कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाखाभरि फूलैफूल

रमेशचन्द्र अधिकारी

धनकुटा — सडक छेउछाउदेखि पाखाभित्ता जताततै रंगीचङगी फूलले सजिएको छ । धनकुटा नगरपालिकामा पछिल्लो समय अभियानकै रूपमा नगरका खाली जग्गामा फूलबारी र वृक्षरोपण थालिएपछि नगरको सुन्दरता थपिँदै गएको छ  ।

पाखाभरि फूलैफूल

विगतमा फोहोर वस्तु र झाडीले कुरुप देखिने कतिपय खाली पाखा यति बेला ढकमक्क फूलले रमित लाग्दो देख्न सकिन्छ । धनकुटा नगरपालिकाले नगरलाई सौन्दर्यता थप्न फूल रोप्ने कार्य थालिएको वातावरण अधिकृत उपेन्द्र खनालको भनाइ छ ।

तिहारको रौनकतासँगै कयौं स्थानमा फुलेका सयपत्री, मखमली, गोदाबरी तथा अन्य विभिन्न जातका फूलले वाह्य तथा आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको खनाल बताउँछन् । ‘पछिल्लो ६ महिनादेखि थालिएको फूल र वृक्षरोपण अभियानले नगरका कतिपय स्थानको रूप नै बदलिको छ,’ उनले भने, ‘खाली स्थानमा अरू केही गर्न नसकिए पनि फूल रोप्दा मात्र पनि आकर्षक बन्ने गर्दछ ।’


परिचयमोढ, रमाइलो घुम्ती, सरस्वती चोक, माथिल्लो कोप्चे, देब्रेबास लगायतका स्थानमा सडकपेटी तथा खाली स्थानमा फूल रोपिएका छन् । नगरले सरकारी तथा सार्वजनिक जग्गामा यस्तो कार्य गर्दै आएको छ ।

नगरपालिकाले फूलबारी निर्माण तथा रेलिङका लागि ६ लाख विनियोजन गरेको छ । परिचयमोढको करिब तीन रोपनी क्षेत्रफल फूलबारीले सजिसजाउ भएको छ ।

यसैगरी सरस्वती चोकदेखि आँखा अस्पताल, क्याम्पस होस्टेल जाने बाटो, लहरेचौतारा नजिक आयुर्वेद औषधालय मोड लगायतका २२ रोपनी क्षेत्रफलमा फूलबारी र आकर्षक बोटबिरुवा रोपिएका छन् । फूलबारी र नगरको सुन्दरताका लागि सरसफाइ कार्य तीव्र रूपमा अघि सारिएको नगर प्रमुख चिन्तन तामाङले बताए ।


‘नगरपालिका पदाधिकारीसहित नगरबासीको साथमा यो अभियान सार्थक बन्दै गएको छ’, उनले भने, ‘यसलाई अझ विस्तार गरिँदै जाने सोचमा छौं ।’ नगरपालिकाले पाँच वर्ष अघिदेखि सुरु गरेको लेनफिल साइडको फूलबारी नमुना योग्य कामका रूपमा दह्रिएपछि नगरका खाली ठाउँ फूलबारीले सिँगारिने कार्य पनि थालिएको उनले बताए ।

सडक किनारमा रहेका कारण फूलबारीमा वाह्य तथा आन्तरिक पर्यटकको सहजै आँखा पर्ने भएकाले उक्त स्थानमा तस्बिर खिच्ने तथा मन बहलाउनेको संख्या बढ्दै गएको नगरपालिकाका पर्यटन शाखाका विकास अधिकारीले बताए । पर्यटकले गाडी रोकेर दृश्य अवलोकन गर्ने उनले जानकारी दिए ।

प्रकाशित : कार्तिक १४, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?