कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंको रमाइलो ‘बेतना सिमसार’ मा

देवनारायण साह

मोरङ — दसैंमा घुम्नेहरूका लागि बेलबारी नगरपालिकास्थित सिमसार क्षेत्र आकर्षणको केन्द्र बनेको छ । यो नगरमा रहेका २१ वटा सिमसार क्षेत्रमध्ये बेतना सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । वनभोजका लागि परिचित यो सिमसार पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकासित भइरहेको छ ।

दसैंको रमाइलो ‘बेतना सिमसार’ मा

बेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतका अनुसार दसैंको समयमा घुम्न आउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । टीकाको दिन मात्र १ हजार २ सय यस क्षेत्रमा आएका थिए । एकादसीको दिन १५ सयभन्दा बढी टिकट बिक्री भयो ।


सिमसारमा घुम्न आएका सुनसरीको देवानगञ्ज गाउँपालिकाका देवनन्दन मेहताले यहाँको प्राकृतिक मन लोभ्याउने खाले भएको बताए । ‘अति रमणीय, सफा, स्वच्छ र प्राकृतिक वातावरणले जोसुकैको मन लोभ्याउने ठाउँ रहेको छ,’ उनले भने, ‘जुन किसिमको आकर्षक ठाउँ छ त्यो किसिमको प्रचार प्रसार हुन सकेको छैन ।’ राम्ररी प्रचार–प्रसार गर्न सकियो भने लाखौं पर्यटक भित्र्याउन सफल हुने मेहताले बताए । उनले यो डेटिङ गर्ने गज्जबको ठाउँ भएको बताए ।

रमाइलो बहुमुखी क्याम्पस कानेपोखरीमा कक्षा १२ मा अध्ययनरत सानु मगरले सिमसार क्षेत्रको प्राकृतिक रमणीय वातावरण लोभ लाग्दो रहेको बताइन् । ‘सिमसार क्षेत्रभित्र संरक्षण गरेर राखेको विभिन्न किसिमको जंगली जनावर, चरा, माछा, कछुवालगायतको जैविक विवधतायुक्त छ,’ उनले भनिन्, ‘विद्यार्थीका लागि अध्ययनको दृष्टिकोणले पनि सिमसार एक पटक घुम्नै पर्नेछ ।’ सुन्दरहरैंचा ८ की सिपाली क्षेत्रीले प्राकृतिक हरियाली, शान्त र सुन्दर जंगल क्षेत्र भएको यहाँ घुम्दा, बस्दा शान्तिको अनुभूति हुने गरेको बताइन् ।


‘सधैंको कोलाहलपूर्ण सहरिया जीवनबाट वाक्क भएकाहरूका लागि यहाँ समय व्यतीत गर्दा शान्तिको अनुभूति हुन्छ,’ उनले भनिन्, ‘यहाँको प्राकृतिक हावा, जलविहार, विभिन्न किसिमको ज्ञानवर्धक प्राणी, चरालगायतको जैविक विवधताले पर्यटक तान्न सफल देखिन्छ ।’ उनले यहाँ ठूलो कमिलाको प्रतिमा पनि आकर्षणको केन्द्र भएको बताइन् ।


समितिका अध्यक्ष बस्नेतले आन्तरिक पर्यटक आउने क्रम बढ्दो रहेको बताए । ‘गत वर्ष २ लाख २८ हजारले सिमसार क्षेत्र घुम्न आएको थिए,’ उनले भने, ‘यस वर्ष दैनिक ७/८ सय जना घुम्न आउने गरेको छ । मेचीदेखि महाकालीसम्मका र हिमालदेखि तराई–मधेस तथा भारतको विहार लगायतका प्रदेशबाट पर्यटकहरू घुम्न आउने गरेका छन् ।’


गत वर्ष १ करोड २ लाख आम्दानी भएको उनले बताए । यस वर्ष २ लाख ७५ हजारले सिमसार घुम्ने र त्यसबाट १ करोड ३५ लाख आम्दानी हुने लक्ष्य रहेको बस्नेतले बताए । सिमसारमा १० वर्षमुनिका बालबालिकाबाहेकलाई प्रतिव्यक्ति ३० रुपैयाँ प्रवेश शुल्क, पिकनिक आउनेलाई ६ सय र प्रतिव्यक्ति १० रुपैयाँ, जलविहारका लागि प्रतिबोट २ सय र १ सय ५० शुल्क तोकेर सञ्चालन गर्दै आएको उनले सुनाए । उनले सिमसार क्षेत्रमा रूखबिरूवा काट्न नपाइने व्यवस्था गरेको बताए ।


बस्नेतले सिमसारलाई थप व्यवस्थित बनाउन ४८ करोडको गुरूयोजना बनाएर यसै वर्षबाट काम सुरु गर्ने योजना रहेको बताए । ‘१ सय ७४ दशमलब ९१ हेक्टरमा फैलिएको सिमसारको पूर्व पश्चिम राजमार्गभन्दा दक्षिणको क्षेत्रलाई मानव प्रयोग क्षेत्र, राजमार्गभन्दा उत्तर ६२ हेक्टरमा चिडियाखाना, कछुवा र गोहीको प्रजनन केन्द्रका साथै चरा संरक्षण क्षेत्र र त्यसभन्दा माथि ९८ हेक्टर जंगल क्षेत्रलाई जंगली जनावरको सुरक्षित बास स्थानको रूपमा निर्माण गर्छौं,’ उनले भने, ‘मानव प्रयोग क्षेत्रमा बोटिङ, पिकनिक स्पोट, स्विमिङ पुल, चिल्ड्रेन पार्क, संग्रहालयलगायत संरचना निर्माण हुन्छन् ।’


प्रदेश १ सरकारले विनियोजन गरेको १ करोड बजेटबाट गुरुयोजनाअनुसार निर्माण कार्य तिहारपछि थाल्ने बस्नेतको भनाइ छ ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?