कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीर्ण बन्दै धार्मिक पर्यटकीयस्थल

एलिसा श्रेष्ठ

भोजपुर — मन्दिरको स्याहार गरिरहेका गाउँले बसाइँ गएपछि भोजपुर सदरमुकामदेखि आठ किलोमिटरको दूरीमा रहेको पर्यटकीय धार्मिकस्थल टक्सारका मठमन्दिर जीर्ण बनेका छन् । पाइलैपिच्छे भेटिने यहाँका मठमन्दिर रेखदेख गर्ने स्थानीय नभएपछि जीर्ण बन्न थालेका हुन् ।

जीर्ण बन्दै धार्मिक पर्यटकीयस्थल

ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान् मन्दिरलगायत मठमन्दिर यहाँ छन् ।


स्याहार हुन नसक्दा बेवारिसझैं बनेपछि अचेल पूजाआजा गर्ने तीर्थालु भक्तहरूको संख्या घट्दै गएको स्थानीय अम्बिका ताम्राकारको भनाइ छ । गाउँका १८ घरमध्ये १४ परिवार अन्यत्रै बसाइँ गएका छन् ।

अर्कोतिर आर्थिक अभावले ०७२ सालको महाभूकम्पबाट यहाँका अधिकांश धार्मिक संरचना बेवारिसे र जीर्ण बनेपछि यसको जगेर्णा गर्न झनै समस्या थपिएको उनी बताउँछन् ।


पातलिँदो बस्तीसँगै ओझेलमा परेको ऐतिहासिक ‘थेरवादी बौद्धविहार’ अर्थात् ‘शाक्यमुनि बौद्धविहार’ को पनि संरक्षण र संवद्र्धन नहुँदा जर्जर स्थितिमा छ । यस्तो अवस्थामा पनि स्थानीयकै पनि चासो घटेकाले बिहार जीर्ण बनेको विहारकी उपासिका उत्तरा शाक्यले बताइन् ।


उनले भनिन्, ‘मन्दिरको रेखदेख गर्ने, सरोकार राख्ने मान्छे भेटिँदैन र भएका स्थानीयको चासो पनि छैन । तर पनि बाहिरी कुनै दाताबाट सहयोग प्राप्त भए मन्दिरको मर्मतसम्भार गर्ने योजना छ ।’ २ वर्षअघि तात्कालीन जिल्ला विकास समितिले विहारको भवन मर्मतसम्भार गर्न छुट्टाएको तीन लाख बजेटबाट बौद्धविहार प्रतिष्ठानले मूल भवनको छेउमै एउटा ध्यान शिविर भवन बनायो ।


०७२ सालमा मात्रै प्रतिष्ठानले बौद्धविहार संवद्र्धन गर्न जिल्ला विकास समितिबाट ९० हजार र स्थानीयबाट ६० हजार चन्दा उठाए ।


तर त्यो बेलाको संकलित १ लाख ५० हजार रकमले विहार मर्मतसम्भारमा पर्याप्त नभएपछि रकम प्रतिष्ठानको कोषमा राखिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश शाक्य बताउँछन् । उनका अनुसार गाउँमा बजेट मात्र नभई स्थानीयबासीबीच नै आपसी समझदारीपनमा कमी र चासो विषय नबन्नु प्रमुख कारण बनेको छ ।


विहारको बिग्रँदाे अवस्थालाई ध्यान दिन नसक्दा विहार जीर्ण हुँदै गएकाले पहिलेभन्दा धेरै तीर्थालुहरू आउन छाडेको विहारका पुजारी नरेन्द्रराज शाक्यले बताए । ‘पहिले टाढाटाढाबाट भक्तजनको भीड लाग्ने गथ्र्यो तर अहिले थोरैमात्र स्थानीय शाक्य नेवार समुदायका मानिस आउने गर्छन् ।’


उनले भने, ‘गाउँका टाठाबाठा सबै सहर पसे, बाँकी एक दुुई घरका मानिसबीच नै मनमुटाव छ, हामी बूढाबूढी एक–दुई घरले के नै पो गर्न सक्छौं र,’ विसं १९९३ माघ १ गते स्थापित यो ऐतिहासिक शाक्यमुनि बौद्धविहार राणाकालीन समयमा ललितपुरबाट आएका भिक्षु महाप्रज्ञा स्थरविर र केही महायानी सहित शाक्य, उदास, डंगोल जातिका नेवारले पूजाआराधनाका लागि बनाएका थिए ।


भिक्षु महाप्रज्ञा स्थरविरले विहारको ध्यान शिविरभित्र रहेको बुद्धको मूर्ति १८ दिनमा बनाएको किम्बदन्तीमा उल्लेख गरिएको छ । र त्यहि पालादेखि नै नेपालमा पहिलोपटक ‘बुद्ध जयन्ती’ अर्थात् वैशाख पूर्णिमा मनाउन थालिएको स्थानीय बताउँछन् ।


स्थानीय निकायबाटै संरक्षण र संवद्र्धनका लागि आवश्यक कदम र बजेट विनियोजन गरेर संरक्षण संवद्र्धनका काम आगामी दिनमा अगाडि लैजाने भोजपुर नगरपालिका वडा १२, टक्सारका वडाध्यक्ष कुमारप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?