कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याद गुज्रेका सामग्री पहाडतिर

डिल्लीराम खतिवडा

काठमाडौँ — पहाडी क्षेत्रमा दैनिक उपभोग्य वस्तु आपूर्ति गर्दै आएका कटारीका व्यवसायीले प्रयोग गर्नै नसकिने सामग्री पठाएको पाइएको छ  । ओखलढुंगामा बजार अनुगमन गर्ने क्रममा भेटिएका म्याद गुज्रिएका, प्रयोग गर्न नसकिने र सडेगलेका सामग्री कटारीका व्यवसायीले पठाएको पाइएको हो  ।

म्याद गुज्रेका सामग्री पहाडतिर

कटारी बजारमा नियमित अनुगमन नहुँदा त्यसको प्रभाव माथिल्लो सगरमाथाका सोलु, ओखलढुंगा र खोटाङ देखिएको छ । दसै नजिकिदै जाँदा सोलु, ओखलढुंगा र खोटाङमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गुणस्तरहीन सामान बिक्री भइरहेको छ ।


बजार विस्तार हुने क्रमसँगै कटारीका व्यापारीले ओखलढुंगा, सोलु र खोटाङका ग्रामीण क्षेत्रका बजारमा दैनिक उपभोग्यलगायत अन्य वस्तुको आपूर्ति गर्दै आएका छन् ।

कटारी बजार क्षेत्रका उपभोक्ता सचेत हुँदै गएकाले व्यापारीले खान अयोग्य चाउचाउ, बिस्कुट, पेय पदार्थ, खाद्यान्न र म्याद गुज्रिएका तेल माथिल्लो क्षेत्रमा बिक्री गर्ने गरेका छन् । कटारी नगरपालिपकाले उपप्रमुख भीमकुमारी राउतको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति गठन गरेको छ । समितिले बजार अनुगमन गरेको छैन । समितिले छुट्टै बजार अनुगमन समिति समेत गठन गरेको छ । तर बजार अनुगमन गठित समितिले पनि अनुगमन नगर्दा माथिल्लो क्षेत्रका उपभोक्तालाई समस्या भएको छ । ‘अनुगमन समिति गठन गरिएको छ,’ उपप्रमुख राउतले भनिन, ‘तर अनुगमन भएको छैन ।’ अनुगमन गर्ने भन्ने सूचना चुहावट हुँदा व्यापारीले बिक्री गर्न नमिल्ने वस्तु लुकाउने गरेकालेपनि समस्या भएको हुन सक्ने उनले बताइन् ।

अनुगमन गर्न आउँदा लुकाउने र त्यसपछि प्रयोग गर्न नमिल्ने र सडेगलेका दैनिक उपभोग्य वस्तु माथिल्लो क्षेत्रका ग्रामीण बजारमा पठाउने गरेका छन् । कटारीबाट पठाएका वस्तु माथिल्ले क्षेत्र खास गरेर सोलु, ओखलढुंगा र खोटाङका सदरमुकामसँगै ग्रामीण बजारमा खुल्लेयाम बिक्री हुने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।


सामान्य लेखपढ गरेका सर्वसाधारणलाई थाहा नहुँदा प्रयोग गर्ने समय सकिएको महिनौ वितिसकेका चाउचाउ, बिस्कुट, पेप्पसी, कोकोकल, फयान्ट, जुस र औषधि गाउँमा बिक्री हुने गरेका छन् । कटारीका अधिकृत बिक्रेताले माथिल्ला जिल्लाका बजारमा खाद्यान्न, कपडा, पेयपदार्थ लगायतका वस्तु पठाउने गरेका छन् । तर ती वस्तु उपभोग्य समय छ कि छैन ? ग्रामिण क्षेत्रमा पुग्दा म्याद गुज्रिसकेको हुन्छ कि हुँदैन ? घाम पानीले असर पुग्ने हो कि होइन ? अधिकृत बिक्रेतालाई वास्तै हुँदैन । अधिकृत बिक्रेता कहाँ आइपुग्दै म्याद सकिन थोरै समय भएका वस्तु अहिले ग्रामीण बजारमा पुग्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्च ओखलढुंगाका शिव ढुंगानाले बताए ।

