कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उन्नत जातका पाठापाठीको माग धान्न धौधौ

विनोद भण्डारी

बेलबारी — मोरङको बेलबारी ८ डाँगीहाटका महेश हुमागाईलाई किसानको मागअनुसार उन्नतजातका बाख्राका बीउ पाठापाठी पुर्‍याउन धौधौ छ । उनको फर्ममा वार्षिक रूपमा सरदर डेढ सय उन्नत जातका पाठापाठी उत्पादन हुन्छ । माग भने ३ सयभन्दा बढी छ ।

उन्नत जातका पाठापाठीको माग धान्न धौधौ

दुई वर्षअघि एक करोड लागतमा बहुमुखी कृषि फर्म खोलेर उनले अस्ट्रेलियाली बोयर जातको बाख्राको वीउ ल्याएर पाठापाठी उत्पादन सुरु गरेका हुन् । अहिले उनको बाख्रा फर्ममा पियोर बोयर जातको बीउ पाठापाठी, त्यसबाट ‘क्रस’ गरिएका बोयर र जमुनापारी जातका पाठापाठी उत्पादन हुँदै आएको छ ।

‘उत्पादन कम भएकाले माग धान्नै धौधौ छ,’ हुमागाईले भने, ‘वर्षमा सरदर डेढ सय पाठापाठी उत्पादन हुन्छ । तर वर्षमा माग तीन सय भन्दबढी हुँदै आएको छ ।’ पुस र माघमा हुने उत्पादनका लागि ४० जनाले नाम दर्ता गराएको उनले बताए । भदौ र असोसमा ९० वटा पाठापाठी उत्पादन भएका थिए । पुस र माघमा पनि ९० वटा पाठापाठी उत्पादन हुने लक्ष्य छ ।

बोयरको वीउ पाठापाठी प्रतिकिलो ५ हजारका दरले हारालुछ बिक्री हुँदै आएको छ । त्यो पाठो जन्मेको कम्तीमा चार महिनामा बिक्री गर्ने गरिएको छ । बिक्री गर्दा त्यसको वजन कम्तीमा ३० किलोको हुन्छ ।

हुमागाईका अनुसार शुद्ध बोयरको बीउ बोको वा पाठीको मूल्य कम्तीमा १ लाख ५० हजारसम्म पर्छ । यसलाई मासुमा बिक्री गर्दाको तौल कम्तीमा १ सय ५० केजीसम्म हुने उनको भनाइ छ । फर्ममा बोयरका १८ माउ र २ बोका छन् । यसबाट ‘क्रस’ गरिएको बीउ पाठापाठी प्रतिकेजी १ हजार ५ सयका दरले बिक्री हुने गरेको छ । यो जातको पाठापाठी पनि जन्मेको चार महिनामा बिक्री गरिन्छ ।

त्यस बेला त्यसको तौल कम्तीमा २० केजीको हुन्छ । पहिलो जेनेरेशनको बीउ पाठा पाठी पनि गोटाको सरदर ३० हजारसम्ममा बिक्री हुँदै आएको छ । यो जातको खसी मासुमा बिक्री गर्दा कम्तीमा ५५ केजीको समय भएको हुमागाईको भनाइ छ ।

मुलुकभरबाट वीउ पाठापाठीको माग रहेको उनले सुनाए । बाख्राका प्राविधिक समेत रहेका हुमागाईले भने, ‘बाख्राले विशेषगरी भदौ, असोज, पुस र माघमा बच्चा दिन्छ । जमुनापारी र खरी जातका बाख्राको बच्चा पनि उत्पादन हँुदै आएको छ ।’

प्रकाशित : कार्तिक १३, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?