छठ पर्व : नगरको विकासको कामना गर्दै मेयरद्वारा ३ किलोमिटर दण्डप्रणाम यात्रा
विराटनगर — छठी मातासँग विराटनगर महानगरपालिकाको विकास र समृद्धिको कामना गर्दै मेयर भीम पराजुलीले मंगलबार मध्याह्न करिब ३ किलोमिटर सडकमा दण्डप्रणाम गर्दै जलाशय किनार सिंघीया घाटको यात्रा सुरु गरेका छन् ।
स्थानीय शिवपाञ्चायन मन्दिरबाट सुरु भएको उनको यात्रा करिव ४ घण्टापछि सिंघीया खोलाको जलाशय पुगेर उनले अरु ब्रतालु झैं साँझमा अस्ताउँदो सूर्यलाई जल चढाएपछि हिँड्दै घर फर्कने छन् । त्यसैगरी बुधबार बिहान हिँड्दै गएर उदाउँदो सूर्यलाई जल चढाउने छन् ।
सडकमा दण्डप्रणाम गरेर जलाशय पुग्नुलाई छठको सबैभन्दा कठिन प्रकृया मानिन्छ । यो ब्रत बस्दा मनले मागेको छठी माताले पुरा गर्ने विश्वास पराजुलीको छ । विगत १४ वर्षदेखि आफूले भाकल गरेको छठी माताले पुरा गरेको उल्लेख गर्दै यसपाली विराटनगरको विकास र संमृद्धिकालागि दण्डप्रणाम ब्रत वसेको पराजुलीले बताए ।
विगतका वर्षमा आफ्नो व्यक्तिगत मनोकामना पुरा भएका छन् । ‘यसपाली विराटनगरको समग्र विकास, संमृद्धि, सुशासन, शान्ति सुरक्षा र नगरवासीको सुस्वास्थ्यको कामना गरेको छु,’ उनले भने, ‘छठी माताले मेरो मागको सुनुवाई गर्नेमा म विश्वस्त छु ।’