दसैं तिहारलाई लक्ष्य गरेर थोक बिक्रेताले खाद्यान्न, पेयपदार्थ, कपडा, साबुन, स्याम्पु, कपालमा लगाउने तेल, दन्तमन्जन लगायतका वस्तु ग्रामीण क्षेत्रमा पठाइरहेका छन् । तर ती वस्ुतको म्याद दसैं अगावै सकिएको हुन्छ । म्याद सकिए पनि ग्रामीण क्षेत्रका उपभोक्ता बाध्य भएर तिनै वस्तुको प्रयोग गर्न बाध्य हुने गरेको मञ्चका सदस्य ढुंगानाले बताए । ‘बजार अनुगमन गर्दा ठूलो परिणामा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तु भेटिएको छ,’ ओखलढुंगा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले भनिन्, ‘अनुगमनका क्रममा अखाद्य वस्तु भेटिएको हो ।’ यसरी भेटिएका वस्तु कटारी लगायत अन्य क्षेत्रबाट ओखलढुंगा आएको उनले बताइन् ।


‘अनुगमनका भेटिएका डियू, पेप्पसी, रेडवुल लगायका पेय पदार्थ र खाद्य सामग्री म्याद गुज्रिएको पाइयो,’ ओखलढुंगाकै साहयक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद पौडेलले भने, ‘यसरी भेटिएका अधिकांस वस्तु उदयपुरको कटारीबाटै आयात गरेको पाइएको उनले बताए । उपभोत्ता शिक्षा नहुँदा गाउँका सर्वसाधारण सचेत छैनन् । सर्वसाधारणले प्रयोग गर्ने वस्तु चुस्त दुरुस्त हुनुपर्छ भन्ने कानुन बनेको छ । तर निमयन गर्ने निकाय स्थानीय तहले नियन्त्रण गर्न नसक्दा सधैं गाउँका उपभोक्ता ठगिने गरेका उपभोक्ता करुण कार्कीले बताइन् ।

‘औषधि त म्याद भएको खानुपर्छ भन्ने ज्ञान नहुने गाउँका सर्वसाधारणलाई चिउरा, चामल र विस्कुटको म्याद हुन्छ भन्ने कहाँ ज्ञान हुन्छ,’ कार्कीले भनिन्, ‘ग्रामीण बजारमा महिनौंदेखि गोदामा राखेको दैनिक उपभोग्य वस्तु म्याद सकिन्छ भन्ने उपभोक्तालाई हेक्का नै हँुदैन ।’ यातायातको साधन र खरिदकर्ताको समयअनुकूल खरिद गरिने भएकाले पनि महिनौं गोदामा भएको सामग्री अधिकृत बिक्रेताले पठाउने गरेको उनले बताए ।

‘व्यापारीलाई म्याद गुज्रिएको, खान अयोग्य, अस्वस्थकर वस्तु बिक्री नर्गन भनिएको छ,’ उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खडकाले भेन, ‘ओखलढुंगा, सोलु र खोटाङ सामग्री सप्लाइ गर्ने व्यापारी व्यवसायीलाई पनि त्यसो नर्गन सचेत गराएको छ ।’ त्यसैले दुषित, बासी सडेगलेका, म्याद नाघेका बस्तुको सप्लाइ नगर्नु पर्ने उनले बताए ।

यता जिल्ला प्रशासन कार्यालय उदयपुरले दुई दिनयता बजार अनुगमन सुरु गरेको छ । ‘सदरमुकाम गाईघाट बजारबाट अनुगमन सुरु गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीले भने, ‘कटारी बजारमा पनि अनुगमन गर्न इलाका प्रशासन कार्यालयलाई पत्राचार गरिको छ ।’

प्रकाशित : आश्विन २८, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?