कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ को राजधानी विराटनगरमै हुन्छ : मन्त्री पण्डित

देवनारायण साह

मोरङ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश १ को स्थायी राजधानी विराटनगरमै हुने बताएका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले मंगलबार आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा उनले प्रदेश राजधानीको विषयमा प्रदेश सांसदहरुले छलफल चलाउँदैमा आतिनुपर्ने अवस्था नभएको बताए । 

प्रदेश १ को राजधानी विराटनगरमै हुन्छ : मन्त्री पण्डित

‘प्रदेश सांसदहरुले मतदाताको मन थाम्नका लागि विराटनगरको विकल्पमा बोलेको हो र बोल्ने र निर्णय हुने विषय दुवै फरक हुन्,’ उनले भने, ‘विराटनगरको विपक्षमा निर्णय हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन ।’ प्रदेश राजधानी दुरगामी सोचले रखिने र यसमा बिभिन्न कार्यालय र योजना, परियोजनाले भूमिका खेल्ने उनले बताए ।


विराटनगरलाई राजधानी बनाउन आफूले पनि भूमिका निर्वाह गर्ने भन्दै विराटनगरका उद्योगी, व्यापारी, बुद्धिजिवी, नागरिक समाजलाई पनि लाग्न गर्न उनले आग्रह गरे ।


मन्त्री पण्डितले पञ्चायतकालमा पनि विराटनगरको विकल्पमा पूर्वाञ्चलको राजधानी धनकुटा राखिएको तर स्थायित्व पाउन नसकेको कुरो सबैले हेक्का राख्नुपर्ने बताए । भविष्यको सम्भावित स्थायी राजधानी बनाउनकै लागि विराटनगरमा उच्च अदालत स्थापना भएको उनको भनाई थियो ।


प्रदेशको व्यवस्थित राजधानी बनाउनका लागि नै आफूले विराटनगरको सवारी जामलाई व्यवस्थापन गर्नका लागि वाइपास सडकको रुपमा पुष्पलालचोक–गछिया सडक र निमुवादेखि जोगबनीसम्म नहरमा दुई लाइनको सडक निर्माणको योजना ल्याएको पण्डितले बताए ।


उनले दुवै सडकको सर्भेलगायतका काम सम्पन्न भएर टेण्डर प्रक्रियामा गइसकेकोले चाँडै निर्माण काम हुने बताए । उनले विराटनगरमा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी स्थल र भ्यू टावर निर्माण योजनाको पनि काम चाँडै सुरु हुने सुनाए ।


कार्यक्रममा मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाशकुमार मुन्धुडाले मुलुकको पहिलो औद्योगिक नगरीका साथै राजनीतिक राजधानी विराटनगरलाई प्रदेशको स्थायी राजधानीका पहल प्रदेश र केन्द्रमा पहल गरिदिन आग्रह गरेका थिए । ‘प्रदेश सरकारले विराटनगरबाट प्रदेश सभा इटहरी र केही मन्त्रालयहरु इलाम र झापा लैजाने विषय सञ्चारमाध्यममा आएपछि स्थानीयवासी चिन्तित बनेका छन्,’ मुन्धुडाले भने, ‘प्रदेश राजधानीका लागि सम्पूर्ण रुपले योग्य भएको विराटनगरको विकल्प खोजेकोले विराटनगरवासी आक्रोशित भएका छन्, यहाँका बासिन्दाहरु कडा आन्दोलनमा उत्रिने अवस्थाको निर्माण भएको छ ।’


विराटनगर पूर्वको आर्थिक, शैक्षिक र स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास भइसकेको भन्दै मुधुन्डाले पहिलो औद्योगिक नगरी, काठमाडौंपछिको दोस्रो ठूलो शैक्षिक हब, दुई वटा शिक्षण अस्पतालका साथै ५० वटा अस्पतालहरु विराटनगरमा रहेको बताए ।


उद्योग संगठन मोरङका कार्यवाहक अध्यक्ष राकेश सुरानाले प्रदेश राजधानीका लागि आवश्यक भौतिक संरचनाका साथै पर्याप्त जग्गासमेत रहेको अवस्थामा प्रदेश सरकारले विकल्प खोज्नु उचित नभएको बताए । ‘प्रदेश राजधानी सम्बन्धी ज्ञापन पत्र बुझाउनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यहाँका उद्योगी, व्यापारी, बिभिन्न पेशागत संघ, संगठन, बुद्धिजिवी, नागरिक समाजलाई तीन दिनदेखि समय दिएको छैन,’ उनले भने, ‘मुख्यमन्त्रीले ज्ञापन पत्र बुझाउन समय नदिइ राख्नु भएकोबाट झन् विराटनगरवासी सशंकित भएका छन् ।’


यहाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वाञ्चल विश्वविद्यालय, मुलुकको दोस्रो ठूलो नाका, रानी–विराटनगर–किमाथांका हुँदै तिब्बत जोड्ने सडक सञ्जाल भएको अवस्थामा प्रदेश राजधानीका लागि विराटनगरको विकल्प खोज्नु दुर्भाग्य भएको उनले गुनासो पोखे । सुरानाले मुलुकमै शान्तिपूर्ण र सभ्य सहर भएकोले हिमाल, पहाड, तराई, मधेसका जिल्लाबाट विराटनगरमा बसाइँ सरेर आउने क्रम जारी रहेको बताए ।


मोरङ व्यापार संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालले विराटनगर बाहिर प्रदेश राजधानीका संरचना राख्दा त्यसको असरको बारेमा बिश्लेषण हुनु आवश्यक भएको बताए । ‘राजधानी छरिएर राख्दा पर्न जाने आर्थिक भारको बारेमा पनि बिश्लेषण हुनु आवश्यक छ,’ उनले भने, ‘अस्थायी राजधानीका लागि सरकारले विराटनगरमा १० करोड बढी लगानी गरिसकेको अवस्थामा अन्यत्र राजधानी सार्दा वा छर्दा लाग्ने अर्बौ रुपैंयाले प्रदेशको भौतिक संरचनाको विकास प्रभावित हुनेतर्फ पनि सोच्नु आवश्यक छ ।’

प्रकाशित : आश्विन १६, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?