कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगन्तुकले भरिए पर्यटकीय स्थल

विप्लव भट्टराई

इलाम — चाडपर्वसँगै घुमघामका लागि यहाँका पर्यटकीय स्थल आउनेको संख्या बढेको छ । बर्खाभर सुनसान जस्तै देखिएका यहाँका पर्यटकिय स्थल मौसममा सुधार आएसँगै भरिभराउ हुन थालेका हुन्  ।

आगन्तुकले भरिए पर्यटकीय स्थल

सदरमुकाम क्षेत्रमा पनि देशका विभिन्न स्थानबाट घुम्न आउनेका कारण चहलपहल बढेको छ । मुलुककै पुरानो चिया बगान, पुरानो चिया कारखना, भ्युटावर र मठ मन्दिरमा पर्यटक पुग्ने गरेका छन् ।

ग्रामीण पर्यटनको नमुना बन्दै गएको अन्तुमा यतिबेला आन्तरिक पर्यटकको घुइँचो छ । दसैं लागेदेखि नै अन्तुमा रमाउने आउनेहरूको लर्को लागेको हो । झुल्केघामको दृश्यावलोकनसँगै अन्तु पोखरीमा डुङ्गा सवार र आसपासका चियाबारीमा रमाउनेहरूका कारण त्यस क्षेत्रको व्यपार व्यवसायमा पनि उल्लेख्य फाइदा पुगेको छ ।

‘असोज तेस्रो सातासम्म नै मौसम नखुल्दा विगतको तुलनामा पर्यटक नआउने चिन्ता थियो,’ स्थानीय व्यवसायी रुद्र घिमिरेले भने, ‘तर दसैं लागेदेखि टाढाटाढाबाट घुम्न आउनेको संख्या बढेको छ ।’

पोखरी आसपास रहका दर्जन जति होमस्टे र होटलसहित अन्यत्र रहेका होमस्टेमा पनि बुकिङ धमाधम भइरहेको छ । सूर्योदय नगरपालिकाको फिक्कलबाट १३ किलोमिटर पूर्वमा रहेको अन्तुसम्म पुग्ने सडक कालोपत्रे भएपछि अन्तुको पर्यटनले गति लिएको हो । यो क्षेत्रमा स–साना पसलदेखि ठूला होटलसम्म खुल्न थालेका छन् । स्थानीय घरलाई व्यवस्थित गरी होमस्टे सञ्चालन गर्ने पनि थुप्रै देखिएका छन् ।

पाथीभरा क्षेत्रमा पनि पर्यटकको उत्तिकै भेटिन्छन् । मेची राजमार्ग माथिको डाँडामा रहेको मन्दिर त्यहाँको मुख्य आकर्षण हो । मन्दिर दर्शनसँगै हरियाली वनजंगल र दृश्यावलोकनका लागि त्यहाँ धेरैको आवागमन हुने गरेको छ ।

थुम्काथुम्का डाँडामा चियाबारीले सजिएको कन्याममा पनि पर्यटकको बाक्लो उपस्थिति छ । वनभोजका लागि प्रख्यात कन्याममा साथीसंगी बिदाको रमाइलो साट्नेदेखि पारिवारिक रूपमा चियाबारीको आनन्द लिन टाढाबाट पनि आउने गरेका छन् । रमणीय डाँडाकाँडाको दृश्यावलोकन र घोडचढीको आनन्दले आगन्तुक दंग पर्छन् ।

फिक्कल र पशुपतिनगर क्षेत्रमा पनि पर्यटकको बाक्लो उपस्थिति छ । इलामसँगै दार्जिलिङ र सिक्किम घुम्न जानेका कारण यी क्षेत्रमा चहलपहल बढेको हो । यहाँका होटल व्यवसायीसँगै इलामको कोसेली चिया, छुर्पी, ललिपपलगायतका सामग्री बिक्री गर्ने पसललाई पनि फाइदा पुगेको फिक्कलका युवराज प्रधानले बताए ।

उत्तरी सन्दकपुर गाउँपालिकाका विभिन्न क्षेत्रमा पनि चहलपहल बढ्दो छ । सदरमुकामबाट १३ किलोमिटर उत्तरको माइपोखरीमा श्रद्धालुसँगै जैविक विविधतासँग रमाउनेको चहलपहल छ । रामसार क्षेत्रमा सूचीकृत माइपोखरी धार्मिक र जैविक विविधताका हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छ । जिल्लाकै अग्लो सन्दकपुर पुग्न चाहने पनि उत्तिकै छन् ।

भारतीय र पश्चिमा पर्यटकको बाक्लो भीड लाग्ने सन्दकपुरमा नेपाल भएर पनि जाने उत्तिकै छन् । माबु र माइमझुवा हुँदै सदरमुकामबाट करिब ४५ किलोमिटरको दूरीमा सन्दकपुर पुग्न सकिन्छ । त्यहाँबाट सगरमाथा, कञ्चनजंघासहित नेपाल, भारत र भुटानका दर्जनौं हिमाल देख्न सकिन्छ ।

झुल्केघाम दृश्यावलोकनका लागि पनि प्रख्यात मानिएको ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुरसम्म पैदल नै यात्रा गरेर आसपासका क्षेत्रमा रमाउनेहरू पनि धेरै छन् । सन्दकपुर गाउँपालिका क्षेत्रका ढापपोखरी, टोडे झरना, छिन्टापु, माबुथाम, दोबाटे, कालपोखरी, जौबारी, मेघ्मा, तुम्लिङलगायत स्थानका ठाउँ पनि पर्यटकका रोजाइमा छन् । सदरमुकाम पश्चिमको सिद्धिथुम्का, माङमालुङ, गजुरमुखीधाम, माङसेबुङ, राँकेलगायत क्षेत्रमा पनि चहलपहल बढ्दो छ ।

प्रकाशित : कार्तिक ९, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?