कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकमार्ग क्षेत्रमा थपिँदै होटल

कान्तिपुर संवाददाता

तेह्रथुम — पहाडैपहाड भएर निर्माण भइरहेको मध्यपहाडी लोकमार्ग वरपर सुविधा सम्पन्न होटल र लज सञ्चालनमा स्थानीयले लगानी बढाएका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले ग्राहकको चाप बढ्ने सोचेर होटलमा लगानी बढाएका हुन् । 

लोकमार्ग क्षेत्रमा थपिँदै होटल

लोकमार्गको करिव १ सय ३५ किलोमिटर खण्ड तेह्रथुममा पर्छ । लोकमार्ग निर्माणसँगै दायाँवायाँ सानाठूला होटल, पसल, लज, रिसोर्ट खोल्ने क्रम सुरु भएको मध्यपहाडी लोकमार्ग आयोजना पूर्वी खण्डका इन्जिनियर सुरेश तुम्वाम्फेले बताए । लोकमार्ग निर्माणसँगै ठाउँठाउँमा ग्रामीण वजारको विस्तार हुने र व्यवासाय गर्नेको संख्या बढिरहेको छ । लोकमार्गले छोएका विभिन्न ठाउँमा साना बजारहरू विस्तार भएर व्यापार गर्नेको भीड बढिरहेको पूर्वजनप्रतिनिधि नरप्रसाद मैनालीले बताए ।


सडक नहुँदा दैनिक उपभोग्य बस्तु किन्न एक दिन पैदल हिँडेर पाँचथरको फिदीम बजार पुग्ने आठराईवासीका लागि अचेल निकै सुविधा भएको छ । लोकमार्गसँगै विकास भएको बजारमा दैनिक उपभोग्य वस्तु खरिद गर्ने देखि आफूले उत्पादन गरेका कृषि उपज बिक्री समेत हुन थालेपछि आठराई गाउँपालिकाका बासिन्दालाई सुविस्ता भएको स्थानीय शारदा माविका पूर्व प्रध्यानाध्यापक रामचन्द्र थपलियाले बताए ।लालीगुराँस नगरपालिका वसन्तपुरका पेम्वाछिरिङ भोटीयाले ५ करोड लगानी गरेर सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका छन् ।


लोकमार्ग सदरमुकाम म्याङलुङ छोएर आउने भएपछि म्याङलुङको व्लु हेवन होटलका सत्तचालक रोमभगत प्रधानाङगले पहिलेको होटल भत्काएर सुविधा सम्पन्न होटल निर्माण गरीरहेका छन् । भविष्यमा होटल व्यवसाय राम्रो हुने सोचेर करोडौं लगानी गरेर अर्को होटल निर्माण गरिरहेको उनले बताए । यस्तै खोरुङगा खोला किनारमा स्थानीय बमबहादुर र दुर्गा लिम्बू दाजुभाइले १ करोड लगानीमा लज सहितको रिसोर्ट सञ्चालनमा ल्याएका छन् ।


जिरिखिम्ती बजार नजिकै युवराज थापाले १ करोड बढी लगानीमा होटल बगाले सञ्चालन ल्याएका छन् । त्यस्तै लालीगुराँस नगरपालिका सुङनामका धर्मराज खडकाले पनि स्थानीय कालापानीमा ३ करोडको लगानीमा व्लाक वाटर रिसोर्ट सञ्चालनमा ल्याएका छन् । मध्यपहाडी लोकमार्गको निर्माणसँगै पर्यटकको संख्या बढेको र ग्राहक समेत थपिएकाले रिसोर्टमा थप लगानी बढाइएको सञ्चालक खडकाले बताए ।


लोकमार्गले छोएका तमोर माझी दोभानदेखि चुहानडाँडा, संक्रान्ती, पोक्लावाङ, हलीमेला, म्याङलुङ, जिरिखिम्ती, लसुने, वसन्तपुर लागयत बजारमा सुविधासहितका होटल, लज, पसल र अन्य व्यापार व्यवसायमा लगानी गर्नेको संख्या दिनहुँ बढिरहेको छ । यी बजारमा पछिल्ला ५ वर्षमा ५० को हाराहारीमा साना ठूला नयाँ होटल तथा पसल थपिएका छन् । सडक निर्माणसँगै सवारी साधनमा आउने यात्रुका कारण यी बजार क्षेत्रमा ग्राहकको चाप बढिरहेको जिल्ला समन्वय समिति संयोजक शिव ढुंगानाले वताए ।

प्रकाशित : कार्तिक २८, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?