कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपन्न परिवारलाई घर बनाइदिँदै

झापाका पिछडिएका र विपन्न २ सय परिवारलाई स्थानीय तह र संघसंस्था मिलेर घर निर्माण गरिदिँदै
अर्जुन राजवंशी

दमक — झापामा बसोबास गर्ने पिछडिएको वर्ग तथा अति विपन्न परिवारलाई स्थानीय तह र संघसंस्थाले मिलेर घर निर्माण गरिदिने भएका छन्  ।

विपन्न परिवारलाई घर बनाइदिँदै

बिर्तामोडमा रहेको सहारा नेपाल साकोसको पहलमा यस वर्ष जिल्लाका दुई सय परिवारलाई घर निर्माण गरिदिने सहमति जुटेको छ । ती घरहरू आठ वटा स्थानीय तहमा निर्माण गर्न लागिएको हो ।


घर निर्माणका लागि बिर्तामोड, मेचीनगर, अर्जुनधारा र कनकाई नगरपालिका तथा बाह्रदशी, गौरीगन्ज, झापा र हल्दिबारी गाउँपालिकाका प्रमुख तथा अध्यक्षसँग लिखित सहमति भइसकेको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए । सहारा नेपाल, ह्याबिट्याट फर ह्युम्यानिटी र सम्बन्धित स्थानीय तहले खर्च बेहोर्ने गरी घर निर्माण गर्न लागेको गिरीले जानकारी दिए । प्रतिघर १ लाख ५० हजार रुपैयाँ खर्च गर्ने उनले बताए । एउटा घरका लागि सहारा र ह्याबिट्याटले ७५ हजार तथा सम्बन्धित स्थानीय तहले ७५ हजार बेहोर्ने छ ।


घर निर्माण गर्दा आवश्यक पर्ने प्राविधि सहयोग पनि सहाराले नै गर्ने छ । घर निर्माण गर्दा स्थानीय स्रोतको पनि प्रयोग गरिने गिरीले बताए । पिछडिएको वर्ग तथा अति विपन्न परिवारलाई न्यूनतम आधारभूतअन्तर्गत पर्ने आवासको सुविधा दिनका लागि यो कार्यक्रम सुरु गरेको गिरीले बताए । ‘जुन परिवारले ऋण गरेर पनि घर बनाउन सक्दैनन् । उनीहरूलाई हामी घर बनाइदिन लागेका हौं’, गिरीले भने,‘यो कार्यक्रमले विपन्न परिवारको बालबच्चसँग ओत लाग्ने समस्या समाधान गर्छ ।’


यस वर्ष अर्जुनधारा नगरपालिकामा ४०, मेचीनगर नगरपालिकामा १५ र बाह्रदशी गाउँपालिकामा १० वटा घर निर्माण गरिने छन् । गौरीगन्ज, झापा र हल्दिबारी गाउँपालिका तथा बिर्तामोड र कनकाई नगरपालिकामा ३०/३० वटा घर निर्माण गर्ने सहमति भएको छ । घर निर्माणका लागि आवश्यक पर्ने जग्गाको व्यवस्था स्थानीय तहले गर्नुपर्ने छ ।


घर निर्माण गरिदिनुपर्ने बस्ती तथा समुदायको छनोट पनि सम्बन्धित स्थानीय तहले नै गर्नुपर्ने छ । ती घरहरू ३ धुर जमिनमा निर्माण हुनेछन् । तर, घर निर्माण गर्दा प्रति परिवारलाई ७ देखि १० धुरसम्म जमिन उपलब्ध गराउने गोरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनले आफ्नो गाउँपालिकामा निर्माण हुने ३० घरका लागि जग्गाको खोजी भइरहेको बताए ।


उनले एकीकृत बस्ती बसाउने योजनाअन्तर्गत यो कार्यक्रम सुरु गर्न लागेको बताए । ‘घर बनाउने कार्यले अव्यवस्थित रूपमा बसोबास गर्दै आएका विपन्न परिवारका लागि एकीकृत बस्ती बसाउन सहज हुन्छ,’ उनले भने, ‘यो कार्यक्रमका लागि हामी सहारा र ह्याबिट्याटप्रति अभारी छौं ।’


उनले गाउँपालिकाभित्र आर्थिक विपन्नताकै कारण कोही पनि घरबारविहीन हुन नपरोस् भन्ने आफूहरूको उद्देश्यले यो कार्यक्रमबाट पूरा हुने विश्वास व्यक्त गरे । गाउँपालिकाले घर निर्माण गरिदिने भनेर नाम टिपोट गरेर लगेकोप्रति गौरीगन्ज ६ दमाई बस्तीका स्थानीय खुसी छन् । स्थानीय तारादेवी नेपालीले गरिबीका कारण हालसम्म घर बनाउन नसकेको दु:ख सुनाइन् । दैनिक ज्यालामा काम गर्दै बिहान–बेलुकाको छाक टार्नै धौधौ पर्ने गरेको दिलबहादुर दर्जीले बताए ।


‘घर बनाउने सोच त वर्षौंदेखि छ नि । तर के गर्नु, अहिलेसम्म बनाउन सकिएन,’ उनले भने, ‘तर अब, गाउँपालिकाले घर बनाइदिने भनेको सुनेर निकै खुसी लागिरेहको छ ।’ घर निर्माणका लागि गौरीगन्ज गाउँपालिकाले वडा ४ बेलगाछीस्थित बालुगाउँको सन्थाल बस्ती, वडा ५ हरिरास्थित मुसहर बस्ती, वडा ६ को दमाई बस्ती र माझी बस्ती छनोट गरेको छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?