कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जस्तापाताले रंगिँदै गाउँघर

कुम्भराज राई

ओखलढुंगा — मानेभन्ज्याङ गाउँपालिका २ का बलबहादुर राईले आधा जिन्दगी खरको छानाकै घरमा बिताए । गाउँघरमा पहिले हुनेखानेले ढुंगाको छाना लगाउँथे । घरको छानो हेरर व्यक्तिको आर्थिक अवस्था थाहा हुन्थ्यो ।

जस्तापाताले रंगिँदै गाउँघर

पछि आएर जस्तापाताको छाना लगाउने चलन सुरु भयो । त्यसपछि पनि विपन्नले जस्तापाता लगाउन सक्ने अवस्था भएन ।


तर यसपालिदेखि बलबहादुरले समेत जस्तापाताकै छाना लगाएका छन् । उनको जीवनस्तर बढेर छानो लगाएका भने होइनन् । पहिलेको घर भूकम्पले भत्काइदियो । पुनर्निर्माणका लागि पाएको अनुदान रकम थपेर भूकम्प प्रतिरोधी घर बनाए । ऋणपान गरेर ५ लाख रुपैयाँ जति खर्चेर बनाएको घरमा खरको छानो लगाउन मन लागेन । ‘सबैले जस्तापाताकै लगाएका छन् ।’ उनले भने, ‘मै मात्रै किन खरको लगाउनु भनेर जस्तापाताकै लगाउने आँट गरेँ ।’


बलबहादुर मात्र होइनन् । भूकम्पपछि बनेका ९० प्रतिशतभन्दा बढी घरमा जस्तापाताकै प्रयोग भएका छन् । अहिले गाउँघर जस्तापातामय बनेका छन् । घाम लाग्दा परैदेखि गाउँ टलक्कै टल्किन्छन् । पुराना र परम्परागत घरको संरचना भेटिनै छाडेका छन् । गाउँहरू हरियो, निलो, रातो, सेतो र बुट्टे रंगका जस्तापाताले रंगीन बनेका छन् ।


पुनर्निर्माणका क्रममा ढुंगा र खरको छाना प्राविधिकहरूले नै सुरक्षित नहुने बताए । त्यसपछि अनुदान पाउनकै लाग पनि सकिनसकी सबैले जस्तापाता लगाउन बाध्य भए । ढुंगाको छानोपछि सुरु भएको सिमेन्टको टायलको छाना पनि अहिले देखिन छोडेको छ । रंगीन जस्तापाता नै सबैको पहिलो रोजाइ बन्ने गरेको लिखु गाउँपालिका ६ का शेरबहादुर मगरले बताए ।


ढुंगा, टायल र खरको छानो तौलको हिसाबले गह्रौं हुने प्राविधिकको भनाइ छ । पुनर्निर्माणका क्रममा जिल्लाभित्र हालसम्म १८ हजारभन्दा बढी घरमा जस्तापाताको प्रयोग गरिएको अनुमान छ । अझ बस्तीहरू पुनर्निर्माण गर्ने क्रममा योजनाबद्ध ढंगले उही रंग र उस्तै आकारका घरहरू निर्माण गर्न सकेका भए कतिपय बस्तीहरू नमुना र पर्यटकीय बन्ने सम्भावना थियो । तर बेलामै बुद्धि नपुग्दा अलि ढिला भएको लिखु गाउँपालिका ८ का वडा अध्यक्ष विशालकुमार पौडेलले बताए ।


निर्माण भएका घरहरू प्राय: एक तले छन् । ठूलो घर बनाएर आफूलाई धनी भनाउनेहरू समेत एकतले घर बनाएर बसेका छन् । अहिले झट्ट घर हेरेर धनी गरिब छुट्याउन नसकिने स्थानीयको भनाइ छ । छिमेकी जिल्ला रामेछापको सिरीसे र ढाडेमा १० वर्ष देखी हार्डवयेर सञ्चालन गरेका हेम कार्कीले गएको वर्ष ८० प्रतिशतभन्दा बढी रंगीन जस्तापाता बेचेको बताए ।


सादा जस्तापाता भन्दा रंगीनको मूल्य ज्यादा छ । महँगो भए पनि सबैले प्राय रंगीन किन्ने गरेका छन् । रंगीनमा कम्पनीले ग्यारेन्टीसमेत दिने गरेको छ । सादाभन्दा रंगीन जस्तापाता बन्डलमा २ हजारदेखि २ हजार ५ सयसम्म महँगो छ । सदरमुकाम क्षेत्रमा सबैभन्दा बढी हार्डवेयर सामग्रीको व्यापार गर्ने गोबिन्द श्रेष्ठका अनुसार पहिलेभन्दा ५ गुणाले जस्तापाताको व्यापार बढेको छ ।


सदरमुकाममा करिब ९५ प्रतिशत रंगीन जस्ता र ५ प्रतिशत सादा जस्तापाता बिक्री हुने गरेको छ । बेलाबेलामा मागअनुसारको पूर्ति गर्नै गाह्रो हुने व्यापारी बताउँछन् । जस्तापाताको प्रयोग सँगै नेपाली पहिचान बोकेका परम्परागत बस्ती लोप भएका छन् ।

प्रकाशित : आश्विन १९, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?