यालय जान नपाएको बताउँछन् । ‘विद्यालयले पनि त्यति चासो देखाएको जस्तो छैन,’ उनले भनिन्, ‘अभिभावकहरू पनि बालबालिकालाई विद्यलाय पठाउँदैनन् । घर कुरुवा राखेर बाहिर काम गर्न जाछन् ।’


जुगौलीया मात्र होइन, जिल्लाभरि मुसहर बालबालिकाको अवस्था उस्तै छ । पढ्ने रहर भएर पनि कतिपय बस्तीका बालबालिका विद्यालय जान सकेका छैनन् । पढेर के हुन्छ र भनेर अभिभावक प्रश्न गर्छन् । मुसहर अगुवा अनुप माझी (मुसहर) ले जिल्लाभरि मुसहर बस्तीमा भर्ना अभियानले सार्थकता नपाएको गुनासो गर्छन् । ‘भर्ना गरेर मात्र हुन्छ र ? उनले भने, ‘उसको घरको अवस्था के छ ? विद्यालय जाने हैसियत छ/छैन । खै राज्यले बुझ्ने काम गरेको ?’ अनुपका अनुसार जिल्लाभरि मुसहर समुदायको २ हजार ५६ घरधुरी रहेको छ । महिला पुरुष, तथा बालबालिकाको संख्या १३ हजार ७ सय ९६ रहेको छ । ति मध्ये साक्षरको संख्या जम्मा ६ सय ३५ मात्र छन् । निरक्षर संख्या १३ हजार १ सय ६१ रहेको अनुपले जानकारी दिए ।


भर्ना अभियानले मुसहर बस्तीमा कुनै प्रभाव नपारेको उनले सुनाए । डुमरिया, बडहर्वा, जुगौलिया, कटहरियालगायत मुसहर बस्तीका बालबालिकाहरू विद्यालय जाँदैनन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयप्रकाश महतले चेतना अभावले अझै पनि दलित समुदायका बालबालिकाहरू विद्यालय जान नखोजेको बताए । ‘गरिबी त छँदै छ, चेतनाको अभाव र स्थानीय तह र विद्यालयले पनि कसरी विद्यार्थीलाई ल्याउन सकिन्छ भन्ने कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘अनि मात्र भर्ना अभियानले सार्थकता पाउँछ ।’ उनले अहिले पनि कति बालबालिका विद्यालय बाहिर रहेको भनेर स्थानीय तहसित तथ्यांक मागेको जनाए ।


डुमरियाका मुसहर बस्तीका अधिकांश बालबालिकाको जन्मदर्ता नै छैन । शौचालय नभएकाले वडा कार्यालयबाट मुसहर बालबालिकाले जन्मदर्ताको प्रमाण नपाएका हुन् । पढ्ने उमेरका अधिकांश बालबालिकाहरू दिनभर खेल्ने र सुँगुर, बाख्रा चराउँदै गरेको भेटिन्छन् । सरकारले नि:शुल्क स्वास्थ्य, शिक्षा भने पनि नपाएको नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरले बताए । रौतहटको ५८ वटा मुसहर बस्तीमा यस्तै हालत रहेको सुनाए ।

प्रकाशित : आश्विन ११, २०७५ १०:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT