कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

सुनसान बन्दै हुलाक

कान्तिपुर संवाददाता

भोजपुर — आधुनिक प्रविधि उपयोग गर्न नसक्दा हुलाक कार्यालयहरू कामविहीन बन्दै गएका छन् । पुरानै परिपाटीले चल्दा हुलाक कार्यालयले गति लिन नसकेका हुन् ।

आधुनिक सञ्चार प्रविधिको विकासलाई पछाउन नसकेपछि अधिकांश हुलाक कार्यालयहरू कामविहीन बन्दै गएको जिल्ला हुलाक कार्यालय भोजपुरका निमित्त प्रमुख रेवतबहादुर प्रधानले बताए ।


उनले भने, ‘पहिले चिठ्ठीको माध्यमबाट सूचना आदानप्रदान हुन्थ्यो । तर अहिले इन्टरनेट, मोबाइल, ईमेल, वेबसाइट जस्ता प्रविधिको विकासले हुलाक कार्यालयहरू सुनसान बनेका हुन् ।’ धेरैजसो हुलाकी कार्यालयहरू पुरानै ढाँचामा चल्दै आएका कारण सेवाग्राहीमा क्रमिक रूपमा विश्वास घटदै गएको बताउँदै प्रमुख प्रधानले भने, ‘अहिले जमानामा कसले चिठ्ठी लेख्छ र । सबै काम सेकेन्डभित्रै हुने भएपछि सूचना पुग्न लामो समय लाग्ने हुलाकमा सर्वसाधारण जान छाडिसके ।’


२१ औं शताब्दीमा प्रविधिको जमानामा पनि अझै आफ्ना सेवालाई विविधीकरण गरेर जनसेवामा जुट्नुको सट्टा पुरानै शैलीबाट झोलामा चिठ्ठी बोकेर जनतालाई सेवा पुर्‍याउने हुलाकी सेवा समय अनुकूल प्राविधिक रूपले अगाडि बढन नसकेको हो ।


नेपालमा १० वर्षको अन्तरालमा तीव्र विकास भएका सञ्चार क्षेत्रमा समयअनुसारका प्रविधि भित्र्याउन नसक्दा हुलाक सेवालाई हेर्ने दृष्टिकोण नै गलत हुँदै गएको जिल्ला हुलाक कार्यालयमा कार्यरत कर्मचारी पुष्प रिजालको गुनासो छ । उनले आधुनिक प्रविधिले नछोएपछि हुलाक सेवा सुनसान बन्दै गएका कारण यसको प्रयोगमा पनि कमी आएको सुनाइन् ।


सेवाग्राहीको सधैं भीड लाग्ने हुलाक सेवा पछिल्लो समयमा थला पर्दै गएको छ । पुरानो साविकका ६२ वटै गाविसमा हुलाकी चिठ्ठीपत्र, पत्रपत्रिका, कागजातबाट सञ्चार आदानप्रदान हुन्थ्यो । तर ती हुलाकबाहेक जिल्ला हुलाकमै पनि ६ वर्षदेखि एउटै पनि धनादेश सेवाका लागि सर्वसाधारण नआएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।


लामो समयदेखि चिठ्ठीपत्र आदानप्रदानमा कमी आएको कार्यालय प्रमुख रेवतबहादुर प्रधानले बताए । उनका अनुसार हाल कार्यालयमा सरकारी कार्यालयको चिठ्ठी, व्यक्तिगत पार्सल, सामान्य सामानबस्तु र पत्रपत्रिकाको आदानप्रदान गर्ने बाहेक अन्य सेवा सञ्चालनमा छैनन् ।


अहिले जिल्ला हुलाकले ग्रामीण भेगका सानासाना पुँजीहरूलाई संकलन गरेर ब्याजदरमा कारोबार गर्ने उद्देश्यले सर्वसाधारणका लागि हुलाक बचत बैंक सेवा सञ्चालनमा ल्याएको छ ।


जसमा सर्वसाधारणका लागि ६ प्रतिशत र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि ७ प्रतिशत ब्याजदरमा खाता सञ्चालन गर्न पाउने व्यवस्था राखिएको छ । आर्थिक वर्षबाट उक्त बंैकिङ सेवा सँगसँगै हुलाकी सेवामा नयाँ प्रविधीमैत्री बनाएर सञ्चार माध्यमलाई एकै ठाउँमा राखेर सेवा प्रवाह गर्ने योजनामा रहेको कार्यालय प्रमुख प्रधानको भनाइ छ ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?