कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरियो देउसीभैलो

डिल्लीराम खतिवडा

उदयपुर — पछिल्लो समय गाउँघरमा तिहारमा खेलिँदै आएको देउसीभैलोको स्वरूप फेरिँदै आएको छ । गाउँघरमा मारुनी, संगीनी र बालनसँगै परम्परागत रूपमा देउसीभैलो खेलिन्थो । अचेल आधुनिक गीत आधुनिक बाजाका साथ गरिने विभिन्न किसिमका नृत्यले देउसीभैलो पनि परिवर्तन हुँदै गएको हो ।

समाज परिवर्तनशील भएको र नयाँ पुस्ताले नयाँ तरिका अपनाउने गरेकाले मौलिक पक्षहरूमा परिवर्तन देखिन थालेको समाजशास्त्रीहरूको मत छ । पहिले गाउँ घरका साथीभाइ भेला भएर मादलका तालमा देउसीभैलो खेल्ने चलन थियो । तर अहिले विभिन्न संघ–संस्था र क्लबका नाममा देउसीभैलो भन्दै आधुनिक गीतसँगै नृत्य गरेर देउसीभैलो गाउने गरिन्छ । पछिल्लो पुस्ताले त्यसैलाई देउसीभैलो भन्ने गरेको बुढापाका बताउँछन् ।


आधुनिकताले परम्परालाई छोपी सकेको बृढापाकाको भनाइ छ । ‘दसंै र तिहार जस्तो महत्त्वपूर्ण चाडलाई झन्डै डेढ दशक चलेको सशस्त्र माओवादी द्वन्द्वले ओलेझमा परेको थियो,’ चौदण्डीगढी नगरपालिका ६ सिर्वानीका ७२ वर्षीय गणेशबहादुर भण्डारीले भने, ‘मुलुकमा जुन समयदेखि ०५२ पछि माओवादीको सशस्त्र द्वन्द्वले दसैंमा टीका लगाउने चलन र तिहारमा खेलिने देउसीभैलीलाई असर पुर्‍याइयो ।’


अहिलेको तिहारमा गाउँमा मादलको तालमा देउसी खेल्ने एउटा समूह पनि नआएको स्थानीयले बताए । ‘१० वर्ष अघिसम्म दर्जनौंको संख्यामा मादलको तालमा मारुनी नाच्दै देउसी र भैली खेल्ने समूह आउथे,’ स्थानीय ७९ वर्षीय निरबहादुर बस्नेतले भने,’ तर ५/७ वर्षयता मारुनी, संगीनी र बालनसँगै देउसीभैलो खेल्ने एउटा समूह पनि गाउँमा आएका छैनन् ।’ तर देउसीभैलोका नाममा ठूलो ठूलो स्वारले आधुनिक नेपाली, हिन्दी र अंग्रेजी गीतका भरमा नाच्दै आउने समूह भने बर्सेनि बढ्दै गएको उनले बताए ।


पछिल्लो समय विद्यायल, क्याम्पस, क्लब, आमा समूह, युवा समूह र गाउँ टोल विकास संस्थाका नाममा आधुनिक गीतका भरमा नाच्दै देउसी खेल्न आउने बढेका छन् । यसरी देउसी खेल्न आउने समूहलाई परम्परागत देउसी कस्तो थियो भनेर थाहा समेत नहुने त्रियुगा नगरपालिका १४ का ६५ वर्षीय लोकेन्द्र मगरले बताए । ‘मारुनी, संगीनी, बालन लगायतका लोक नृत्यका बारेमा अहिलेको पुस्ता अनविज्ञ छ,’ उनले भने, ‘देउसीभैलो आधुनिक गीत होइन भन्ने समेत ज्ञान छैन ।’ त्यो राज्य र स्थानीय समुदायको समेत कमजोरी रहेको उनले बताए ।


राज्यले लोकसंस्कृतिको संरक्षण गर्ने ठोस नीति ल्याउन नसक्दा पनि परम्पागत देउसीभैली लोप हँुदै गएको गाउँघरका बृद्धबृद्धा बताउँछन् । विद्यालय र उच्च शिक्षामा समेत खासै परम्परागत देउसीभैली संगीनी, मारुनी र बालन जस्ता लोक नृत्यका बारेमा जानकारी गराउन नसक्दा लोकसंस्कृति हराउँदै गएको त्यससँग चासो राख्ने सर्वसाधारण बताउँछन् ।


नयाँ पुस्ताले पुरानो छाडेर आधुनिकता अँगाल्ने समाजशास्त्री चैतन्य मिश्र बताउँछन् । तर परिर्वतन छिटोछिटो भइरहेकाले समाज पनि आधुनिकतातिर छिट्टै गइरहेको मिश्रले बताए । ‘आधुनिकतासँगै सहर परिर्वतन भइरहेको र त्यो ग्रामीण क्षेत्रले पनि सिको गरिरहेको छ,’ समाजशास्त्री मिश्रले भने, ‘सहरमा जे हुन्छ त्यो गाउँमा हुने भएकाले ग्रामीण क्षेत्र पनि परिवर्तन भएको हो ।’ सहर आधुनिकताको उत्पादन हुने केन्द्र नै भएकाले गाउँसहर जोडिँदा आधुनिकतामा पनि ग्रामीण क्षेत्रमा पनि पुगेको उनले बताए ।

प्रकाशित : कार्तिक २५, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?